गौरव थापा भन्छन्- एन्फाभित्र संगठित रुपमा गरिएको षडयन्त्रमा मेरो नाम जोडिनु दुःखद

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापाले एन्फाभित्र संगठित रुपमा गरिएको षडयन्त्रमा आफ्नो नाम जोडिनु आश्चर्यजनक र दुःखद रहेको प्रतिक्रिया दिएका छन् । 

६ असारमा कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गर्दै निर्वाचित भएका पंकजविक्रम नेम्बाङ समूहले आफूप्रति गरेको षडयन्त्रको ध्यानाकर्षण भएको, सो समूहले आफूप्रति नकारात्मक, भ्रामक र प्रायोजित खबरहरु सम्प्रेषण गरेको गौरवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पछिल्लो समय गौरव थापालाई एन्फाको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नियुक्ति गर्ने तयारी गरेको थियो । तर, चुनावी भागबण्डा र आफ्नो स्वार्थ मिसिएपछि गौरवलाई नियुक्त गरिएको छैन । सोही, कारण एन्फाको पहिलो आधिकारीक बैठकसमेत बस्न सकेको छैन । १८ एजेन्डासहित गत ५ साउनमा बसेको एन्फाको बैठक एजेन्डामा प्रवेश गर्न नपाउँदै स्थगित भएको थियो । 

विवाद बढेपछि पहिलो पटक विज्ञप्ति निकाल्दै थापाले आफू फुटबलको व्यावसायिक व्यक्ति भएको र नेपाली फुटबलका लागि आवश्यक पर्दा आफ्नो क्षमताअनुसार योगदान गर्न कहिल्यै पछि नपर्ने बताएका छन् ।  

यस्तै, उनले फिफा, एएफसी र एन्फामा कुनै समस्या नभए पनि केही स्वार्थी मानिसहरुले निश्चित मिडियालाई गलत सूचना दिएर विवाद सिर्जना गरेको बताएका छन् । यस्तै, उनले फिफा र एएफसीका विषयमा गलत सूचना दिने र झुठो बोलेर नेपाली फुटबललाई बन्धक बनाउने प्रयास कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने बताएका छन् । 


यस्तो छ गौरव थापाको पूर्ण विज्ञप्तीः 



एन्फाको पछिल्ला घटनाक्रममाथि मेरो भनाई

आफ्ना व्यक्तिगत फाइदाको घेरामा रुमल्लिइरहेका केही स्वार्थी मानिसहरुले लगातार गलत सुचनाहरुमार्फत अफवाह फैलाइरहेकाले दुःखका साथ सामाजिक सञ्जालमा मैले केही विषयमा स्पष्ट पारिरहनुपरेको छ ।



पछिल्ला दिनहरुमा यदी मलाई एन्फामा नियुक्त गरिएमा फिफा र एएफसीले अस्विकार गर्छ भन्ने जस्ता नकारात्मक, भ्रामक र प्रायोजित खबरहरु नियमित रुपमा प्रवाह गरिइरहेकोमा मेरो ध्यानाकर्षण भएको छ । यो सफेद झुठ र प्रायोजित रुपमा चलाइएको प्रपोगण्डा मात्र हो । वर्तमान अध्यक्ष, महासचिव र अन्तर्राष्ट्रिय विभाग प्रमूखले गत महिना फिफा र एएफसीमा पटक पटक सम्पर्क गरेर यो विषयमा स्पष्टता खोजेको मेरो जानकारीमा आइसकेको छ । उहाँहरु सबैलाई मेरो नियुक्तिमा फिफा र एएफसीलाई कुनै समस्या नरहेको प्रष्ट पारिइसकेको छ । खासगरी महासचिवलाई त फोन, म्यासेज र प्रत्यक्ष भेटघाटको बेला पनि यो विषयमा प्रष्ट पारिइसकेको छ । महासचिव साफको बैठकका लागि बंगलादेश जाँदा एएफसीका केही अधिकारीहरुसँग भेट भएको थियो । त्यहाँ उहाँलाई यो विषयले कुनै फरक नपार्ने स्पष्ट जानकारी गराइएको थियो ।

फुटबल प्रेमीहरुको जानकारीका लागि मैले २०१३ देखि २०१८ को बीचमा पटक पटक एन्फामा काम गरिसकेको छु । सबभन्दा पछिलो पटक २०१७ मा श्री नरेन्द्र श्रेष्ठ अध्यक्ष हुँदा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको रुपमा काम गरेको थिएँ । त्यो समयमा मैले फिफा र एएफसीको म्याच कमिस्नरको काम पनि गरेको थिएँ । त्यही समयमा मैले एएफसी फुटबल एड्मिनिस्ट्रेसन सर्टिफिकेट कोर्स पनि गरेको छु । यो कोर्स एएफसीले विशेषगरी सदस्य संस्थामा भविश्यमा व्यवस्थापनको सिनियर पदमा रहेर काम गर्न सक्षम जनशक्ति उत्पादनको उद्देश्यसहित तयार गरेको हो । वर्तमान अध्यक्ष र महासचिव मैले एन्फामा काम गरेको त्यो समयमा कार्यसमितिको सदस्य र उप महासचिव हुनुहुन्थ्यो भन्ने कुरा यहाँ स्मरण गर्नु किन पनि जरुरी हुन्छ भने उहाँहरुलाई त्योबेला कुनै समस्या नभएको प्रत्यक्ष जानकारी छ । मैले एन्फामा काम गर्दाका अनगिन्ती उदाहरणमध्ये एउटालाई प्रतिनिधिमुलक प्रशंगका रुपमा यहाँ उल्लेख गर्न चाहन्छु । २०१७ मा एएफसीका अध्यक्ष र एएफसीका महासचिव नेपाल भ्रमणमा आउँदा म अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख थिएँ । म त्यो हैसियतमा एएफसी र एन्फा प्रतिनिधिहरुका बीच भएका सबै छलफलमा सहभागी भएको थिएँ ।

त्यसपछि श्री कर्मा छिरिङ शेर्पाले २०१८ मा चुनाव जित्दा पनि म एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पदमै थिएँ । निर्वाचनबाट आएको नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई असहज हुन सक्ने ठानेर चुनावको भोलिपल्टै राजीनामा गरेको थिएँ । नयाँ नेतृत्वले मप्रति अगाध विश्वास देखाउनाका साथै एन्फा नछोड्न अनुरोध गरे पनि मेरो राजीनामा एन्फा प्रशासनमा आएको परिवर्तनलाई सहज बनाउनका लागि थियो ।

मैले एन्फामा काम गरेको समयमा कुनै समस्या आएको थियो ? वा उनीहरुले अहिले प्रस्तुत गरिरहेको दूर्भावनापूर्ण एजेन्डामा बल पुग्ने कुनै घटना भएको थियो ? यस्ता अनर्गल र हावादारी कुरा गरेर कसैको व्यक्तित्वमाथि धावा बोल्न खोज्दा उनीहरुले यस्ता प्रश्नको उत्तर दिन सक्नुपर्छ । अहिले केही स्वार्थी मानिसहरुले स्थापित गर्न खोजेको भाश्यमा न कुनै तर्क छ, न सत्यता नै । फिफा र एएफसीलाई अमान्य हुने गरि मैले एन्फामा कुनै पनि भुमिका चाहेको छैन । मैले कहिल्यै पनि एन्फामा कुनै पदका लागि कसैलाई अनुरोध वा दबाब दिएको छैन । बरु वर्तमान अध्यक्ष र महासचिवले नै उहाँहरुलाई सहयोग गर्न भनेर मेरो नाम प्रस्ताब गर्नुभएको हो । वर्तमान अध्यक्ष, महासचिव र कार्यसमितिका पदाधिकारी र सदस्यहरुसँग मेरो थुप्रै पटक यस विषयमा छलफल भएको छ । उहाँहरुले प्रत्येक पटक बजारमा प्रचार गरिएजस्तो कुनै समस्या नरहेको बताउँदै आउनुभएको छ ।

नेपाली फुटबलको विनास चाहने एउटा समूहले संगठित रुपमा गरिरहेको षडयन्त्र दूर्भाग्यपूर्ण छ । अझ त्यसमा मेरो नाम समेत जोडिनु झनै आश्चर्यजनक र दुःखद छ । म फेरि पनि प्रष्ट पार्न चाहन्छु की, यस्तो फोहोरी राजनीतिमा मेरो हिजो पनि कुनै संलग्नता थिएन, अहिले पनि छैन । म फुटबलको एउटा व्यावसायिक व्यक्ति हुँ । त्यसैले फोहोरी राजनीतिको हिस्सा बनेर आउने कुनै पनि पद मलाई स्विकार्य हुने छैन । तर नेपाली फुटबलका लागि आवश्यक पर्दा आफ्नो क्षमताअनुसार योगदान गर्न कहिल्यै पछि पर्ने छैन ।

फिफा, एएफसी र एन्फामा कुनै समस्या नभए पनि केही स्वार्थी मानिसहरुले निश्चित मिडियालाई गलत सुचना दिएर विवाद सिर्जना गर्दै नेपाली फुटबललाई अप्ठेरोमा पार्ने काम गरिरहेका छन् । फिफा र एएफसीका विषयमा गलत सुचना दिने र झुठो बोलेर नेपाली फुटबललाई बन्धक बनाउने प्रयास कुनै पनि हालतमा स्विकार्य हुन सक्दैन ।

एन्फामा अहिले तत्काल पार लगाउनुपर्ने थुप्रै चुनौतीहरु छन् । एन्फाले गर्नुपर्ने कामको प्राथमिकतामा म पर्दिन भन्ने मलाई राम्रो जानकारी छ । त्यसकारण अध्यक्ष र महासचिव ज्युलाई यस्ता विषयमा मुल्यवान समय र एन्फाको स्रोत नखर्चन तथा नेपाली फुटबललाई ट्रयाकमा फर्काउन गरिहाल्नुपर्ने अन्य काममा ध्यान दिन अनुरोध गर्न चाहन्छु ।

  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १२:२९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया