मौद्रिक नीतिपछि लगातार दुई दिन बढेको शेयर बजारमा मंगलबार उच्च अंकले गिरावट आएको छ ।
मंगलबार नेप्से परिसूचक ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.९९ अंकले घटेको छ भने फ्लोटइण्डेक्स ३.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३२ अंक घटेको छ ।
मंगलबार कारोबारमा आएका २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर ९९ लाख ४४ हजार ४८ कित्ता शेयर ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ४ अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
नेप्सेका १३ वटै उपसमूहको सूचकमा गिरावट आएको छ । जसमा विकास बैंक, फाइनान्स, होटल, लगानी, माइक्रोफाइनान्स, व्यापार र अन्य उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ । अन्य बाँकी सबै उपसमूहको सूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
नेप्सेमा गिरावट आए पनि मल्टिपर्पस फाइनान्सको सेयरमूल्य ९.३२ प्रतिशतले बढेको छ भने सूर्योदय वमी लघुवित्तको ६.७२ प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको ६.१९ प्रतिशत र समृद्धि फाइनान्सको ३.२३ प्रतिशतले बढेको छ । यता गणपति लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.८२ प्रतिशतले घटेको छ ।
मंगलबार पनि शिवम् सिमेन्टको सबैभन्दा धेरै १९ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अरुण काबेली हाइड्रोपावरको १५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।