बागमतीलाई ‘बालविवाह मुक्त’ प्रदेश बनाउने सरकारको योजना अलपत्र

मकवानपुरको भीमफेदी गाउँपालिका–९ नामटारकी मीना घिसिङ १९ वर्षकी भइन् । उमेरअनुसार अहिले क्याम्पस पढ्ने बेलाकी उनको काखमा ४ वर्षको छोरी छिन् । १४ बर्ष मात्रै लागेकी मीनाको कैलाश गाउँपालिकाको भार्ताका १६ वर्षका खुसीलाल प्रजासँग विवाह  भयो । सामान्य चिनजानकै भरमा उनीहरू वैवाहिक बन्धनमा बाँधिए । 

सानै उमेरमा विवाह गरेको भन्दै मीनाको परिवारले बालविवाहको मुद्दा चलाएर उनीहरूलाई छुटाउने कोशिस भने गरे । तर, विवाह भइसकेपछि छुटाएर माइती फर्काउँदा इज्जत जाने डरले मीनाको परिवारले यो कुरा गुपचुप नै राखे । अन्ततः १४ वर्षकी मीना र १६ वर्षका खुसीलालले बिहे गरे । 
 
१६ वर्ष नलाग्दै मीनाले छोरी जन्माइन् । आफैं बालिका, त्यसमा पनि थपिएको अभिभाराले जीवन कष्टकर त बन्यो । त्यसमा पनि बालविवाहको मुद्दा दर्ता गराएर अर्को अप्ठेरो आइलाग्ला कि भन्ने चिन्ता पनि उत्तिकै । ‘दिनहरू बित्दै गए, छोरीलाई स्कुल पठाउने उमेर पुग्यो । भर्ना गर्न विद्यालय लगेपछि छोरीको जन्म दर्ता मागियो । आफ्नो नागरिकता त बनाउन त पाएको छैन, छोरीको जन्म दर्ता त झन् कहिले पो बनाउनु र?,’ मीनाले भनिन् । 

सानैमा विवाह, किशोरी अवस्थामै आमा अनि नागरिकता समेत बनाउन नपाएको पीडा झेलिरहेकी छन् यतिबेला मीना । उनी त प्रतिनिधि पात्र हुन् । बागमती प्रदेशमा मीना जस्तै सयौं किशोरी आमा बनिसकेका छन् । बालविवाह मुक्त प्रदेश घोषणा गर्ने नीति ल्याइए पनि सफल हुन नसक्दा अहिले पनि प्रदेशका धेरै ठाउँमा समस्या ज्यूँकात्यूँ छन् । 

प्रदेश सरकारको योजना अलपत्र

बागमती प्रदेशलाई २०७८ भित्र बालविवाह मुक्त गर्ने प्रदेश सरकारको लक्ष्य थियो । तर, यो वर्षभित्र सरकारको लक्ष्यले गतिसमेत लिन सकेन । बालविवाह मुक्त प्रदेशको घोषणा कार्य पूरा हुनका लागि १ सय १९ वटै स्थानीय तहमा बालमैत्री पालिका घोषणा गर्नुपर्छ । तर, हालसम्म प्रदेशभर जम्मा पाँचवटा स्थानीय तह मात्रै बालमैत्री पालिका घोषणा भएका सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश सरकारले प्रदेशलाई बालविवाह मुक्त घोषणा गर्ने तयारी गरिरहँदा तथ्यांकअनुसार मकवानपुर बालविवाह धेरै हुने सूचीको पाँचौं स्थानमा पर्छ । प्रदेशमा सबैभन्दा बढी धादिङमा ६२.९ प्रतिशत, नुवाकोटमा ६२.५ प्रतिशत, सिन्धुलीमा ६२.५ प्रतिशत, सिन्धुपाल्चोकमा ६०.९२ प्रतिशत र मकवानपुरमा ५९.७ प्रतिशत बालविवाह भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 



बागमती प्रदेशको काठमाडौं भने सबैभन्दा कम ३९.११ प्रतिशत बालविवाह हुने जिल्लामा छ । बालविवाह मात्र होइन किशोरी अवस्थामै आमा बन्नेको संख्या पनि उत्तिकै रहेको मन्त्रालयले जनाएको छ ।

बालविवाहमा आएन कमी



२० वर्ष नपुग्दै विवाह गर्न नपाइने कानूनी व्यवस्था भएपनि बागमती प्रदेशको धेरै जिल्लामा यसको कार्यान्वयन भएको छैन । सबै क्षेत्रमा प्रभावकारीरूपमा जनचेतना पुग्न नसक्दा अपेक्षाअनुसार बालविवाहका घटनामा कमी आउन नसकेको सरोकारवाला बताउँछन् । मकवानपुरमा सबैभन्दा बढी बालविवाह हुने राक्सिराङ र कैलाश गाउँपालिका हुन् ।

बकैया, मकवानपुरगढी, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपलिकामा बालविवाह निरुत्साहित गर्न विभिन्न संघ संस्थाले अभियान चलाउँदै आएका छन् । बालविवाह हुनबाट उद्धार गरिएका सबै बालिकाले मकवानपुरमा रहेको सिविन बाल हेल्पलाइनमा मनोसामाजिक मनोविमर्श सेवा लिइरहेका छन् । 

सिविन बाल हेल्प लाइनको तथ्यांकअनुसार सन् २०२० मा जिल्लामा ९८ वटा बालविवाह भएको थियो । त्यस्तै, २०२१ मा ६६ र २०२२ को जनवरीदेखि ३ अप्रिलसम्म २६ वटा बालविवाहको घटना दर्ता भएको हेल्पलाइनका कार्यक्रम संयोजक ज्ञवालीले जानकारी दिए ।

बालविवाह बढाउँदै सामाजिक सञ्जाल ! 

जिल्लाको राक्सिराङ, मनहरी, बकैया, भीमफेदीलगायत गाउँपालिकामा बालविवाहका घटना बढी भेटिएका छन् । ती गाउँपालिकामा अभिभावकले विवाह गरिदिने भन्दा आफैं राजीखुसी भागेर विवाह गर्ने धेरै रहेको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बाल हेल्पलाइन मकवानपुरका कार्यक्रम संयोजक झवीन्द्र ज्ञवालीले बताए । ‘सामाजिक सञ्जालको बढ्दो प्रयोग, बीचैमा पढाइ छाड्ने समस्या, बाबुआमाको दबाब आदि कारणले बालविवाह न्यूनीकरण हुन नसकेको देखिन्छ,’ उनले भने, ‘छोरीलाई घरको गराउन बीचमै पढाइ छोड्न लगाउने र गरिबीका कारण पनि बालबिवाह बढ्दै गएको पाइन्छ ।’

सामाजिक संघसंस्थाले रोकिदिएको बालविवाह पनि कतिपय अभिभावकले नै तत्काल पुनः गराइदिने गरेको संयोजक ज्ञवालीले बताए । पछिल्लो समय कोरोना महामारीका कारण विद्यालय बन्द रहँदा अनलाइन कक्षाको लागि मोबाइल र इन्टरनेटको पहुँचमा रहेका बालबालिका पनि बालविवाहको सिकार भइरहेका संयोजक ज्ञवालीले बताए । 

अन्य आर्थिक वर्ष र चालू आर्थिक वर्षको तुलना गर्दा जिल्लामा बालविवाहको संख्या बढ्ने उनको भनाइ छ । ‘साउनदेखि कात्तिकको चौथो दिनसम्म २१ वटा बालविवाहको घटना दर्ता हुनु भनेको पछिल्लो समय धेरै बालबालिका बालविवाहतर्फ केन्द्रित भएको भन्ने बुझ्न सकिन्छ,’ संयोजक ज्ञवालीले भने ।   

  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १४:४९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया