[ठाकुर गैरेको विचार] के फेरि तत्काल वाम एकता सम्भव छ ?

नेपालको इतिहासलाई फर्केर हेर्दा कम्युनिष्ट आन्दोलनभित्र धेरै पटक विभाजन र एकता भएको विगत पाउँछौ । मूल रूपमा सैद्धान्तिक र वैचारिक आधारमा भन्दा पनि नेताहरूको इगोका कारण विभाजन भएको देखिन्छ । एकता हुँदा पनि दीर्घकालीन सोच, वैचारिक आधार स्पष्टतामा ध्यान दिनुपर्नेमा तत्कालको रिजल्ट, पद, प्रतिष्ठालाई केन्द्रमा राखेर एकता भएको पाउँछौँ ।  

लोकतन्त्र, राष्ट्रियता, जनजीविका, श्रमजीवी सर्वहारा वर्गको हितको पक्षमा रहेर हेर्ने हो भने कम्युनिष्ट एकता अनिवार्य छ । त्यसका लागि सबैभन्दा पहिलो कुरा विगतमा कम्युनिष्ट पार्टीको नेतृत्व गरिरहेका नेताहरूबाट आफ्नो व्यक्तिगत पदीय स्वार्थ छोड्ने, तत्कालिन पद, प्रतिष्ठालाई छोड्ने, आफ्ना कमजोरी स्वीकार गर्ने, रिअलाइज गर्ने कुरालाई एकताको निम्ति पहिलो आधारको रूपमा हेर्न सकिन्छ । 

दोस्रो कुरा, नेपालमा शान्तिपूर्ण आन्दोलनलाई मूल विषय बनाएको र हिजो सशस्त्र विद्रोहको मान्यतालाई मूल अवधारणा बनाएको धाराहरू छन् । त्यसमा बदलिएर शान्तिपूर्ण आन्दोलन नै अहिलेको आन्दोलनको मुख्य चरित्रको हो भन्ने कुरामा पनि सबैको स्पष्टता देखिन्छ । प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै अगाडि बढ्ने हो भन्ने कुरामा पनि सबैको स्पष्टता देखिन्छ ।

वैज्ञानिक समाजवाद हाम्रो लक्ष्य हो, त्यसका लागि आज समाजवादको प्रक्रियामा हामी तयार छौ भन्ने विषयमा पनि स्पष्टता देखिन्छ । यी तीनवटै मान्यतामा दस्तावेजमा, अभिव्यक्तिमा सबैको समझदारी छ । तर, जब एक ठाउँमा हामी एउटै कमिटीमा बस्छौँ, त्यतिबेला निर्णय प्रक्रियामा हिजोको शसस्त्र विद्रोहको धङधङी पनि त्यहाँ प्रकट हुन्छ । अथवा त्यो शसस्त्र विद्रोहको विपक्षमा हामी थियौँ । हामी शान्तिपूर्ण आन्दोलनको मुख्य हिमायती हौँ भन्ने कुराको धङधङी त्यहाँ प्रकट हुन्छ, जसले गर्दा निर्णय प्रक्रियामा एक रूपता ल्याउन समस्या हुने खालका कुराहरू हिजो एकताबद्ध हुँदा पनि देखा परेका थिए । त्यसलाई आगामी दिनमा त्यो हिसाबले प्रकट नहुने प्रतिबद्धता दोस्रो कुरा हो । 

तेस्रो कुरा, हामीले आज माक्सवाद, लेलिनवादलाई नेपालको विशिष्टताको आधारमा, हाम्रो देशको परिस्थिति, हाम्रो आन्तरिक अवस्था, जियोपालिटिक्स, आर्थिक क्षमता आधारमा, आजको विश्व परिवेशको आधारमा हामीले लिनु पर्ने नीतिका बारेमा नेपालको कम्युनिष्टले तय गर्नु पर्ने लक्ष्य उद्देश्य नीति कार्यक्रमका आधारमा पार्टी एकता गर्नु आवश्यक छ । हिजो नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेर त्यसलाई किन जोगाउन सकेनौँ? त्यसको बारेमा सबैले आ–आफ्नो तर्फबाट वैयक्तिक वा संस्थागत रुपले के कमजोरी भएका थिए त्यसका निम्ति साझा निष्कर्ष खोज्न जरुरी छ । सबैले आफ्नो तर्फबाट गुर्नपर्ने आत्मालोचना, समीक्षा गर्नुपर्ने हामीले अगाडि बढ्नुपर्ने दिशामा ध्यान पुर्याउन नसकेको प्रश्नमा हामी स्पष्ट हुनु पर्ने र अगाडि बढ्न प्रतिबद्ध हुनुपर्छ । 

नेपालको कम्युनिष्ट आन्दोलनको मुख्य चुनौती नै कम्युनिष्ट आन्दोलनको रक्षा  गर्नु हो । त्यसकारण कम्युनिष्ट आन्दोलनको रक्षा गर्न चाहने जो कोही पनि एकताको पक्षमा उभिनुपर्दछ । तर, त्यो एकता वस्तुनिष्ठ, वैचारिक, सिद्धान्त केन्द्रित हुनुपर्छ र समाज निर्माण तथा समाजवाद हासिल गर्ने लक्ष्यमा केन्द्रित हुनुपर्छ । त्यो कुनै व्यक्ति विशेषको हितमा हुने कुराले दिगो एकता हुन सक्दैन । यो आन्दोलनका शुभचिन्तक, कार्यकर्ता, आन्दोलनका पक्षधरहरूको बीचमा एकता गर्नुपर्छ भन्ने विषयमा विभिन्न छलफल, बहस भएका छन् । तर, त्यसलाई संस्थागत गर्न सकिएको छैन । 



विभाजन भएको तत्काल भएको अवस्थामा, छलफल बहसका लागि, एकले अर्कालाई गलत देखाउने, नेताहरूको व्यक्तिगत इगो पनि बाधक छ । केका लागि एकता गर्ने हो भन्ने पनि टुंगो लागेको छैन ।

स्थानीय तहको चुनाव हामीले हार्‍यौं । संघ र प्रदेशको चुनाव जित्नका लागि एकता गर्नुपर्छ भन्ने कुरामा सीमित भएर एकता गर्यौं भने त्यसले दिगो एकता बनाउन सक्दैन । अवश्य पनि कम्युनिष्टहरूले चुनाव जित्नु पर्छ । विचार मिल्नेहरूसँग एकता, तालमेल गर्नु त्यो पनि कम्युनिष्ट पाटीबीच तालमेल हुनु राम्रो कुरा हो । तर, चुनाव जित्नका लागि एकता गर्नु भनेको अर्को विभाजनको विजारोपण गर्नु हो । एकताको प्रक्रियालाई समाजवादी लक्ष्य प्राप्त गर्ने कार्यक्रमसँग जोड्नुपर्यो, लोकतन्त्रको रक्षा र विकास, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियता र सम्प्रभुता र भौगोलिक अखण्डतालाई जोडेर एकता गर्नु पर्यो । त्यसको सहज परिस्थिति गराउन र मुलुक अँध्यारो सुरुङतिर जाँदैछ त्यसलाई जोगाउनका लागि तालमेल गरेर जानुपर्छ । 



संघ र प्रदेशको चुनाव अगाडि तालमेल गरेर जाने र चुनावपछि एकताको निम्ति छलफल बहस प्रारम्भ गरेर चुनावपछि दिगो एकताको पक्षमा जान सकिन्छ । नेपाली र नेपाल राष्ट्रको हितमा काम गर्नका लागि कम्युनिष्ट एकता अनिवार्य र आवश्यक देखिन्छ । भित्र कम्युनिष्ट एकताको कुरा गर्ने तर बाहिर अन्य दलसँग मिलेर कम्युनिष्ट पार्टीलाई प्रहार गरेर कमजोर बनाउने काम भएको छ यस्तो परिस्थितिबाट सबै बाहिर आउनु पर्छ ।

  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १०:३९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया