नेपाली मूलका अमेरिकन भण्डारीको मेरिल्याण्ड राज्य सांसदमा उम्मेदवारी सुनिश्चित

अमेरिकाको मेरिल्याण्ड राज्य संसदको तल्लो सदन हाउस अफ डेलिगेट्सका लागि डिस्ट्रिक्ट ८ बाट नेपाली मूलका अमेरिकन ह्यारी भण्डारीको उम्मेदवारी सुनिश्चित भएको छ ।
 
डेमोक्रेटिक प्राइमरीमा भण्डारीको उम्मेदवारी सुनिश्चित भएको हो । उनले अन्तिम चुनाव नोभेम्बरमा लड्नुपर्नेछ ।

भण्डारी दोश्रो कार्यकालका लागि चुनावी अभियानमा रहेका छन् । मेरिल्याण्डको डिस्ट्रिक्ट ८ बाट अहिले ३ जना राज्य सांसदले हाउस अफ डेलिगेट्समा प्रतिनिधित्व गरिरहेका छन् । जसमा डेमोक्रेटिक पार्टीबाट ह्यारी भण्डारी र कार्ल ज्याक्सन रहेका छन् भने रिपब्लिकनबाट जोसेफ सी बोटलर तृतीय रहेका छन् । भण्डारी अमेरिकी राजनीतिमा सबैभन्दा उच्च तहमा पुग्ने नेपाली मूलका पहिलो जनप्रतिनिधि हुन् ।

मेरील्याण्ड राज्य संसदमा स्वास्थ्य र सरकार सञ्चालन समितिको सदस्य समेत रहेका भण्डारी मेरील्याण्ड लेजिस्लेटिभ एसियन अमेरिकन र प्यासिफिक आइल्याण्डर ककसका पूर्व सचिव र वर्तमान उपाध्यक्ष पनि हुन् । उनी सन् २०१८ बाल्टिमोर काउन्टीको स्थानीय डेमोक्रेटिक केन्द्रीय समिति सदस्यको रूपमा पनि रहेका छन् ।

आगामी नोभेम्बरमा हुने निर्वाचनमा न्युयोर्कको राज्य संसदमा नेपाली मूलकी अमेरिकन सराहना श्रेष्ठ पनि भिड्दैछिन् । न्युयोर्क राज्यको संसदको तल्लो सदनका १०३ नम्बर एसेम्ब्ली डिस्ट्रिक्टको डेमोक्रेटिक प्राइमरी चुनावमा विजयी श्रेष्ठ न्युयोर्क राज्यको संसदमा उम्मेदवारी दिने र प्राइमरी चुनाव जित्ने नेपाली मूलकी पहिलो अमेरिकन हुन् । उनी नोभेम्बरको निर्वाचनपछि अमेरिकाको राजनीतिमा सबैभन्दा उच्च तहमा पुग्ने नेपाली मूलकी पहिलो महिला हुनेछिन् ।

न्युयोर्क राज्यको तल्लो सदनमा हरेक सांसदले झण्डै १ लाख ३० हजार बासिन्दाको प्रतिनिधित्व गर्दै आएका छन् । न्युयोर्क राज्य संसदको तल्लो सदनमा प्रतिनिधित्व गर्ने सांसदको कार्यकाल २ वर्षको हुने गर्छ ।
 





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १४:६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया