चितवन हत्या प्रकरण : अवैध सम्बन्धको आशंकाले श्रीमतीको हत्या

चितवनको भरतपुर महानगरपालिका–१० मा आइतबार राति १० बजे श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरे । हत्यापछि तीन तलाबाट हाम फाल्दा श्रीमानको पनि ज्यान गयो । भरतपुर–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राति करिब साढे १० बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । कृष्णले श्रीमतीको हत्या गर्नुको वास्तविक कारण खुल्न बाँकी छ । 

यद्यपि भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनालका अनुसार परपुरुषसँगको सम्बन्ध भएको आशंकाले कृष्णले श्रीमतीको हत्या गरेका हुन् । कृष्ण ६ वर्षदेखि रोजगारीका लागि साउदीमा थिए । श्रीमतीको अर्कै व्यक्तिसँग अवैध सम्बन्ध भएको आशंकामा उनी नेपाल फर्किएका थिए । 

श्रीमती र घरपरिवारलाई थाहा नदिएर कृष्ण नेपाल फर्किएको वडाध्यक्ष खनालले बताए । ‘कृष्ण रोजगारीका लागि साउदीमा थिए । श्रीमतीको परपुरुषसँग अवैध सम्बन्धको आशंका भएपछि उनी कसैलाई थाहा नदिइ नेपाल आएका रहेछन् । कृष्ण यता फर्किसकेपछि पनि श्रीमान्–श्रीमतीको निरन्तर झगडा भएको देखिन्छ,’ खनालले भने । 

रुष्माले ३० असारमा श्रीमानले घरेलु हिंसा गरेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरहरि अधिकारीले जानकारी दिए । ‘असार ३१ गते उनीहरूबीच छलफल भएको थियो । श्रीमानले यातना दिने गरेको भन्दै रुष्माले प्रहरीमा उजुरी गरेकी थिइन् । असार ३१ गते उनीहरूबीच छलफल भयो । परिवारका सदस्यले मिलाएर राख्छौँ भनेपछि फिर्ता पठाएका थियौँ,’ अधिकारीले भने । 

प्रहरीका अनुसार लगातार झगडा भएपछि उनीहरू सम्बन्धविच्छेदको तयारीमा थिए । यद्यपि रुष्माले सबै सम्पत्ति आफ्नो नाममा भएकाले नदिने भनेपछि कृष्ण तनावमा थिए । 

‘आइतबार राति १० बजे घरमा छोरी र आमासँगै भएको बेला कृष्णले ढोकाको चुकुल लगाएर खुकुरी प्रहार गरेको देखिन्छ । त्यसपछि उनले पनि त्यही कोठाबाट हाम फालेर आत्महत्या गरेको देखियो,’ वडाध्यक्ष खनालले भने । 



खुकुरी प्रहारबाट गम्भीर घाइते भएर उपचारको लागि रुष्मालाई पुरानो मेडिकल कलेज लगिएकोमा आइतबार राति नै १०ः४० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए । केही मिडियामा कृष्णले हाम फालेर भाग्न खोज्दा ज्यान गएको भन्ने आए पनि वास्तविकता त्यस्तो नभएको वडाध्यक्ष खनाल बताउँछन् । 

‘भाग्न खोजेको  देखिँदैन, भाग्न खोजेको भए ढोका खुला नै थियो । ढोकाबाट भाग्न सक्थे । तल्लो तलामा बस्नेले समेत हत्या भएको थाहा पाएका छैनन् । श्रीमतीलाई खुकुरी प्रहार गरेपछि उनले आत्महत्या गरेको देखिन्छ,’ वडाध्यक्ष खनालले भने ।



यद्यपि, प्रहरीले भने हाम फालेर भाग्न खोज्दा गम्भीर घाइते भएपछि कृष्णको ज्यान गएको बताएको छ । गम्भीर घाइते उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले बताए । 

रुष्मा राष्ट्रिय मावि तोरीखेतमा शिक्षण गर्थिन् । आचार्य दम्पतीकी १२ वर्षीया छोरी छन् । छोरी चिच्याउँदै बाहिर निस्केपछि घटना स्थानीयले थाहा पाएका थिए ।  

  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १३:२९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया