इशान अस्पतालमा सफल शल्यक्रिया भएकी महिलाको मृत्यु, स्वास्थ्यकर्मीले लापरबाही गरेको आरोप

काठमाडौंको वसुन्धारास्थित इशान बाल तथा महिला अस्पतालमा एक महिलाको मृत्यु भएको छ । बझाङ घर भइ धापासी बस्दै आएकी २१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । 

उनको पाठेघरको शल्यक्रिया गरेको तीन दिनपछि मृत्यु भएको आफन्तले बताएका छन् । बझाङको खप्तडछान्ना गाउँपालिका–६ बयाना घर भएकी सुनिता गिरी थापाको शुक्रबार मृत्यु भएको उनका आफन्तले बताए ।

अस्पतालको लापरबाहीले सुनिताको ज्यान गएको आफन्तको आरोप छ । बुधबार एक्कासि पाठेघरमा समस्या आएपछि सुनितालाई उनका श्रीमानले वसुन्धराको इशान अस्पताल पुर्याएका थिए । उनी एक महिनाकी गर्भवती थिइन् ।

‘डाक्टरहरूले सुनिताको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै तत्काल पाठेघरको शल्यक्रिया गर्नुपर्ने भनेका थिए, शल्यक्रिया सफल भयो । शुक्रबारसम्म डिस्चार्ज गर्ने भनेका थिए । तर, शुक्रबार राति २ बजे उनको ज्यान गयो,’ उनका एकजना आफन्तले भने ।  

शल्यक्रिया सफल भएपनि त्यसपछि डाक्टरले उचित हेरचाह नगरेर ज्यान गएको आफन्तको आरोप छ । ‘शल्यक्रिया सकेपछि विरामीको उचित हेरचाह भएन । डियुटीमा रहेकी नर्सले सुनिताले गाह्रो भएको छ भनेर रुँदा पनि अरू बिरामीलाई डिस्टर्ब हुन्छ नकराउनुस् भनेर उल्टै थर्काए दिए । अक्सिजन पनि दिइएको थिएन । डियुटीमा विशेषज्ञ डाक्टर नहुँदा सुनिताको ज्यान गयो, उसले श्वासप्रश्वास बन्द भएको २० मिनेटपछि मात्र डाक्टर आएका थिए,’ सुनिताका श्रीमानले भने । 

यता अस्पताल प्रशासनले के कारणले महिलाको मृत्यु भएको हो भन्ने बारेमा जवाफ दिन सकेको छैन । शल्यक्रियापछि एक्कासि रक्तचाप बढेको वा अन्य कारणले मृत्यु भएको अनुसन्धान भइरहेको अस्पतालले जनाएको छ ।



मृतकका आफन्तले उपचारमा संलग्न डाक्टरलाई कारबाही गर्नुपर्ने र आफन्तलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्  । 



  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार १४:१३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया