नागरिकता विधेयकमाथि छलफल : कुन सांसदले के भने ?

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नागरिकता विधेयकमाथि छलफल भएको छ । शुक्रबारको बैठकमा नागरिकता विधेयकमाथि छलफल र पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव प्रस्तुत गरेका थिए ।

सरकारले पेस गरेको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ छलफलमा हुने र आजै विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

नागरिकता विधेयक विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदले आफ्ना धारणा व्यक्त गरेका छन् ।

नागरिकतामा ७ वर्षे अवधिको प्रावधान हटाएकोमा भीम रावलको आपत्ति

नेकपा एमालेका सांसद भीम रावलले प्रमुख राजनीतिक दल र संसदीय समितिमा भएको सहमतिविपरीत नागरिकता विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् । नागरिकता विधेयक ल्याउँदा छल गरिएको जनाउँदै अवधि नै नराखेर विधेयक ल्याएको उनले भन्दै आपत्ति जनाए ।

‘संविधान निमार्णताका प्रमुख राजनीतिक दलहरू र राज्य व्यवस्था समितिमा भएको छलफलको सहमतिविपरीत विधेयक ल्याइएको छ,’ रावलले बैठकमा भने, ‘विशाल ठूला देशको बीचमा रहेको र भू-राजनीतिक अवस्थाको ख्याल नै नगरी कुनै पनि अवधि नै नराखेर नेपाललाई जनसंख्याको राजनीतिको दृष्चक्रमा पारिँदै छ ।’



७ वर्षपछि मात्र विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकताः खगराज अधिकारी

नेकपा एमालेकै सांसद खगराज अधिकारीले नेपालीसँग विवाह गरेको महिलाले ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने अडान दोहोर्‍याए । मुल संशोधनकर्ताकातर्फबाट धारणा राख्दै सांसद अधिकारीले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताए ।



‘यसअघि पनि संसदीय समितिमा नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत दिने भन्ने सहमति भएको थियो,’ अधिकारीले बैठकमा भने, ‘सोही सहमतिका आधारलाई मानेर नागरिकता दिनुपर्ने व्यवस्था गर्नुपर्छ, नत्र मुलुक फिजीकरणको दिशातर्फ जाने देखिन्छ ।’

नागरिकताजस्तो संवेदनशील विषय ‘फास्ट ट्रयाक’ पारित गर्न नहुने भन्दै संसदीय समितिमा पुनः पठाउनुपर्ने अधिकारीको माग छ ।

फास्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा छैनः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नभएको बताए । सांसद सुवालले नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने माग गरे । उनले नागरिकताको विषय सार्वभौमिकतासँग सम्बन्धित विषय भएकाले जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी रहेको बताए ।

‘नागरिकता विधेयक फास्ट ट्रयाकबाट पारित गर्न खोजेको विषय देशको हितमा छैन । सम्बन्धित समितिमा विधेयक पठाउनु जरुरी छ । र, यो विधेयक सार्वभौमिकतासँग सम्बन्धित भएको हुँदा जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी छ,’ सांसद सुवालले भने ।

नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने उनको भनाइ छ । आमा र बुबा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने सुवालले बताए ।

जन्मको आधारमा दिएको नागरिकता विदेशीले पनि पाएकाले छानविन गरी खारेज गर्नुपर्ने उनले बताए । सांसद सुवालले निर्वाचन, सरकारी सेवा, राजनीतिक नियुक्ति, उद्योग, व्यापारको लागि वंशजको नेपाली नागरिक आवश्यक हुने व्यवस्था गर्नु जरुरी रहेको उल्लेख गरे ।

त्यस्तै, नेपालीले विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने र नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृति बारे लिखित र अन्तर्वार्ता परीक्षा उत्तिर्ण गरेमा नेपालको कृत्रिम नागरिकता दिनुपर्ने पनि बताए । 

भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण नगरौँ : दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराइन् ।

उनले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न नहुने बताइन् ।

‘वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ । तर, भारतमा चुनाव हारेर नेपालको संसद हुने गरी नागरिकता वितरण गर्नुभएन । यो राष्ट्रियतासँग जोडिएको कुरा छ’ उनले भने ।

सांसद पौडेलले नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने बताइन् । उनले विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउनेबित्तिकै नागरिकता दिने प्रावधान हटाइ सात वर्षको प्रावधान नराखिए अन्यथा राष्ट्रियतामा दूरगामी रूपमा धेरै ठूलो क्षति हुने दाबी गरिन् ।

सांसद पौडेलले अंगीकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र र कुनै सिद्धान्तले नदिने बताइन् । उनले कुनै पनि देशले आफ्नो भौगोलिक अवस्था, सीमाको अवस्था आदिको सर्वपक्षीय मूल्यांकन गरेर देशको हितमा हुने गरी नागरिकता वितरण गर्ने हरेक देशको आ–आफ्नो प्रचलन रहेको बताइन्  ।

सांसद पौडेलले वंशजको नागरिकता जन्मको आधारमा दिने कुरा गलत हुने बताइन् । उनले बुबा र आमा दुबै वंशजका छन भने त्यो नागरिकले मात्रै वंशजको आधारमा नागरिकता पाउनुपर्ने बताइन् ।

विदेशी पुरुषलाई नागरिकता दिऊँ : कृष्णप्रसाद दाहाल

एमालेका सांसद कृष्णप्रसाद दाहालले नेपाली महिलाले विवाह गरेर ल्याउने विदेशी पुरुषलाई अंगीकृत नागरिकता दिनुपर्ने धारणा राखे । उनले नेपाली पुरुषले विवाह गरेर ल्याउने महिलालाई नागरिकता दिने प्रावधान राख्दा नेपाली महिलाले विवाह गरेर ल्याउने पुरुषलाई पनि नागरिकता दिने प्रावधान राख्नुपर्ने बताएका हुन् ।

लैंगिक समानताको दृष्टिकोणले पनि नेपाली महिलाले विवाह गरेर ल्याउने विदेशी पुरुषलाई अंगीकृत नागरिकता दिनुपर्ने बताउँदै उनले बरु नागरिकता दिने समयावधि बढाउन सकिने बताए ।

विवाहलगत्तै विदेशी महिलालाई नागरिकता देश हितविपरीत : गंगा चौधरी

एमालेकै सांसद गंगा चौधरी (सत्गौवा)ले नेपाली पुरुषसँग विवाह गरेर आएलगत्तै विदेशी महिलालाई नागरिकता दिने प्रावधान देशको हितविपरीत रहेको बताइन् ।

उनले सार्क मुलुकको सदस्य नेपालले सार्क देशमै नभएको विदेशी महिलालाई विवाह गरेर आएलगत्तै नागरिकता दिने व्यवस्था देश हितविपरीत रहेको बताइन् ।

१२ बुँदै सम्झौतापछि सजिलै नागरिकता पाउने ढोका खोलेको आरोप लगाउँदै उनले ४० लाख विदेशीले नागरिकता लिएको बताइन् । उनीहरूको सन्तानलाई वंशजका आधारमा नागरिकता दिए, देश कता जान्छ? उनले बैठकमा प्रश्न गरिन् ।

सत्ताको चास्नीले नागरिकतामा रंग फेरियो : गोकुल

एमालेका सांसद गोकुल बाँस्कोटाले अवधि नै नराखी नागरिकता दिने प्रावधानप्रति सहमति जनाएको भन्दै नेकपा माओवादी केन्द्रप्रति व्यंग्य गरे । माओवादीले ७ वर्षको अवधि राखेर मात्र वैवाहिक अंगीकृत नागरिकताको प्रमाणपत्र दिने सहमति जनाए पनि हाल सो प्रावधानबिना नै नागरिकता दिने विषयमा सहमति जनाएपछि सांसद बास्कोटाले कटाक्ष गरेका हुन् ।

‘ट्रकमा चढेर आऊ, ट्रेनमा चढेर मेरो मुलुकमा आऊ भन्ने देशले पनि नागरिकता दिनका लागि खास अवधि राखेको हुन्छ । तर, यहाँ कुनै अवधि नै नराखी नागरिकता दिन खोजिएको छ,’ सांसद बास्कोटाले भने, ‘तर, हिजो अवधि राखेर नागरिकता दिनुपर्छ भन्नेहरु सत्ताको चास्नीको भरमा अहिले आउनेबित्तिकै नागरिकता दिनुपर्छ भनेर सहमत भएका छन, छेपारोले पनि यति चाँडो रंग फेर्दैन होला, जो अहिले साथी (माओवादी)ले फेर्नु भएको छ ।’

बाँस्कोटाले नागरिकतामा खुकुलो प्रावधान राख्दा मुलुक फिजीकरण हुने भन्दै सचेत हुन आग्रहसमेत गरेका छन् । ‘पेरुमा जापानी नागरिक राष्ट्रपति भएको जस्तो नहोस्, फिजीमा भारतीय नागरिक प्रधानमन्त्री भएको जस्तो नहोस्’ बास्कोटाले भने, ‘त्यसैले नागरिकता दिँदा निश्चित अवधि तोकिनुपर्छ, आउनेबित्तिकै टीका लगाएर दिने प्रावधान खारेज गरिनुपर्छ ।’

महिलामाथिको विभेद अन्त्य गर्ने गरी नागरिकता विधेयक ल्याउनुपर्छः रेखा शर्मा

नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले नागरिकता विधेयक असमानतापूर्ण भएको बताएकी छन् । नागरिकता विधेयकले महिला र पुरुषबीच विभेद गरेको उनको भनाइ छ ।

‘संविधानमा आमा वा बुवाको नामबाट नागरिकता पाउने भन्यौँ । बुबाको नामबाट सजिलै नागरिकता पाउन सकिन्छ । तर, आमाको नामबाट नागरिकता पाउन मुस्किल हुन्छ । विभिन्न पदावलीले त्यसलाई बाँधेर राखेको छ । आमाको नामबाट नागरिकता पाउनु पर्ने कुरामा ऐनमा व्यवस्थापन गरिनु पर्छ । महिलामाथिको विभेद अन्त्य गर्ने गरेर ऐन ल्याउनु पर्छ । वैवाहिक अंगीकृतमा छोराको सम्बन्ध स्वीकार गर्ने तर छोरीको सम्बन्ध स्वीकार नगर्ने कुरालाई हटाउनु पर्छ,’ सांसद शर्माले भनिन् ।

नागरिकताको समयसीमामा भारतीय चेलीलाई मात्रै टार्गेट नगरौँ: चन्दा चौधरी

लोकतान्त्रिक समाजवादीकी सांसद चन्दा चौधरीले वैवाहिक अंगीकृत नागरिकता भारतीय चेलीलाई मात्र टार्गेट बनाएर नबनाउन अनुरोध गरेकी छिन् ।

वैवाहिक अंगीकृत नागरिकतामा समय तोक्दा भारतीय चेलीलाई मात्रै गर्ने गरी निर्धारण गर्न नहुने उनको भनाइ थियो । ‘वैवाहिक अंगीकृत नागरिकतामा समय सीमा तोक्दा भारतीय चेलीलाई मात्र टार्गेट नगरौँ । यो हिमाल, पहाड, तराई सबैतिरको सवाल हो’ उनले भनिन् ।

नागरिकता नभएकै कारण लाखौँलाख व्यक्ति बेरोजगार बन्नु परेको उनको भनाइ थियो । ‘नागरिकता नहुँदा रोजगार, सेवा सुविधा पाएका छैनन् । गरिबी बढेको । गरिबी घटाउन भए पनि नागरिकता दिनुपर्छ’ उनले भनिन् ।

नागरिकतालाई दलले माग खाने भाडो बनाएः इन्दु शर्मा

सांसद इन्दुकुमारी शर्माले नागरिकता विधेयकलाई राजनीतिक दलहरूले मागी खाने भाँडो बनाएको बताएकी छन् । सबै जनताले नागरिकता पाउँदा देशको राष्ट्रियता झन बलियो हुने उनको तर्क छ । नागरिकता पाउनु नागरिकको जन्मसिद्ध अधिकार भएको उनले बताइन् ।

‘आमाको नामबाट बिनारोकावट नागरिकता पाउनु पर्दछ । सभामुखमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु । यो वा त्यो नाममा महिलामाथि विभेद नगरियोस्,’ शर्माले भनेकी थिइन् ।

  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार १९:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया