एसिडपीडित विन्दवासिनीको गुनासो : दशक अघिको घटना सरकारले बिर्सियो, क्षतिपूर्ति हरायो
फरकधार / ११ साउन, २०७९

हेटौंडाकी बिन्दबासिनी कंसाकार एसिड आक्रमण पीडित हुन् । एसिड आक्रमण भएको झन्डै दशक बित्नै लाग्दा पनि कंसाकारले सरकारले दिने भनेको क्षतिपूर्ति पाउन सकेकी छैनन् । ९ वर्ष पहिले एसिड आक्रमणमा परेकी कंसाकार अझै पनि सरकारले सहयोग गर्ने आशामा छन् । 



तर, एसिड पीडितको पीडा सरकारले अझै पनि सुन्न नसकेको उनको गुनासो छ । लगभग ३ वर्ष अघि जिल्ला अदालत मकवानपुरको फैसला अनुसार उपचारमा खर्च भएको क्षतिपूर्ति स्वरूप सरकारले राज्य कोष अनुसारको रकम क्षतिपूर्ति दिने निर्णय गरेको थियो । तर, हालसम्म पनि क्षतिपूर्ति नपाएको कंसाकारको भनाई छ ।

एसिडले पोलिएको छालाको उपचार गर्नको लागि अदालतमा सोही समयमा उपचारको लागि खर्च भएको १ करोड १४ लाख ८५ हजार रुपैयाँ खर्चको बील समेत पेस गरेकी उनलाई राज्यले १ रुपैयाँ पनि क्षतिपूर्ति नदिएको उनको गुनासो छ । सरकारले एसिड पीडितलाई उपचारको लागि भनेर दिने घोषणा गरिएको राहत रकम नपाउँदा दुख लागेको उनी बताउँछन्।



एसिड छ्यापेर भारतीय नागरिक दीलिपराज केशरी फरार भए । उक्त एसिडका कारण अनुहार मात्रै नभई जिन्दगी नै बिग्रेपछि न्यायको पर्खाइमा रहेकी विन्दवासिनीको घाउको दुखाई निको हुन लामो समय लाग्यो । तर, एसिड छ्याप्ने केशरीलाई प्रक्राउ गरेर कानुनको दायरामा उभाइएपछि भने भित्री मनको पीडा थोरै हलुङ्गो भएको कंसाकारको भनाइ छ । 



नियम बनाउने तर कार्यान्वयनमा ध्यान नदिने सरकारप्रति मन दुखेको बताउँदै कंसाकारले भनिन्, ‘उपचारको लागि करोडौँ रुपैयाँ खर्च गर्दा समेत सरकारबाट १ रुपैयाँ पनि सहयोग प्राप्त हुन सकेको छैन । एसिड पीडितको न्यायको लागि बोलेका बाचाहरू पूरा भइदिए हामी जस्ता पीडितहरुलाई आत्मविश्वास थप बढ्न सक्छ । जीवन जिउन थप ऊर्जा मिल्छ । यस विषयमा सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।’

यसरी घटेको थियो घटना

सानैदेखि आफ्नो बुवाको व्यवसायमा रुचि राख्ने उनी ९ वर्ष पहिले आफ्नै पसलमा बसिरहेकी थिइन् । उनको बुवाको आफ्नै घरमा भाँडाकुँडाको व्यवसाय छ । कक्षा १२ मा अध्ययनरत उनी फुर्सदको समयमा बुवासँगै पसलमा हुन्थिन् । २० वर्षको उमेरकी कंसाकारको आफ्नै पसलमा बसिरहेकै अवस्थामा उनीमाथि २०७० वैशाख ९ गते एसिड आक्रमण भयो । 

फुपूका छोराको मिल्ने साथीको रूपमा परिचय भएको भारतीय नागरिक दीलिपराज केशरीसँग विन्दवासिनीको पहिलो भेट उनै फुपूको छोराको विवाहमा भएको थियो । त्यसपछि कहिलेकाहीँ भेट भइरहने केशरी फुपूको घरमा बारम्बार आइरहने उनी बताउँछिन् । 

केटीहरूसँग बढी नजिकिन खोज्ने स्वभावको केशरी त्यसपछि हेटौंडाको मेन रोडमा अवस्थित विन्दवासिनीको पसलमा पनि आउन थाल्यो । कलेज जाँदा, ट्युसन जाँदा पनि बाटो ढुकेर बस्ने र पछ्याउन थाल्यो ।

अनावश्यक फोन गर्न थाल्यो । फोनबाटै प्रेम प्रस्ताव राख्न भ्याएको केशरीले एक दिन त विन्दवासिनीलाई विवाहको प्रस्तावसमेत राख्यो । केशरीलाई विन्दवासिनीले आफू ऊसँग विवाह गर्न नसक्ने कुरा बताउँदै सम्झाउने प्रयास गरिन तर, उसले आफूलाई त्यसै गरी प्रस्तुत गर्दै गयो ।

२०७० वैशाख ९ गते आमाबुबाको विवाह भएको दिनलाई भव्य बनाउने तयारी हुँदै थियो । त्यति बेला एकाएक पसल अगाडि केशरी देखा पर्‍यो, विन्दवासिनीले नदेखेझैँ गरिन् । महको सानो भाँडोमा एसिड लिएर आएका केशरीले बिर्को खोलेर उनको अनुहारमा छ्यापेर केशरी त्यहाँबाट भाग्यो । 

विन्दवासिनीको चिच्याहट सुनेर बुबा, आमा, दाइ आत्तिँदै आए । छोरीको अनुहारमा कसैले तेजाब खन्याइ दिएको थाहा पाएका बाबुले रुँदै कराउँदै पानी खन्याउन थाले । त्यो पल सम्झँदा अहिले पनि अत्यास लाग्ने विन्दवासिनी सुनाउँछिन् । 

एक भारतीय नागरिकको विवाहको प्रस्ताव अस्वीकार गर्दा ९ वर्ष अघि तेजाब आक्रमणमा परी शारीरिक एवं मानसिक चोटले गम्भीर बनेकी विन्दवासिनी न्याय प्राप्तिको लडाइँमा अनवरत लडिरहिन् ।

अन्ततः दुई वर्ष अघि उनको पीडाले न्याय पायो । अपराधीलाई प्रहरीको कठघरामा उभाइयो । केशरीलाई ज्यान मार्ने उद्योगअन्तरगत ८ वर्ष कैद र १ करोड १४ लाख रुपैयाँ जरिवानाको फैसला भयो । तर, एसिड पीडित कंसाकारलाई सरकारले उपचारको लागि क्षतिपूर्तिको व्यवस्थापन भने अझै पनि गरेको छैन ।  

  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १५:२०:३५,   अन्तिम अपडेट : साउन ११, २०७९ बुधबार १५:३७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया