बेझाड– पाल्पाको रामपुरमा भएकोे अन्तर्राष्ट्रिय इण्डो नेपाल खुला पुरुष भलिबल खेलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
फाइनल खेलमा चापाकोट नगरपालिका स्याङ्जालाई ३–२ सेटले पराजित गर्दै आर्मी क्लबले उपाधि हात पारेको हो । यससँगै चापाकोट द्वितीय स्थानमा सीमित भएको छ ।
फाइनल खेलको लगातार पहिलो र दोस्रो सेट २५ र १३, २५ र १८ अङ्कसहित आर्मीले जितेको थियो । तेस्रो र चौथो सेट चापाकोटले २५ र २१, २५ र २२ अङ्कका साथ हात पार्दै खेल बराबरीमा पुर्याएको थियो । निर्णायकका रुपमा रहेको पाँचौँ सेट त्रिभुवन आर्मी क्लबले १५ र ७ अङ्कसहित हात पार्दै उपाधि चुमेको हो ।
त्यस्तै इण्डियन रेलवेजले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई पछि पार्दै तृतिय स्थान हासिल गरेको छ ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने समूहलाई क्रमशः नगद एक लाख ५० हजार, एक लाख र ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे थियाे।
उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा भएको दोस्रो रामपुर महोत्सवका अवसरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा भारतका एक र नेपालका पाँच गरी छ समूहको सहभागिता थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।