ट्रम्पको नयाँ प्रस्ताव डेमोक्रेटिक पार्टीलाई अस्वीकार

वासिंगटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको पर्खाल निर्माणका लागि कंग्रेसले बजेट छुट्याए अमेरिकामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगन गर्ने नयाँ प्रस्ताव गरेका छन् । तर, साे प्रस्ताव विपक्षी डेमोक्रेटिक पार्टीले ठाडै अस्वीकार गरेको छ । 

राष्ट्रपति ट्रम्प र विपक्षी डेमोक्रेटिक पार्टीबीच मेक्सिको सिमानामा पर्खाल निर्माणको बजेटलाई लिएर सहमति नबनेका कारण अमेरिकी संघीय कार्यालयहरू आंशिक बन्द भएको एक महिना भइसकेकाे छ । विवाद तत्कालै सुल्झिने कुनै संकेत नदेखिएका कारण संघीय कार्यालयहरू अझ लामो समयसम्म बन्द हुने सम्भावना बढेको छ । 

ह्वाइट हाउसबाट गरिएको टेलिभिजन सम्बोधनमा राष्ट्रपति ट्रम्पले खासगरी दुई किसिमका आप्रवासीलाई तत्काल स्वदेश नफर्काइने प्रस्ताव गरेका छन् । पहिलो श्रेणीमा संयुक्तराज्य अमेरिकामा गैरकानुनी रूपमा बसोवास गरिएका मानिसका करिब सात लाख बालबालिका छन् । यी बालबालिकाप्रति डेमोक्रेटिक पार्टीले आवाज उठाउँदै आएको छ । साथै, संरक्षित व्यक्तिको सूचीमा परेका तर म्याद गुज्रेका करिब तीन लाख आप्रवासी दोस्रो श्रेणीमा रहेका छन् । 

राष्ट्रपति ट्रम्पले यी सबै अर्थात् करिब १० लाख आप्रवासीलाई तत्कालै स्वदेश नफर्काउने बताएका छन् । राष्ट्रपति ट्रम्पले यी छुटहरूले अमेरिकी आप्रवासन नीतिमा सुधारका लागि परस्पर विश्वास निर्माण गर्न सघाउने बताएका छन् ।

यसको बदलामा ट्रम्पले मेक्सिकोको सिमानामा पर्खाल निर्माण गर्न कंग्रेससमक्ष करिब ६ अर्ब अमेरिकी डलर पारित गर्न तयार हुनुपर्ने अडान राखेका छन् । तर, विपक्षी डेमोक्रेटिक पार्टीले पटकपटक उक्त प्रस्ताव अस्वीकार गर्दै आएका छन् । 

राष्ट्रपतिले आपतकालीन मानवीय सहायताका लागि ८० करोड अमेरिकी डलर र सीमा सुरक्षा कार्यालयमा लागूऔषध पत्ता लगाउने अत्याधुनिक उपकरण जडान गर्न ८० करोड ५० लाख डलर पनि माग गरेका छन् ।  

डेमोक्रेटले भने राष्ट्रपतिको प्रस्तावलाई अस्वीकार गरेको छ । राष्ट्रपतिले सन्देश सार्वजनिक गर्नुअघि नै ह्वाइट हाउसबाट उक्त सन्देश बाहिर आएको थियो । ‘उनको प्रस्ताव पहिल्यै अस्वीकृत कार्यक्रमहरूको सँगालो मात्र हो, र यी प्रत्येक प्रस्ताव अस्वीकार्य छन्,’ डेमोक्रेटिक पार्टीकी नेतृ एवं सभामुख न्यान्सी पेलोसीले बताइन्, ‘यी प्रस्तावको केही अर्थ छैन ।’ 

अमेरिकी सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक सुमरले आप्रवासीका सम्बन्धमा राष्ट्रपतिले पहिल्यै ठूलो भूल गरिसकेको सन्दर्भमा अहिलेको प्रस्ताव पनि देखावटी मात्र भएकाे बताए । 

सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याक्कोनेलले भने राष्ट्रपति ट्रम्पको प्रस्ताव स्वागतयोग्य रहेको बताए । उनले भने, ‘यो प्रस्ताव सरकारी कार्यालयहरू खोल्न, सीमाको सुरक्षा गर्न र हालका आप्रवासी मुद्दाहरूलाई सम्बोधन गर्नेतर्फ राजनीतिक सहमति जुटाउन महत्त्वपूर्ण छन् ।’






  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार १५:३८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया