कोरोना पीडितको राहतमा वडाध्यक्षको मनपरी : आसेपासेलाई वितरण, प्रभावितले सिफारिसम्म पाएनन्

जयपृथ्वी नगरपालिका–४ का जनप्रतिनिधिहरूमाथि कोरोना प्रभावितको लागि आएको राहत रकम आफूखुसी वितरण गरेको आरोप लागेको छ । वडाध्यक्ष ईश्वर खाती र वडाका जनप्रतिनिधिले राहतस्वरूप आएको रकम रकमान्तर गरेर पीडितभन्दा आफू निकटका व्यक्तिलाई वितरण गरेको स्थानीयले आरोप लगाएका हुन् ।

कोरोना संक्रमित भएका विपन्न समुदायका ३० जनालाई प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले राहत आएको थियो । तर, वडाका जनप्रतिनिधिले सल्लाह नै नगरी आफू निकटका व्यक्तिलाई वितरणका लागि नगरपालिकामा सिफारिस गरेको स्थानीयको भनाइ छ । रकम वास्तविक कोरोना प्रभावितलाई दिनुपर्ने भए पनि वडाको सिफारिसमा नगरपालिकाले शीर्षक परिवर्तन गरेको स्थानीय गणेश जोशीले बताए । 

मापदण्डअनुसार सार्वजनिक सूचना जारी गरी प्रभावितलाई आवेदन दिन आव्हान गर्ने र आवेदन दिएकाहरूमध्येबाट विपन्न समुदायका पीडितलाई छनोट गरी राहत दिनुपर्ने भए पनि वडाका अन्य जनप्रतिनिधिसँग समेत छलफल नगरी वडाध्यक्षले आफूनिकट व्यक्तिलाई सिफारिस गरेको जोशीले बताए ।

‘दैनिक मजदुरी गरेर छाक टार्नेलाई राहत रकम दिइएन । तर कर्मचारीका घरका मान्छेलाई समेत राहत दिइयो,’ एक स्थानीयले भने, ‘वडा कार्यालयका कर्मचारीका आफन्त तथा जनप्रतिनिधि निकटलाई वितरण गरिएको छ ।’ पीडितका लागि आएको रकम वडाध्यक्षले चुनावमा आफूलाई सहयोग गरेकाहरूलाई दिएको पाइएको हो ।

यसमा जयपृथ्वी नगरपालिकाको कार्यालयले पनि निकटका कार्यकर्ताहरूलाई रकम वितरण गर्नका लागी सघाउ पुग्ने गरी मापदण्ड बनाएको जयपृथ्वी नगरपालिका–२ का दिनेश खड्काले बताए ।

यता जयपृथ्वी नगरपालिका–४ का वडाध्यक्ष ईश्वर खातीले भने आफूले वडाका सबै जनप्रतिनिधिसँगै छलफल गरेर नै पीडितलाई नै सिफारिस गरेको बताएका छन् । कोरोना पीडितका लागि आएको रकम वास्तविक वडाभित्र रहेका प्रभावितलाई नै वितरण गरेको उनले बताए । 



त्यस्तै, जयपृथ्वी नगरपालिका–१ का जनप्रतिनिधिले पनि आफ्ना आसेपासे र चुनावको बेला सघाएका कार्यकर्तालाई नै पर्नेगरी राहत रकम पाउनका लागि नाम सिफारिस गरेको बताइएको छ । वडाध्यक्ष डम्बरबहादुर सिंह र करारमा रहेका पाँचौँ तहका कर्मचारी अजयबहादुर सिंहले आफूखुसी कोरोना प्रभावितहरूको नाम सिफारिस गरेको पाइएको हो ।

वडाध्यक्षका दाइसहित उनका निकटका आफन्त र कार्यकर्ताहरू प्रभावितको सूचीमा भए पनि वास्तविक कोरोनाको समयमा प्रभावित भएकाहरूलाई सिफारिस नगरिएको स्थानीय राजबहादुर सिंहले बताए । 



कोरोना पीडितका लागि आएको रकम यी दुई वडामा मात्रै नभएर नगरपालिकाको अन्य वडाका जनप्रतिनिधिले पनि दुरुपयोग गरेको स्थानीयले बताएका छन् । निर्वाचित भएको केही समयमा नै स्थानीय तहका जनप्रतिनिधिले ‘दादागिरी’ देखाउन सुरु गरेको स्थानीय नरेन्द्र खड्काले बताए ।  

  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १०:५७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया