धन कमाउन आकाशमा उडेका सोनिल बाकसमा फर्किए

साउदी अरेबियमा कारको ठक्करबाट ज्यान गुमाएका मृतकको शव दुई महिनापछि घर ल्याइएको छ ।

साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राति ज्यान गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय सोनिल राईको शव आइतबार बिहान ५ बजे घर ल्याइएको हो । 

शवलाई स्वदेश ल्याउन आलटाल भइरहेको परिवारको गुनासो थियो । पैसा कमाउन विदेश जाँदा बाकसमा फर्किएका राईको आइतबार राई संस्कार अनुसार दाहसंस्कार गरिएको छ । 

रेष्टुरेन्ट वर्करको रुपमा गत माघ २६ गते अहम्द नाजी फलेह अल डोसारी रेष्टुरेन्ट फर सर्भिङ मिल्समा पुगेका राईको सडक पार गर्नेक्रममा कारको ठक्करबाट मृत्यु भएको थियो । उनी मासिक एक हजार रियल पाउनेगरी काठमाडौंको काठ्माडौं एचआर सोलुसन प्रालिमार्फत साउदी अरेबिय पुगेका थिए । 

ड्युटीमा जानेक्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जानकारी आएको आफन्त हिराधन चाम्लिङले बताए । तर, मेनपावरको ढिलासुस्तीका कारण शव ल्याउन दुई महिना समय लागेको हो । 

तस्बिर र भिडियोमा राईको गाडीको ठक्करबाट टाउको फुटेर रगत बगेको देखिन्छ । तर हाफर अल बटिन किंग खालेद जनरल अस्पताल अफर अल अबटिनमा स्वास्थ्य मामिला निर्देशनालयको मृत्यु रिपोर्टमा ‘टाउको, घाँटी र छातीमा कुनै देखिने चोट नभएको, माथिल्ला अंगमा कुनै देखिने चोटहरु नभएको र तल्लो अंगहरुमा कुनै देखिने चोटहरु नभएको’ उल्लेख छ । यस्तै मृतकको शरीरमा कुनै पनि कपडा नभएकाले आफन्त थप दुःखित बनेका छन् । 



राईका श्रीमती जुनकला, पाँच वर्षकी छोरी र अढाइ वर्षका छोरा छन् । श्रीमान्को शव आउन ढिलाइ भएपछि जुनकला बच्चा काखी च्यापेर आफन्तसँग पटक–पटक मेनपावरको कार्यालय र वैदेशिक रोजगार बोर्डको सचिवालय पुगेकी थिइन् । 



  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार २१:३४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया