नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा दलाल पुँजीपतिहरू पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन् । सोमबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन् ।
उनले अबको निर्वाचनबाट दलाल पुँजीपति, नोकरसाह पुँजीपति र भ्रष्ट हरू मात्रै चुनिने खतरा रहेको भन्दै राजनीतिक दलहरूमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको बताए । ‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइ दिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन । अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ । गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको धेरै ठाउँ देखिएको छ । एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र संघको चुनावमा त अर्बतिर जाने भयो,’अध्यक्ष प्रचण्डले भने, ‘श्रमजीवी जनताले अब क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने भनेको सपना जस्तो हुने भयो । आउने दलाल पुँजीपतिहरू आउने भए । नोकरसाह पुँजीपति आउने भए । भ्रष्ट हरू आउने भए । त्यो खतरा दिनप्रतिदिन बढ्दो छ ।’
प्रचण्डले भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन प्रणाली र शासन प्रणालीभित्र अन्तरनिहीत रहेको बताए । उनले यस बारेमा माओवादी पार्टीलाई मात्रै वैधानिक, राजनीतिक र नैतिक रूपले बोल्ने आधार रहेको दाबी गरे । प्रचण्डले भने, ‘भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन प्रणालीभित्र र शासन प्रणालीभित्र अन्तरनिहीत छ । यसलाई हामीले रिजर्भ राखेका छौँ । माओवादी पार्टीलाई मात्रै वैधानिक, राजनीतिक र नैतिक रूपले बोल्ने आधार छ । हामीले यो प्रणालीबाट जनताले पाउनुपर्ने कुरा पाउँदैनन् भनेर नोट अफ डिसेन्ट लेखेका छौँ ।’
अध्यक्ष प्रचण्डले परिवर्तन स्थापित गर्न, संविधान सभाबाट संविधान बनाउन र यसलाई कार्यान्वयन गर्न मुख्य भूमिका खेल्न पार्टी, नेतृत्व, विचार र प्रवृत्ति हाबी नभएसम्म देशले सुख नपाउने बताए । उनले माओवादी बलियो नभएसम्म उत्पीडित वर्ग, जाती र समुदायले सुख नपाउने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।