काठमाडौं महानगरले इन्द्रजात्रामा भगिनी सम्बन्ध भएका नगरप्रमुखलाई निमन्त्रणा गर्ने

यस बर्षको इन्द्रजात्रा अवलोकनका विभिन्न देशका भगिनी सम्बन्ध कायम भएका नगरका प्रमुखलाई निमन्त्रणा गर्न काठमाडौं महानगरपालिकाले आन्तरिक तयारी थालेको छ । 

१ साउनको छैटौँ कार्यपालिका बैठकले यस विषयमा निर्णय गरिसकेको छ । निर्णय कार्यान्वयनका लागि महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मूल समारोह समिति बन्ने छ । त्यस समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्य सदस्य रहने छन् ।

आज महानगरका प्रमुख शाहको अध्यक्षतामा बसेको तयारी बैठकमा कार्यान्वयन समिति गठन गरिएको छ । समितिमा प्रशासन, वित्त र सम्पदा विभाग, हनुमानढोका दरबार संरक्षण कार्यक्रम र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय रहेका छन् । बैठकमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित विभागीय प्रमुख छन् ।

यस वर्ष २४ भदौ शुक्रबार इन्द्रजात्रा परेको छ । यो जात्रा हेर्न महानगरले भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एशियाली मुलुक (सार्क राष्ट्र) बाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरबाट प्रमुखलाई निमन्त्रणा गर्ने तयारी छ । प्रमुखका साथमा ४ जना अधिकारीलाई निम्ता दिइनेछ । यसरी २५ वटा नगर प्रत्येकबाट ४ जना सहभागी आउँदा १ सय जना पाहुना आउने छन् । 

२०७६ सालको इन्द्र जात्रामा ६ वटा देशका १३ वटा नगरलाई निम्ता गरेको थियो । तीमध्ये ५ वटा देशका ११ वटा नगरबाट ४ जना मेयर, उपमेयर/उपाध्यक्षसहित ४१ जना पाहुना सहभागी भएका थिए । त्यसपछिका वर्षमा कोभिड १९ संक्रमणका कारण अन्तर्राष्ट्रिय सम्बन्ध भएका कुनै पनि नगरबाट कसैलाई पनि बोलाइएन । 

महानगरको भगिनी सम्बन्ध 
 



महानगरले देशभित्रका ५ वटा र विभिन्न देशका १८ वटा नगरसँग भगिनी सम्बन्ध छ । डडेल्धुराको अमरगढी नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासी, वर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका आन्तरिक सम्बन्ध भएका नगरपालिका हुन् । 
 
त्यस्तै, चीनमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी चारवटा नगर महानगरको भगिनी सम्बन्ध भएका सहर हुन् । धेरै सहरसँग  भगिनी सम्बन्ध भएका देशमा चीन पहिलो हो । चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो । यसका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर गरी चारवटा नगरसँग भगिनी सम्बन्ध छ । 

यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, मान्मारको यांगुन, उत्तर कोरियाको प्योङ्याङ्, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ । थाइल्याण्डको बैंककसँग सम्बन्ध स्थापनाको प्रक्रिया अन्तिम चरणमा छ । 
 



  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार २१:२०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया