झापाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँमा एउटै रुखमा तीनजना किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । उनीहरू आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
झुण्डिएको अवस्थामा फेला पर्नेमा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेश रहेका छन् । उनीहरूको मृत्यु कारण खुल्न बाँकी छ । कचनकवल गाउँपालिका–५ का वडाध्यक्ष मोहम्मदनूर आलमका अनुसार मृतक तीनैजना चिया बगानमा कार्यरत थिए ।
‘घटनास्थल गाउँपालिका–५ बेल्ले गाउँमा पर्दछ, उक्त ठाउँमा मानिसहरूको आवतजावत कम हुन्छ । चिया बगान भएपनि ठाउँ हिँडडुल गर्न अप्ठयारो छ । म आज बिहान १० बजे घटनास्थल पुगेको थिए । उनीहरूका परिवारका सदस्यसँग बुझ्दा तीनै जना चिया बगानमा मजदुरी गर्दै आएका रहेछन्,’ वडाध्यक्ष आलमले फरकधारसँग भने, ‘उनीहरू शनिबार १२ बजेदेखि घरबाट निस्केका रहेछन् । परिवारका सदस्यले आफन्तको घरतिर गएका होलान् भने दिउँसो खोजी नगरेको पाइएको छ । साँझ अबेरसम्म तीनै जना घर नफर्किएपछि फोन गर्दा कसैको पनि फोन उठेन । सबैको फोन खुल्ला नै रहेको परिवारका सदस्यले भनेका थिए । त्यसपछि खोजी गर्दा आज बिहान ७ बजे तीनै जना देउनिया खोलाको एउटा बयरको हाँगोमा झुण्डिएको अवस्थामा मृत भेटिए ।’
मृतक किशोरीमध्ये दुईजना एउटै डोरीमा र एक जना डोरीसँगै गम्छामा झुण्डिएको अवस्थामा भेटिएकी छन् । यो घटनामा एक किशोरीको मृत्यु संकास्पद रहेको वडाध्यक्ष आलमले बताए ।
‘तीनमध्ये एउटा किशोरीको मृत्यु संकास्पद लागेको छ । किनभने एउटा किशोरीको घाटीमा डोरी बेरिएको थियो । तर, गम्छामा झुण्डिएको रहेछ । थप प्रहरी अनुसन्धानले खुलाउला,’ वडाध्यक्ष आलमले भने, ‘अहिले तीनै जनाको शव परीक्षणका लागि धरान लगिएको छ । घटनास्थल नेपाल–भारत सिमाना नजिक पर्छ । मृतकमध्ये दुई किशोरी बेल्ले गाउँकी हुन्, एकजना बोर्डरकी हुन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।