राष्ट्रिय खेलकुदको नाममा व्यापक अनियमितता भएको आशंका छ : नेपाल खेलकुद महासंघ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघ (नेकोस) ले नेपाली खेलकुदमा व्यापक अनियमितता भइरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ । संघले राष्ट्रिय खेलकुद परिषद् ( राखेप) को आयोजनामा गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यापक अनियमिता भएको आशंका गरेको हो ।
 
संघको केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा नेकोसका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले राष्ट्रिय खेलकुदका नाममा व्यापक अनियमिता भइरहेको शंका उब्जिएको बताएका हुन् ।

‘देशकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता आयोजना हुँदै छ तर यसका लागि राखेपले सरोकारवाला निकायसँगै कुनै छलफल गरेको छैन’, बस्नेतले भने, ‘राखेपको यस्तो रबैयाले कतै खेलकुदका नाममा अनियमितता भइरहेको छैन भन्ने शंका उब्जाएको छ ।’

उनले अगाडि थपे, ‘राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि गठन गरेको समिति, उपसमितिहरूमा पनि खेलकुदसँग सम्बन्धित भन्दा पनि राखेप सदस्य सचिव र युवा तथा खेलकुद मन्त्रीनिकट व्यक्ति बढी छन् । राखेप बोर्ड सदस्यलाई समेत बाहिर राखिएको छ ।’  

बस्नेतले हरेक निर्णयमा सदस्य सचिव र  मन्त्रीको एकलौटी तरिकाले काम गरिरहेको पनि आरोप लगाए । ‘हामी जस्ता खेलकुदको क्षेत्रमा सरोकार राख्ने संघ–संस्था, खेलकुदका अग्रजलगायत कसैसँग पनि छलफल गरिएको छैन । हरेक निर्णयमा सदस्य सचिव र  मन्त्रीको एकलौटी चलेको देखिन्छ, यसले पनि अनियमिता भएको हुन सक्ने शंका पैदा भएको हो,’ उनले भने ।

राखेपको गम्भीर लापरबाहीका कारण निरुत्साहित हुने अवस्था आएको पनि बस्नेतले बताए । ‘यो त प्रतियोगिता आयोजना गरेर बजेट सक्काउने मात्र होला जस्तो देखिएको छ । नवौँ राष्ट्रिय खेलकुदको मिति नजिकिँदै गर्दा राखेपले सरोकारवाला निकायलाई बेवास्ता गर्नु निकै ठूलो त्रुटि हो । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘सदस्य सचिव र मन्त्रीको एकलौटीले राष्ट्रको खेलकुदलाई कुनै फाइदा गर्दैन । यो त प्रतियोगिता आयोजना गर्ने र बजेट सक्काउने मात्र हुने देखिएको छ । आफ्ना मान्छे मात्र राख्दा पारदर्शिता देखिँदैन । यसले पनि शंका गर्ने ठाउँ दिएको छ । यसले त खेल क्षेत्रलाई भन्दा पनि राखेप सदस्य सचिव र मन्त्रीका आसेपासेलाई मात्र फाइदा पुग्ने छ ।’   

उनले अगाडि थपे, ‘हामीले खेलसँग सरोकार राख्ने विभिन्न संघ/संस्था, खेलकुदमै जिवन बेथिति गरेका अग्रज लगायतलाई समेटेर सर्वपक्षीय छलफल गुर्नपर्ने माग राखेका छौँ ।’  



त्यस्तै, सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले पनि नवौं राष्ट्रिय खेलकुदका लागि बनेको समिति, उपसमितिमा राखेप र  युवा तथा खेलकुद मन्त्रालयले आफूलाई वेवास्ता गरेको भन्दै गम्भीर ध्यानकर्षण भएको बताएको छ ।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी २८ असोजदेखि ३ कात्तिकसम्म आयोजना हुँदैछ । जसमा सात प्रदेश, तीन विभागीय र एनआरएनए गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 



नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ । यस्तै, दुई प्रदर्शनी खेल आयोजना गरिनेछ । एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्ताक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङलाई प्रतियोगितामा समावेश गरिएको छ । त्यस्तै ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रूपमा रहने छन् ।  

  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार १३:५३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया