आर्थिक वर्षको सुरुबाटै योजना बनाउन र समयमै सम्पन्न गर्न मुख्यमन्त्री राईको निर्देशन

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताएका छन् । 

बजेटको अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै योजना बनाउन र समयमै सम्पन्न गर्न मुख्यमन्त्री राईले कर्मचारीहरूलाई निर्देशन दिएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भुक्तानी मौज्दात अनुमानभन्दा बढी व्यवस्थापन भएकाले बजेट कार्यान्वयनमा समस्या नहुने बताए । 

उनले प्रदेशस्तरका मन्त्रालय तथा कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नुपर्दा मापदण्ड बनाएर पारदर्शी ढंगले गर्नसमेत निर्देशन दिए । 

कर्मचारीको पूर्ण विश्वासका साथ सरकार सञ्चालन गर्ने आफूहरूको नीति भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले कर्मचारी र सरकारबीचको मित्रवत भावनाबाट समग्र कार्यसम्पादन प्रभावकारी हुने बताए ।  

कार्यक्रममा प्रमुख सचिव विनोदप्रकाश सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश१ सरकारको समग्र नेतृत्व गर्ने निकाय भएकाले यो अरुका लागि उदाहरणीय हुनुपर्ने बताए ।
 
समीक्षा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरूसहित अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १९:२५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया