अन्तरिक्षमा मानिस पठाउँदै भारत, आम नागरिकलाई पनि मिल्नेछ मौका

नयाँ दिल्ली– अन्तरिक्षमा आफ्नो पहिलो ‘मानव मिसन’को सपना पूरा गर्न भारत अहिले तयारी गरिरहेको छ । 

भारतीय अनुसन्धान संगठन (इसरो) ले डिसेम्बर २०२१ मा अन्तरिक्षमा आफ्नो पहिलो मानव मिसन पठाउने भएको हो । उक्त मिसनमा वैज्ञानिकसँगै आम नागरिकलाई पनि यस महत्वाकांक्षी परियोजनाको हिस्सा बन्न पाउने मौका दिने बताइएको छ । 

इसरोका अध्यक्ष डा. के सिवनले बिबिसी बताएअनुसार यस मिसनका लागि छनोट प्रक्रिया भने भारतीय सेनाले गर्नेछ । ‘यस मिसनमा एक आम नागरिकालाई पनि सहभागी गराइनेछ,’ डा. सिवनले भनेका छन् ।  

९ हजार २३ करोडमा बनाइएको मानव अन्तरिक्ष उडान केन्द्रको उद्घाटनपछि डा. सिवन यस मिसनको घोषणा गर्दै थिए । यस उडान केन्द्रले भारतको पहिलो मानव मिसनसँग सम्बन्धित विषयमा आवश्यक तयारी गर्नेछ । 

इसरोले अन्तरिक्षमा तीनजनाको टिम पठाउने तयारी गरिरहेको छ । डा. उन्निकृष्ण नायार यस उडान केन्द्रको प्रमुख चयन भएका छन् । यस्तै, गगनयान परियोजनाका निर्देशक डा. आर हटन हुनेछन् । 



प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए घोषणा 

प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष स्वतन्त्रता दिवसको अवसरमा ‘गगनयान परियोजना’को घोषणा गरेका थिए । 



‘यस वर्ष गगनयान संस्थालाई पहिलो प्राथमिकतामा राखिएको छ । हामी आफ्नो पहिलो मानवरहित मिसनलाई डिसेम्बर २०२० मा पठाउने तयारी गरिरहेका छौँ,’ डा. सिवन भन्छन्, ‘दोस्रो परियोजना जुलाई २०२१ मा पूरा हुनेछ । यी दुईको सफलतापश्चात् डिसेम्बर २०२१ मा मानव मिसनको योजना सम्पन्न गर्छौँ ।’ 

प्रधानमन्त्री मोदीले आफ्नो घोषणामा २०२२ सम्ममा अन्तरिक्षमा मानिस पठाउने बताएका थिए । इसरो भने २०२२ सुरु हुनुअघि नै प्रधानमन्त्रीको घोषणा पूरा गर्न चाहन्छ । 

‘मिसनमा महिला वैज्ञानिकलाई पठाउने इसरोको लक्ष्य हो,’ डा. सिवन भन्छन्, ‘मेरो विचारमा पुरुष र महिला दुवैलाई प्रशिक्षण दिइनेछ ।’

प्रधानमन्त्रीले ‘भाइ’ र ‘बहेन’ दुवै उल्लेख गरेका थिए । इसरोका पूर्वअध्यक्ष एएस किरण कुमारले बिबिसी हिन्दीलाई भनेका छन्, ‘यसका लागि छनोट प्रक्रिया आवश्यक रहनेछ ।’ 

उक्त मिसनमा छनोट र प्रशिक्षणको दुवै प्रक्रिया हुनेछन् । मिसनमा जान चाहनेले आवदेन दिन सक्ने बताइएको छ ।

डा. सिवन भन्छन्, ‘अन्तरिक्ष वैज्ञानिकलाई पहिले भारतमा प्रशिक्षण दिइनेछ । त्यसपछि तिनको एडभान्स ट्रेनिङ त्यो देशमा हुनेछ, जसले पहिले अन्तरिक्षमा मानिस पठाइसकेको छ । मानव मिसनबाट आशा गरिँदै छ कि देशको विभिन्न सेक्टरमा विकास गर्न सहयोग मिल्नेछ ।’ 

किरण कुमारका अनुसार भारतलाई अन्तरिक्षमा मानव मिसन पठाउने श्रेणीमा सहभागी हुन जरुरी छ र भारत यस दिशामा काम गरिरहेको छ । 

यसअघि, २००९ मा योजना आयोगले अन्तरिक्षमा मानव मिसन पठाउने प्रस्ताव राखेको थियो । त्यसपछि, इसरोले यस क्षेत्रमा काम गरिरहेको छ । इसरोले यस क्षेत्रमा धेरैपटक परीक्षणसमेत गरिसकेको छ । 

  • प्रकाशित मिति : माघ ७, २०७५ साेमबार १७:३२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया