कर्णालीमा किन घटेन विद्युत् चुहावट ?

अन्य प्रदेशको तुलनामा कर्णालीमा सबैभन्दा धेरै विद्युत् चुहावट भएको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत चुहावट नियन्त्रण महाशाखाका अनुसार गत आर्थिक वर्षमा मात्र कर्णालीमा १६.८० प्रतिशत विद्युत् चुहावट भएको छ ।

त्यस्तै, प्रदेश–१ मा ११.५०, मधेश प्रदेशमा १३.६७, हेटौंडा डिभिजनमा ५.७५, बागमतीमा ७.३६, गण्डकीमा ८.३५, लुम्बिनीमा ११.९९, नेपालगञ्ज डिभिजनमा १० र सुदूरपश्चिम प्रदेशमा १०.६६ प्रतिशत विद्युत् चुहावट भएको प्राधिकरणले जनाएको छ । यो वर्षको वैशाखमा मात्र कर्णालीमा २० दशमलव ७५ प्रतिशत विद्युत् चुहावट भएको देखिन्छ ।

कर्णालीमा आपूर्ति भएको विद्युत् पाँच स्थानबाट वितरण भइरहेको छ । प्रदेशमा रुकुम पश्चिम, सुर्खेत, जाजरकोट, दैलेख र सल्यान गरी पाँच स्थानबाट विद्युत् वितरण भइरहेको हो । जसमध्ये रुकुम पश्चिम क्षेत्रमा सबैभन्दा बढी विद्युत् चुहावट भएको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीमा ६ करोड युनिट विद्युत् आपूर्ति भएको थियो । जसमध्ये १६.८० प्रतिशत विद्युत् चुहावट भयो । प्राधिकरणले कर्णालीका लागि वैशाख २०७९ सम्म ६ करोड ७० लाख २१ हजार ६ सय ५६ युनिट आपूर्ति गरेको थियो । जसमध्ये पाँच करोड ५७ लाख ६१ हजार ५ सय ९३ युनिट बिजुली खपत भएको प्राधिकरणले जनाएको छ ।

बाँकी १ करोड १२ लाख ६० हजार ६३ युनिट बिजुली चुहावट भएको हो । नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैर–प्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट झिनो सुधार मात्र गरेको छ । प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ ।

२०७८ वैशाखसम्म कर्णालीमा १६ दशमलव ८१ प्रतिशत विद्युत् चुहावट भएको थियो । २०७९ वैशाखसम्ममा १६ दशमलव ८० प्रतिशत विद्युत् चुहावट भएको प्राधिकरणले जनाएको छ । सो अवधिमा रुकुम पश्चिममा आपूर्ति भएकोमध्ये २० दशमलव ०३ प्रतिशत विद्युत् चुहावट छ । 



त्यस्तै, सुर्खेतमा १७.९१, जाजरकोटमा १४.९७, दैलेखमा १२.६७ र सल्यानमा १०.२८ प्रतिशत विद्युत् चुहावट हुने गरेको प्राधिकरणले जनाएको छ । २०७८ वैशाखसम्म रुकुम पश्चिममा २९.३१, सुर्खेतमा १६.६३, जाजरकोटमा १२.५३, दैलेखमा १४.८९ र सल्यानमा १३.३३ प्रतिशत विद्युत् चुहावट थियो ।

कर्णालीमा अहिले १ सय ३२ केभिए विद्युत् प्रसारण लाइनको काम भइरहेको छ । हाल ३२ केभिए प्रसारण लाइनमार्फतको विद्युत् कर्णालीमा खपत भइरहेको हो । यस अवस्थामा कोहलपुरदेखि कालीकोटसम्म विद्युत् पुग्दा चुहावटको मात्रा बढेको प्राधिकरणका कर्णाली प्रदेश प्रमुख शम्भुकुसियत यादवले बताए ।



‘१६ प्रतिशत विद्युत् चुहावटलाई विद्युत् चोरीका रूपमा बुझ्न मिल्दैन । प्रसारणका क्रममा टाढासम्म पुग्दा विद्युतमा चुहावट आउने हुन्छ, त्यो सबै जोडिएर आएको तथ्यांक हो । त्यसमा विद्युत् चोरी पनि समावेश भएको होला,’ यादवले भने ।

कोहलपुरबाट आएको विद्युतले कर्णालीमा ४ सय किलोमिटर दूरी तय गर्ने गरेको उनी बताउँछन् । जसकारण विद्युत् चुहावट भइरहेको यादवले बताए । 

  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार १०:१३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया