खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०७८/०७९ मा बजार तथा उद्योग अनुगमनलाई तीव्रता दिएको पाइएको छ । आइतबार औद्योगिक क्षेत्रको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रगति विवरण सार्वजनिक गर्दै बजारमा हुने खाद्य अनियमिततालाई व्यस्थापन गर्न खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडा लागिपरेको कार्यालयका वरिष्ठ खाद्य अधिकृत क्षितिज श्रेष्ठले बताए ।
गत आवमा कार्यालयले ६० पटक बजार अनुगमन, २ सय १० पटक उद्योग अनुगमन तथा ४१ पटक होटल÷रेस्टुरेन्ट तथा चमेनागृह व्यवसाय अनुगमन गरिएको बताइएको छ । खाद्य ऐनबमोजिम नमुना संकलन गर्दा १ सय ७० नमुनामध्ये २३ वटा नमुना प्रतिकूल पाइएको वरिष्ठ खाद्य अधिकृत श्रेष्ठले बताए ।
समयावधि सकिएको खाद्यपदार्थ जफत गरी नष्ट गर्ने कामलाई पहिलो प्राथमिकतामा राखिएको कार्यालयले दाबी गरेको छ । जसमध्ये ठूलो परिणाममा हेटौँडा–३ स्थित बसामाडीमा रहेको युनिलिभर नेपाल लिमिटेडबाट २ हजार २ सय २८ बोरा (७३ हजार टन) चिया जफत गरी नष्ट गरिएको छ । विभिन्न मितिमा अनुगमनका क्रममा उपभोग्य अवधि सकिएको, लेबल विवरण उल्लेख नभएको तथा सडेगलेका सामान जफत गरी ठूलो परिणाममा नष्ट गरिएको कार्यालयका वरिष्ठ खाद्य अधिकृत श्रेष्ठले बताए ।
भारतबाट आयात गरेर उपभोगको म्याद गुज्रिएको ठूलो परिमाणको चियापत्तीलाई रिप्याकेजिङ गरी ‘रेडलेबल’ चियाको ब्राण्डमा बजार पठाउने गरेको फेला परेपछि बसामाडीमा कारखाना रहेको बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको चियापत्ती प्लाण्टमा स्थानीय प्रशासनले सिल गरेको थियो ।
सन् २०१९ मा उत्पादित चियापत्ती सन् २०२० को जुन महिनाभित्र प्रयोग गरिसक्नुपर्ने भए पनि उद्योगले रिप्याकेजिङ गर्ने उद्देश्यले सुरक्षित राखिरहेको बेला प्रशासनले प्लाण्टमा सिल लगाएको थियो । उपभोगको म्याद गुज्रिएको चियापत्तीलाई रिप्याकेजिङ गरी बजार पठाउने गरेको फेला परेपछि प्लाण्ट सिल गरिएको हो ।
स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चसहितको ५ सदस्यीय संयुक्त अनुगमन टोलीले करिब साढे ६ घण्टा प्लाण्ट अनुगमन गरी सिल गरेको थियो । अनुगमनका क्रममा रिप्याकेजिङ गर्न तयार रहेको ३५ केजी तौलका ९ सय २० बोरा (करिब ३२ टन) र अन्य कम्पनीका मिश्रित चियापत्ती ३ हजार बोराभन्दा बढी फेला पारिएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले लेबल नभएको, म्याद गुज्रेको सामग्री उपभोक्तालाई बेच्न लागेको अभियोजनमा उद्योगविरुद्ध मुद्धा दायर गरेको थियो । खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले अभियोजन र मुद्दालाई बलियो बनाउन आधिकारिक परीक्षण गरेको थियो ।
म्याद गुज्रिएको भेटिएको कच्चापदार्थ परीक्षण गर्न नापतौल तथा गुण नियन्त्रण विभागमा पठाइएको थियो । कार्यक्रममा खाद्य सबै र सबैको चासोको विषय भएका कारण कार्यालयले मात्र नभई सबै सचेत नागरिकको खाद्यपदार्थको गुणस्तरमा ध्यान जानुपर्ने बताउँदै श्रेष्ठले बताए ।
‘हामी बजार अनुगमनलाई तीव्रता दिएर उपभोक्ताको हातसम्म गैरखाद्य पदार्थ नपुगोस् भनेर खटिएका हुन्छौँ । यससँगै उपभोग गर्ने नागरिकले पनि आफूले प्रयोग गर्ने खानेकुरा खानयोग्य छ कि छैन भन्ने कुरा याद गर्नु पनि जरुरी छ,’ उनले भने, ‘सबैले हेर्न जान्छन् भन्ने त हुँदैन । तर, जानेकाहरुले खानेकुरा किन्दा अथवा खाँदा डेट सकिएको छ कि, सडेगलेको छ कि भनेर हेर्न भने भुल्न हुँदैन ।’
कार्यालयले गत आर्थिक वर्षमा ८०.२१ प्रतिशत वित्तीय र ९३.१९ प्रतिशत भौतिक प्रगति गरेको छ भने १९ लाख ६२ हजार ९ सय ७० रुपैयाँ राजस्व संकलन गरेको कार्यालयकी सूचना अधिकारी प्रगति अधिकारीले जानकारी दिइन् । खाद्यको अन्तर्राष्ट्रिय व्यापार स्वच्छता र सहजीकरणका लागि खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागको परिकल्पना गरिएको थियो ।
विभागमातहत देशभर २४ डिभिजन कार्यालय, ६ वटा गुण नियन्त्रण कार्यालय तथा मुख्य १२ वटा नाकामा आयातनिर्यात गुणस्तर नियन्त्रण कार्यालय छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।