पहिलो ६ महिनामा राजस्व संकलन लक्ष्यभन्दा २१ अर्ब कम

काठमाडौं– चालु आवको पहिलो ६ महिनामा आन्तरिक राजस्व विभागले लक्ष्यभन्दा २१ अर्ब ४० करोड अर्थात् १२ प्रतिशत कम राजस्व संकलन गरेको छ । पुस मसान्तसम्म १ खर्ब ८४ अर्ब ३७ करोड ४० लाख २२ हजार आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको विभागले १ खर्ब ६२ अर्ब ९७ करोड २१ लाख ५५ हजार उठाएको हो । यो लक्ष्यको ८८ प्रतिशत मात्रै हो ।

यस्तै, विभागले पहिलो ६ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशत राजस्व संकलन गरेको बताएको छ । यो वर्ष ४ खर्ब ४ अर्ब २२ करोड आन्तरिक राजस्व उठाउने विभागको लक्ष्य थियो । 

अघिल्लो वर्ष पुस मसान्तको तुलनामा यो वर्षको संकलन लक्ष्यभन्दा केही पर देखिएको छ । गत वर्ष लक्ष्यको ९८ प्रतिशत अर्थात् १ अर्ब ३४ अर्ब ४ करोड ९२ लाख २३ हजार राजस्व संकलन गरेको थियो । गत वर्ष पुस मसान्तसम्म जम्मा लक्ष्यको ४४ प्रतिशत राजस्व संकलन भएको थियो । 

किन लक्ष्यमा पुग्न सकेन विभाग ?

अघिल्लो वर्षको पुस मसान्तको तुलनामा चालु आवमा विभागले लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । अघिल्लो वर्ष लक्ष्यभन्दा २ प्रतिशत कम राजस्व संकलन गरेको विभाग यो वर्ष लक्ष्य भन्दा १२ प्रतिशत कम संकलन गरेको हो । 

तर, राजस्व विभागका कर्मचारी भने सरकारले यो वर्ष ठूलो लक्ष्य राखेकाले लक्ष्यमा पुग्न नकिएको बताउँछन् । चालु आवमा अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशत बढी राजस्व संकलन गर्ने सरकारको थियो । गत वर्ष भने सरकारले २५ प्रतिशत मात्रै बढी राजस्व लक्ष्य राखेको थियो ।



‘यो वर्ष सरकारको लक्ष्य महत्वाकांक्षी छ,’ विभागका एक कर्मचारी भन्छन्, ‘त्यसैले लक्ष्यभन्दा कम संकलन भएजस्तो देखिएको हो ।’ अघिल्लो आवमा भन्दा यो वर्ष २१ प्रतिशत बढी राजस्व संकलन भएको उनले बताए । 

सरकारले चालु अवमा विभिन्न स्किमहरु ल्याएकाले राजस्वको वृद्धिदर बढेको कर्मचारीहरुको दाबी छ । सरकारले करमा दर्ता नभएका करदातालाई पछिल्लो तीन वर्षको कर तिरेमा त्योभन्दा अगाडिको कर छुट तथा करमा दर्ता भएका तर कर नतिरेका करदातालाई पछिल्लो २ वर्षको तिरेमा अन्य कर मिनाहा गर्ने व्यवस्था गरेको थियो ।



विभागकै अन्य कर्मचारी भने सरकारले ल्याएको स्किमले कर संकलनमा फरक नपरेको बताउँछन् । 

सरकारको लक्ष्यअनुसारको कर संकलन नभए पनि केही शीर्षकका कर भने लक्ष्यभन्दा बढी संकलन भएका छन् । आन्तरिक राजस्व कार्यालयले दिएको जानकारीअनुसार पुस मसान्तसम्म शिक्षा सेवा शुल्क लक्ष्यभन्दा १ सय ६३ प्रतिशत बढी राजस्व संकलन गरेको छ । यस्तै, अन्तःशुल्ककर पनि लक्ष्यभन्दा १ सय १ प्रतिशत बढी संकलन भएको छ । 

पहिलो ६ महिनामा अयकर भने लक्ष्यको ८४ प्रतिशत संकलन भएको छ । सरकारले १ खर्ब ३ अर्ब ३१ करोड ८४ लाख ९६ हजार आयकर संकलनको लक्ष्य राखेकोमा ८७ अर्ब ५० करोड २८ लाख ७३ हजार राजस्व संकलन भएको हो । यस्तै, मूल्य अभिवृद्धि कर ८४ प्रतिशत मात्रै संकलन गर्न सकेको छ । 

पुस महिनामा लक्ष्यको ८० प्रतिशत

पुस महिनामा आन्तरिक राजस्व संकलन घटेको छ । यो महिना लक्ष्यको ८० प्रतिशत मात्रै राजस्व संकलन भएको छ । सरकारले ७१ अर्ब ५७ करोड ६२ लाख ८८ हजार लक्ष्य राखेकोमा पुस महिनामा मात्रै ५७ अर्ब २८ करोड ४८ लाख ९८ हजार राजस्व संकलन गरेको छ । गत वर्षको पुस महिनाको तुलनामा यो १५ प्रतिशत बढी हो । 

सोही अवधिमा राजस्व विभागले लक्ष्यको १ सय ९० प्रतिशत शिक्षा सेवा शुल्क, ९० प्रतिशत अन्तःशुल्क कर तथा ८६ प्रतिशत मूल्य अभिवृद्धि कर संकलन गरेको छ । 

जम्मा राजस्व लक्ष्यको ९३ प्रतिशत मात्रै 

चालु आवको पहिलो ६ महिनामा कर तथा गैह्रकरबाट लक्ष्यको ९३ प्रतिशत मात्रै राजस्व संकलन गर्न सफल भएको छ । सरकारले कर तथा गैह्रकर गरी दुई स्रोतबाट राजस्व संकलन गर्छ ।  

महालेखा नियन्त्रकको कार्यालयका अनुसार ४ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो सरकारको लक्ष्यभन्दा २८ अर्ब कम हो । तर, अघिल्लो आवको सोही अवधिको तुलनामा भने यो २५ प्रतिशत अर्थात् ३ खर्ब १ अर्ब बढी हो । 

  • प्रकाशित मिति : माघ ७, २०७५ साेमबार ४:४०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया