राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् ।
आइतबार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यक्ता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष लिङ्देनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरूपले अभिभावकविहीन भएको बताए ।
उनले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्ने लगायतका विषयहरु सामान्य विषय बनेको बताए ।
अध्यक्ष लिङ्देनले नेपाली जनताको चाहना विपरीत एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको बताए । उनले कुनै पनि बेला देशले आफ्नो अस्तित्व गुमाउनसक्ने अवस्था देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे ।
अध्यक्ष लिङ्देनले देशलाई दुर्घटनाबाट बचाउन सचेत नेपालीहरु एकजुट हुनुपर्ने बेला भएको स्पष्ट पारे । उनले अहिले सत्तामा रहेका दल र नेतृत्वहरुबाट देश विकास र सुधार हुन नसक्ने भन्दै राजनीतिमा नै परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे ।
अध्यक्ष लिङ्देनले देशमा रहेका विद्यमान समस्याको समाधान पूर्ण समानुपातिक सांसद, अभिभावकीय संस्थाको रुपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको बताए ।
उनले आफ्नो पार्टी आउने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बीचमा जाने उद्घोष गरे । उनले अहिलेको सरकारको बाटोलाई पतनको बाटोको रुपमा चित्रण गरे ।
अध्यक्ष लिङ्देनले राप्रपाले उठाएका मुद्दाहरु कहिल्यै पूरा हुँदैनन् भन्ने गरेको भएपनि एकदिन अहिलेका प्रमुख दलहरु राप्रपाले उठाएको मुद्दामा सहमत हुने दाबी गरे । उनले आफूले देश र जनताको विकासका मुद्दा उठाएकोले सबै पार्टी सहमत हुने दिन नजिक रहेको बताए ।
अध्यक्ष लिङ्देनले राप्रपाले अघि सारेका मुद्दा र मार्गचित्र देश विकास र देशका हालका समस्या समाधानका लागि अपरिहार्य रहेको दाबी गरे । उनले देशको समस्या समाधान गर्न पार्टीले आगामी निर्वाचनमा निश्चित संख्याको शक्ति आर्जन गर्न सक्नुपर्ने बताए ।
अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले उठाएका मुद्दा असफल भए देशले लामो समयसम्म अहिलेको अराजकता स्वीकार्नुपर्ने र ठूला राष्ट्रशक्तिको द्वन्द्वको शिकार बन्नुपर्ने बताए ।
अध्यक्ष लिङ्देनले आउने चुनाव ध्वंसात्मक गतिविधि नगरी देशलाई सुबाटोमा लैजाने अवसर भएकोले राप्रपाले सारेको देश विकासको वैकल्पिक मार्गचित्र अपरिहार्य रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।