काठमाडौं– सरकारले इटालियन कम्पनी सिएमसीसँगको मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का रद्द प्रक्रिया अघि बढाएको छ । नयाँ वर्ष तथा क्रिसमस मनाउन इटाली गएका ठेकेदार र कर्मचारी काममा फर्केर नआएका र सरकारले पठाएको पत्रको जवाफ पनि नदिएकाले ठेक्का रद्दको प्रकिया सुरु गरिएको हो ।
ठेक्का रद्द गर्न सरकारले १४ दिनको अवधि राखेर सूचना जारी गर्दै छ । सूचना अवधिमा ठेकेदार कम्पनी नआए ठेक्का स्वतः रद्द हुने मन्त्रायल स्रोतले जनाएको छ।
मन्त्रालय स्रोतका अनुसार कम्पनीले राखेको धरौटी जफत गरिएको छ । यसअघि, मेलम्ची खानेपानी आयोजनाको निमार्ण कम्पनीले सरकारले बैंक धरौटी रोक्का नगरोस् भन्दै उच्च अदालत पाटनमा दिएको रिटमा अदालतले पुस ५ मा अल्पकालीन आदेश र पुस १२ मा अन्तरिम आदेशमा दिनु नपर्ने फैसला सुनाएको थियो ।
स्रोतका अनुसार, एक महिना बित्दा पनि काममा नफर्की आयोजनासँग सम्पर्कमा समेत नआएकाले ठेक्का सम्झौता रद्द गरी बाँकी काम अघि बढाउने निर्णयमा सरकार पुगेको हो । सिएमसीसँग ठेक्का तोडिएपछि मेलम्ची निर्माणको ठेक्का अर्को निर्माण कम्पनीलाई टेन्डर दिइने मन्त्रालयले जनाएको छ ।
२००१ बाट सुरु भएको मेलम्ची खानेपानी आयोजना २००९ मा चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको थियो । २०१४ भित्र सक्ने सर्तमा भएको सम्झौता २०१२ मा तोडियो र २०१३ मा तीन वर्षभित्र सक्ने गरी इटालियन कम्पनी सिएमसीले निर्माण ठेक्का लियो । संशोधित लक्ष्यअनुसार निर्माण अवधि बढेर ३१ अगस्ट २०१८ मा काम सकिनुपर्ने थियो । तर, आफैँ टाट उल्टिएको सिएमसी कम्पनीका कर्मचारी काम अलपत्र पारेर हिँडेपछि सरकार ठेक्का रद्द गर्ने निर्णयमा पुगेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।