शून्य समय : सांसदले उठाए सम्पत्ति शुद्धीकरणदेखि प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणसम्मका विषय
फाइल तस्वीर

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापाले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको तर यो पटक कालोसूचीमा पर्नसक्ने अवस्था रहेको बताएका हुन् ।  

उनले नेपाललाई सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न नदिन सरकारले के-के काम गरिरहेको छ त्यसबारेमा संसदलाई जानकारी गराउनुपर्ने माग गरे । 

थापाले सम्पत्ति शुद्धीकरणसम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल संसदमा जानकारी गराउनु पनि माग गरे । उनले नेपालमा सम्पती शुद्धीकरणसम्बन्धी पर्याप्त कानून नबनिसकेको, बनेको कानूनको पनि प्रभावकारी रुपमा कार्यान्वयन नभएको, व्यापक कर छली, बढ्दो भ्रष्टाचार र आपराधिकरणको कारणले गर्दा हाम्रो हाम्रो समस्टिगत मूल्यांकन अति जोखिमपूर्ण अवस्थामा भएको विज्ञहरूले बताइरहेका पनि बताए । 

थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा परेमा विप्रेषण र आयातमा निर्भर नेपालको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने र एलसी खोल्न नपाइने दाबी गरे ।

'कालोसूचीमा पर्ने सम्भावना बढ्दै गएको हो भने कालोसूचीमा पर्न नदिन सरकारले केके गरिरहेको छ । अबिलम्ब संसदलाई सरकारले जानकारी दिन आग्रह गर्दछु’ उनले भने ।



त्यस्तै, प्रतिनिधि सभा सदस्य अञ्जना विशुङ्खे अस्ट्रेलियामा हुन थालेको आइपीएसको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली सेनाका प्रधानसेनापतिलाई कुन हैसियतमा पठाउन लागेको भन्दै सरकारसँग जवाफ माग गरिन् । 

उनले सरकारले एमसीसी आइपीसको सदस्य अंग नभएको भन्दै नेपालको संसदबाट एमसीसी पास गर्ने अनि त्यी आइपीसको सम्मेलनमा सेनापति सहभागिको लागि पठाएर सरकारले नेपालको असंग्लन परराष्ट्र नीति मिचेको आरोप लगाइन् ।



उनले भनिन्, ‘सरकारले नेपाली सेनाका प्रधानसेनापतिलाई आइपीएसको सम्मेलन कुन हैसियतले सहभागिता जनाउन पठायो । यसको जवाफ सभामुखमार्फत सरकारसँग माग गर्दछु । सरकारले नेपालको असंग्लन परराष्ट्र नीति मिच्न पाइँदैन । सरकारले यो नीतिलाई बेवास्ता गर्न थालियो भने नेपालको राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता विखण्डित हुनेछ ।’

त्यस्तै, सांसद अमृता थापाले सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गर्ने तर यही साउन ९ गतेदेखि ११ गतेसम्म अस्ट्रेलियामा हुने इमल चिप अफ कन्फेन्समा भाग लिन जाने प्रधानसेनापतिको भ्रमण मन्त्रिपरिषद्बाट भइरहेको कुरा साँचो भए तत्काल सच्याउन माग गरिन् ।

उनले भनिन्,‘भर्खर मात्रै नेपाल सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गर्‍यो । तर यही साउन ९ गते देखि ११ गतेसम्म अष्ट्रेलियामा हुने इमल चिप अफ कन्फ्रेन्समा भाग लिन जाने प्रधानसेनापतिको भ्रमण मन्त्रीपरिषद्बाट भइरहेको कुरा साँचो हो । साँचो हो भने नेपालको परराष्ट्र नीति अनुसार सरकारको निर्णय सच्याउन आग्रह गर्दछु ।’

त्यस्तै, प्रतिनिधिसभा सदस्य इन्दुकुमारी शर्माले नेपालमा ५ लाख भन्दा धेरै मानिसहरु गैरकानूनी कारोबार क्रिप्टोकरेन्सीमा संलग्न भएको भन्दै तत्काल क्रिप्टोकरेन्सी कारोबार करको दायरा वा नियन्त्रण गर्न माग गरिन् । उनले पछिल्लो समय बैंकमा पैसाको अभाव देखिनु, शेयर बजार धरासायी हुँदै जानुमा क्रिप्टोकरेन्सी प्रमुख कारण रहेको दाबी गरिन् ।

उनले भनिन्, ‘बैंकमा पैसाको अभाव देखिनु शेयर बजार धरासायी हुँदै जानुमा क्रिप्टोकरेन्सी प्रमुख कारण रहेको छ । क्रिप्टोकरेन्सीलाई करको दायरामा ल्याएर नियन्त्रण गर्न सरकारसँग माग गर्दछु ।’

त्यस्तै, सांसद कलिला खातुनले गण्डकी प्रदेश सरकारले सबै प्रकारका सवारी साधनको कर अत्याधिक बढाएको भन्दै संघीय सरकारले नियन्त्रण गर्न माग गरिन् ।

उनले भनिन्, ‘गण्डकी प्रदेशमा सवारी साधनहरुको कर बढाउने आतंक बढेको छ । सबै प्रकारका सवारी साधनको कर वृद्धि भएको छ । संघीय सरकारले प्रदेश सरकारले सवारी साधनमा बढाएको कर रोक्न आग्रह गर्दछु ।’

त्यस्तै, सांसद कृष्णप्रसाद दाहालले काठमाडौंमा सप्लाई सहज बनाउन कान्तिपथ राजमार्गको मर्मत तत्काल गरी सवारी गुड्न योग्य बनाउन सरकारसँग माग गरे । उनले विगत लामो समयदेखि काठमाडौंको सप्लाई सहज बनाउने बैकल्पिक मार्ग बनाउने योजना अहिलेसम्म सम्पन्न हुन नसकेको बताए ।

त्यस्तै, अर्का सांसद केदार सिग्देलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ठिक चार वर्ष पुगेको भन्दै वर्तमान सरकार एक वर्षसम्म चुप लागेर बसेको बताए । उनले सत्तापक्ष भन्दा बाहिर हुँदा संसद नै हल्लाएर बोल्ने सांसदहरु समेत अहिले चुप बस्न थालेको आरोप लगाए । 

उनले देउवा सरकारले एक वर्षमा निर्मलाको हत्याका विषयमा अपराधी खोज्न गरेका काम बाहिर ल्याउन आग्रह गरे । सांसद सिग्देलले सरकारले तत्काल अपराधी पत्ता लगाएर कारबाही गर्न माग गरे ।

त्यस्तै, सांसद खगराज अधिकारीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बढुवामा र बढुवा सिफारिसमा परिवारवादको दुर्गन्धित बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले अब अति भएको भन्दै ऐन बनाउन र विधि र पद्धतिको पालना गर्न आग्रह गरे । अधिकारीले सरकारले महँगी नियन्त्रण गर्न नसकेर जनताको जीवनमा खेलवाड गरेको बताए ।

त्यस्तै, सांसद गंगा चौधरीले नागरिकता विधेयक पास गर्ने सत्तापक्षका सबै सांसदहरुको अनुहारमा लेण्डुप दोर्जेको छायाँ देखिन थालेको बताइन् । उनले पत्ता पक्षका सांसदहरुलाई लेण्डुप दोर्जेको संज्ञा दिइन् । 

चौधरीले भारतमा इन्दिरा गान्धीले सिकिम भारतसँग विलय नहुँदा समेत लेण्डुप दोर्जेलाई रातो कार्पेटमा स्वागत गर्ने गरेको भन्दै अहिले नेपालका नेतालाई डिल्लीले रातो कार्पेटमा स्वागत गरिरहेको बताइन् ।

सांसद चौधरीले एक वर्षसम्म सरकारले निर्मला पन्तको विषयमा मौन बसको भन्दै सरकारले हत्यारा पता लगाएको भए कुन कारागारमा राखिएको गृहमन्त्रीले जवाफ दिन माग गरिन् ।

  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार १६:२९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया