नेपालमा बेलायती डिग्री पढाउने नाममा शिक्षामा व्यापार गरिरहेको तीनकुनेमा रहेको आइएसएमटी कलेजले कानुनी छिद्र प्रयोग गर्दै नेपालका विभिन्न ठाउँहरुमा कलेजका शाखा चलाइरहेको छ ।
नेपालको शिक्षा ऐन तथा शिक्षा मन्त्रालयले अनुमति नदिँदा नदिँदै विराटनगर, पोखरा, चितवनमा कलेजका शाखा विस्तार गरेको आइएसएमटी कलेजले विदेशी विश्वविद्यालयसँग लिएको सम्बन्धनमा पनि खेलाँची गरेको पुष्टि भएको छ ।
फरकधारसँग इमेलमा वार्ता गर्दै सन्डरल्यान्ड विश्वविद्यालयका जेमी स्मिप्सनले यसको पुष्टि गरेका छन् ।
फरकधारलाई जेमीले लेखेको इमेलमा भनिएको छ, ‘हामीले आइएसएमटीलाई सम्बन्धन दिएका हौँ । तर, एक मात्र संस्थालाई ।’ उनले विश्वविद्यालयले सम्बन्धन दिएका विश्वभरका कलेजहरुको सूची अनलाइन नै हेर्न पाइने भन्दै त्यही सूची पनि फरकधारलाई पठाएका छन् ।
उनले पठाएकाे विश्वविद्यालयले सम्बन्धन दिएका कलेजहरुकाे सूची, याे सूचीअनुसार नेपालमा आइएसएमटी एउटा संस्थासँग मात्र विश्वविद्यालयले अनुमति दिएकाे छ तर नेपालमा आइएसएमटीले आफूलाई फरक फरक संस्था भन्दै शिक्षाकाे नामम व्यापार गरिरहेकाे छ ।
पूरा सूची हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
सूचीमा नेपालमा आइएसएमटी कलेजलाई सम्बन्धन दिइएको उल्लेख गरिएको छ । तर, आइएसएमटी कलेजका शाखाहरुलाई सम्बन्धन दिएको उल्लेख गरिएको छैन ।
यता, नेपालमा कानुनी छिद्र प्रयोग गर्दै आइएसएमटी कलेजले स्थानहरुको नाम थपेर एउटै ‘ब्राण्ड’मा नेपालका विभिन्न सहरमा कलेजहरु सन्चालन गरिरहेको छ । विराटनगरका लागि उसले आइएसएमटी कलेज विराटनगर प्राइभेट लिमिटेड, पोखराका लागि आइएसएमटी कलेज पोखरा प्राइभेट लिमिटेड, चितवनका लागि आइएसएमटी कलेज चितवन प्राइभेट लिमिटेडका संस्थाहरु कम्पनी रजिस्ट्रर कार्यालयमा दर्ता गरेर एउटै सम्बन्धनबाट यी कलेजहरुमा पनि अध्यापन गराइरहेको छ ।
यसअघि यस विषयमा बुझ्न खोज्दा कलेजका सन्चालक योगेश उप्रेती भनिने गणेश उप्रेती सम्पर्कमा आउन खोजेका थिएनन् । तर, कलेजकी विराटनगरकी प्रिन्सिपल रुजा कोइरालाले आफूहरुलाई कानुनी विषयमा केही थाहा नभएको र विराटनगरको कलेज तीनकुनेमा रहेको आइएसएमटी कलेजको शाखा भएको भन्दै यस विषयमा काठमाडौंमा नै बुझ्न अनुरोध गरेकी थिइन् ।
आइएसएमटी कलेजले कानुनी छिद्रहरु प्रयोग गरेर शिक्षाको नाममा व्यापार गरेको यो पहिलो पटक भने होइन । यसअघि उसले आफूसँग सम्बन्धन नभए पनि विद्यार्थीहरुलाई हार्टफोर्डसायरको सम्बन्धन छ भन्दै भर्ना गरिरहेको थियो ।
उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेललाई हामीले विराटनगरमा आइएसएमटी कलेजले शाखाका रुपमा आफ्नो कलेज चलाइरहेको विषयमा जिज्ञासा राखेका थियौँ ।
उनले यसरी शाखाका रुपमा शिक्षाको व्यापार गरिनु अत्यन्त गलत भएको बताए । ‘नेपालमा शिक्षाको नाममा व्यापार गर्नका लागि यस्तो गएिको हो भने यो ठगी धन्दा हो,’ उनले भने, ‘यसले विद्यार्थीको भविष्य अन्यौलमा पर्ने मात्र होइन, हाम्रो शिक्षाको इकोसिस्टममा समेत समस्या ल्याउन सक्छ ।’
ढुंगेलले यस विषयमा आफूहरुले अब कानुनी उपचारका लागि सशक्त कार्यक्रमहरु अगाडि सार्ने र सबैलाई कानुनी दायरामा ल्याउन पहल गर्ने बताए ।
विदेशी सम्बन्धनमा उच्च शिक्षा प्रदान गर्ने कलेजहरुको संघ आइप्यानका एक सदस्यले आइएसएमटीले गलत गरिरहेको स्वीकार गरे ।
‘यो निकै गलत प्राक्टिस हो,’ ती सदस्यले भने, ‘हामीले आइएसएमटीका सन्चालकलाई बारम्बार यस्तो नगर्न भनेका छौँ । तर, सुनुवाइ भएको छैन । अब यसबारे उजुरी हामी शिक्षा मन्त्रालयमा दिँदैछौँ ।’
विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सन्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ को परिच्छेद ५ मा स्पष्ट रुपमा निर्देशिकाका सर्त पूरा नगरेका कलेजको सम्बन्धन खारेज गर्न सकिने बताइएको छ ।
त्यस्तै, परिच्छेद ६ को ९ को गमा यसरी विदेशी सम्बन्धनमा सन्चालित कलेजले स्थानान्तरण गर्न नपाउने वा यसका लागि शिक्षा मन्त्रालयको अनुमति लिइनु पर्ने स्पष्ट रुपमा उल्लेख गरिएको छ । तर, आइएसएमटी कलेजले यसलाई पनि पूरा गरेको छैन ।
त्यसो त, यही कलेजले केहीअघि सम्म विद्यार्थीहरुलाई गलत सूचना दिँदै शिक्षाको व्यापार गर्दै आइरहेको थियो । त्यति बेला आइएसएमटी कलेजले आफूसँग नभए पनि हार्टफोर्डसायरको सम्बन्धन भएको गलत सूचना दिँदै आएको थियो ।
शिक्षा मन्त्रालयका उच्च शिक्षा शाखाका एक अधिकारी आइएसएमटी कलेजलगायत केही विदेशी सम्बन्धनमा चलेका कलेजहरुले यसअघि पैसाको चलखेल गरेर नयाँ कार्यक्रम वा सम्बन्धन थपेको बताउँछन् ।
‘कानुनको छिद्र प्रयोग गरेर र शिक्षा मन्त्रालयका उच्च पदस्थ अधिकारीको मिलेमतोमा उसले अन्यत्र कलेज चलाइरहेको हो,’ ती अधिकारीले नाम नखुलाउने सर्तमा भने, ‘शिक्षा मन्त्रालयमा यो विषयमा उजुरी परेमा उसले अनुमति पाएको एउटा कलेजबाहेक अरु बन्द हुनेछन् ।’
मन्त्रालयका अर्का एक अधिकारीले नेपाली शिक्षा इतिहासमा नै यसरी कलेजहरुले शाखा खोलेर एउटै कार्यक्रम विभिन्न शाखामा चलाएको घटना यो पहिलो भएको र यस विषयमा अब गम्भीर भएर छानबिन गरिने बताएका छन् ।
उता, सन्डरल्यान्ड विश्वविद्यालयका इन्टरनेसनल डेभलेपमेन्ट (सेन्ट्रल रिजन)का प्रमुख जेमीले आफूहरुसँग कलेजको एउटा संस्थाले मात्र अनुमति लिएको हुँदा उसका विभिन्न स्थानका शाखाहरुबारे आफूले बोल्न नमिल्ने बताएका छन् ।
यही विषयमा यसअघि फरकधारमा प्रकाशित समाचार सामग्री पढ्नुहाेस्:
शिक्षाको नाममा व्यापारः आइएसएमटीका विराटनगर, पाेखरा र चितवनका कलेज गैरकानुनी
विद्यार्थीलाई अन्योल र भ्रममा राख्दै, गलत सूचना दिएर शिक्षाको व्यापार गर्दैछ आइएसएमटी कलेज
मुद्रा अपचलनमा छानबिन हुँदैछ कलेज सन्चालक उप्रेतीमाथि
आइएसएमटी कलेजका सन्चालक योगेश उप्रेती भनिने गणेश उप्रेतीमाथि मुद्रा अपचलनको विषयमा छानबिन गर्ने तयारी सम्पत्ति शुद्धिकरण विभागले गर्ने भएको छ ।
केही समयअघि उनीविरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा उनले अष्ट्रेलियामा पनि आइएसएमटी नामको कलेज सन्चालन गरेको, त्यसको बेचबिखन गरेको र ठूलो मात्रामा कारोबार गरेको भन्दै सम्पत्ति शुद्धिकरण विभागमा उजुरी परेको थियो ।
विभागका एक अधिकारीले नाम नलेखिदिन अनुरोध गर्दै भनेका छन्, ‘उहाँविरुद्ध आएको उजुरीमाथि हामी छानबिनको प्रक्रियामा छौँ । उहाँले अष्ट्रेलियामा कसरी कलेज खोल्नुभयो, कसरी त्यसको बेचबिखन गर्नुभयो र त्यो पैसा कहाँ लैजानु भएको छ भन्ने केही प्रमाणहरु आएका छन् ।’
नेपाली नागरिक भए पनि उप्रेतीले यसअघि अष्ट्रेलियामा पनि आइएसएमटी कलेज खोलेका थिए, त्यसको बेचबिखन गरेका थिए । तर, उनले उक्त कलेज स्थापनाको खर्च तथा बेचबिखनपछि उनको अष्ट्रेलियाको कमनवेल्थ बैंकमा आएको पैसा नेपालमा कसरी ल्याए भन्ने प्रमाण दिन सकेका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।