तीन सरकारबीच समन्वय नहुँदा व्यवस्थामाथि प्रश्न

सुदूरपश्चिमका प्रदेशका स्थानीय र प्रदेशका सांसदले तीन सरकारबीच समन्वय नहुँदा अहिलेको व्यवस्थामाथि नै प्रश्न उठेको बताएका छन् । पाँच वर्षको अनुभव हेर्दा तीन सरकार बीच समन्वयको कमीले गर्दा राज्य व्यवस्थामाथि प्रश्न उठेको गाउँपालिका महासंघले मंगलबार धनगढीमा आयोजना गरेको अन्तर्क्रियामा सहभागि जनप्रतिनिधिले बताएका हुन् ।
  
जनताका अपेक्षा धेरै हुँदा समस्या हुने गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । ‘जनताका अपेक्षा धेरै हुन्छन् । स्रोतसाधन सीमित हुन्छन्’, उनले भने, ‘त्यसले गर्दा समस्या हुने गरेको छ ।’ 

उनले तीन तहको सरकारका अधिकारले पनि समस्या ल्याउने गरेको बताए । तीन तहकै सरकारबीच विधिअनुसार काम भएमा समस्या नहुने उनको तर्क रहेको छ । अन्तरसमन्वय समितिको बैठक एकपटक मात्र बस्ने सकेको मुख्यमन्त्री भट्टले बताए । ‘तीन तहको सरकारलाई शिक्षाको अधिकार दिएको छ,’ उनले भने, ‘तर तल्लो तहमा कार्यान्वयन गर्ने कार्यालय नहुँदा समस्या हुने गरेका देखियो ।’
 
कार्यक्रमका सहभागीहरुले स्थानीय तहले यो ५ वर्षको अवधिमा विकास निर्माणका कामहरु के गरे र के गर्न सकेन भन्ने विषयको समीक्षा गर्ने वेला भएको बताए । सहभागीले पालिकामा नागरिकले अपेक्षा गरेअनुसारका काम गर्न नसकेको बताउँदै स्थानीय तहमा काम गर्न धेरै चुनौती पनि भएको बताए ।
 
प्रदेश सरकारको योजना छनोटले गर्दा अहिलेको व्यवस्थामाथि प्रश्न उठेको बाजुराको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । उनले यस्तै अवस्था रहेमा प्रदेश सरकार र जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । यस्तै, स्थानीय सरकारसँग प्रदेश र संघीय सरकारको व्यवहार संकुचित भएको अजयमेरु गाउँपालिका डडेल्धुराका अध्यक्ष उमेश भट्टले बताए । 

प्रदेश र संघीय सरकारले दिने योजनाहरुको स्थानीय सरकारलाई कार्यान्वयनको अधिकार दिनुपर्ने उनको भनाइ रहेको छ । कार्यक्रममा टीकापुर नगरपालिका मेयर रामलाल डगौरा थारुले अहिले पनि प्रदेश र संघीय सरकारले पहुँचकै आधारमा योजना छनोट गर्ने गरेको बताए । यस्तै अवस्थाले गर्दा अहिलेको राज्य व्यवस्थामाथि प्रश्न उठ्ने गरेको उनको धारणा रहेको छ । स्थानीय तह आइसकेपश्चात् स्थानीयस्तरमा धेरै विकास भएको अनुभव पनि गरिएको सहभागीले बताए । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सांसद लालबहादुर खड्काले पनि नीतिभित्र रहेर काम गर्न नसक्दा अहिलेको व्यवस्थामाथि प्रश्न उठ्ने गरेको बताए । तीन तहको सरकार बीच समन्वय नभएको उनले पनि दोहोर्याए । कार्यक्रमका अर्का सहभागी प्रदेश सांसद भरत खड्काले पनि अहिलेको व्यवस्था चाहिँदैन भन्नु भन्दा पनि थप व्यवस्थित बनाएर लैजानुपर्नेमा जोड दिए ।

संविधान, संघ प्रदेशले स्थानीय तहबीच अन्तरसमन्वय र अन्तरसम्बन्ध कायम गर्नको लागि विभिन्न संस्थागत संरचनाहरु गरेको गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले बताए । 

तिनै तहको संरचना प्रभावकारी बनाउनको लागि सहज होस भन्ने उद्देश्यले गाउँपालिका राष्ट्रिय महासंघले एउटा अध्ययन गरेको बताउँदै यी संरचना क्रियाशील गराउनको लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको ध्यानार्कषण गराएको उनको भनाइ छ ।
 
प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उप–प्रमुखहरुको सहभागिता थियो ।





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार १८:३३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया