डा. शेरबहादुर पुन भन्छन् : नेपालमा मंकीपक्स देखिए पनि ढिलो पहिचान हुने डर छ

मंकीपक्सको संक्रमण तीव्र रूपमा फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएको छ । मंकीपक्स ७५ मुलुकका १६ हजारभन्दा बढी मानिसमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

मंकीपक्स संक्रमित व्यक्तिको फोका फुटेको छालासँग सम्पर्कमा आउँदा सर्न सक्छ । र्‍याल, थुकका छिटाजस्ता तरल पदार्थबाट पनि यो सर्छ । केही संक्रमितमा यौनसम्पर्कका माध्यमबाट पनि यो भाइरस सरेको देखिएको छ । 

अहिले देखिएको मंकीपक्सले विशेषगरी यौनाङ्ग र मलद्वारमा घाउ, खटिरा बनाउने भएकाले नेपालमा मंकीपक्स देखिए पनि ढिलो पहिचान हुने डर भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बताउँछन् । 

‘अहिले देखिएको मंकीपक्सले विशेषगरी यौनाङ्ग र मलद्वारमा घाउ, खटिरा बनाउँछ । अन्य देशमा मानिसले त्यसलाई सहजै अस्पतालमा गएर देखाउने भएकाले त्यहाँ यो रोग चाँडो पहिचान हुन्छ । तर, हाम्रो देशमा मानिस यौनाङ्ग तथा मलद्वारमा घाउ हुँदा अस्पतालमा देखाउन सहज मान्दैनन् त्यसले गर्दा यहाँ मंकीपक्सको चाँडो पहिचान हुँदैन कि भन्ने डर छ,’ उनले भने । 

संक्रमित व्यक्तिको घाउ, हाच्छिउँ गर्दा निस्कने थुक वा तरल पदार्थको माध्यमबाट फैलिएको पाइएको डा. पुन बताउँछन् । यो तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्न सक्ने जनाइएको छ । मध्य र पश्चिमी अफ्रिकी मुलुकको जंगलीस्थानमा पाइने (बाँदर वा मुसा)बाट संक्रमण सुरु भएको अनुमान छ ।  

डा. पुनका अनुसार स्तनधारी जनावरबाट मंकीपक्स संक्रमण सुरु भएको हो । ‘संक्रमितले प्रयोग गरेको बिच्छ्यौना, लुगाफाटा प्रयोग गर्दा संक्रमण सर्न सक्छ । यो रोग समलिंगीमा पनि संक्रमण पुष्टि भएको छ । मंकीपक्स विफरको पारिवारिक सदस्य मानिएको छ । विफर रोग लगाउने भाइरसको प्रजातिबाट यो रोग सर्दछ । तर, यो कोरोना तथा विफरभन्दा कम घातक पाइएको छ’ डा. पुनले भने ।



डा. पुनका अनुसार संक्रमणपछि ज्वरो आउने, टाउको, ढाड दुख्ने, मांसपेसी दुख्ने, शरीर सुन्निने, हत्केला र पैतलामा डाबर देखिने र छाला फुट्नेलगायतका लक्षण देखिन्छन् । डा. पुन भन्छन्, ‘अनुहार र हात खुट्टामा बिमिरा (फोका)हरू बढी देखिन्छन् ।’ 

सन् १९५८ मा अनुसन्धानका लागि राखिएका बाँदरमा पहिलो पटक देखिएकाले यो भाइरसको नाम मंकीपक्स राखिएको हो । सन् १९७० मा डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा पहिलो पटक एक जना बालकमा यो भाइरस देखिएको थियो । त्यसपछि यो संक्रमण मध्य तथा पश्चिम अफ्रिकाका बेनिन, क्यामरून, सेन्ट्रल अफ्रिकन रिपब्लिक, डेमोक्र्याटिक रिपब्लिक अफ कंगो, गाबोन, घाना, आइभोरी कोस्ट, लाइबेरिया, नाइजेरिया, रिपब्लिक अफ द कंगो, सिरालियोन र दक्षिण सुडानमा बेला–बेलामा देखिने गरेको थियो ।



यो संक्रमण अहिले विभिन्न माद्यमबाट विश्वब्यापी रुपमा फैलिएको छ। यही अवस्थालाई मध्यनजर गरी डब्लुएचओले मंकीपक्स विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो । द न्युयोर्क टाइम्सका अनुसार डब्लुएचओ प्रमुख टेड्रोस अडानोम गेब्रेएससले शनिबार मंकीपक्सलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ घोषणा गरेका हुन् ।

डब्लुएचओको यो घोषणासँगै अब मंकीपक्सको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायले आपसमा संयोजन गरी काम गर्नुपर्नेछ । 

डब्लुएचओका अनुसार मंकीपक्सको संक्रमण भएपछि ज्वरो आउने, टाउको, मांसपेशी र मेरूदण्ड दुख्ने, थकान महशुस हुनेजस्ता लक्षण देखिन्छन् । शरीरका विभिन्न भागमा बिमिरा आउने र ती फोका बन्ने यसको अर्को मुख्य लक्षण हो । यी लक्षण गम्भीर खालका भने हुँदैनन् ।

संक्रमितलाई निको हुन समान्यताया ६ देखि १३ दिन तथा कसैलाई २१ दिनसम्म लाग्न सक्छ । मंकीपक्सको छुट्टै उपचार छैन । चिकित्सकहरूले स्मलपक्सको खोप लगाएका मानिसमा मंकीपक्सको संक्रमणसँग लड्ने एन्टीबडी बनिसकेको हुने बताएका छन् । 

मंकिपक्सको मृत्युदर न्यून छ । नाइजेरियामा ३.३ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।

  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १६:५५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया