हात्ती धपाउन साइरन गाडीसहितको गस्ती

भद्रपुर– डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जंगली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ । 

विगत एक महिनादेखि जंगली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पुर्रयाउन थालेपछि वन कार्यालयले जनधनको सुरक्षाका लागि हात्ती धपाउन गस्ती टोली सुरु गरेको कार्यालयका प्रमुख विष्णु घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार सो क्षेत्रको सामुदायिक वन क्षेत्रमा गर्भिणी ढोईसहित १३ जंगली हात्ती रहेको अनुमान गरिएको छ । ती हात्ती दिनभर आदर्श, नमुना र थोप्लेविरान सामुदायिक वनभित्र बस्ने र साँझ पर्नासाथ गाउँ पसेर स्थानीयवासीलाई आतंकित तुल्याउने गरेको बुद्धशान्ति–३ का सीताराम बाँस्तोलाले बताए ।

बुद्धशान्ति–३ का वडाध्यक्ष कमल उप्रेतीले गाउँको बीचमा रहेको जंगलमा हात्तीको वासस्थान भएका कारण गाउँवासीको अन्नबाली मात्र नभएर ज्यानै जोगिन गाह्रो भइरहेको बताए । उनले जिल्ला वन कार्यालयबाट साइरन गाडीसहितको सातसदस्यीय वनरक्षक टोली आएपछि स्थानीयवासीले राहत र सुरक्षित अनुभूति गर्न पाएको बताए । 

स्थानीय आदर्श सामुदायिक वन समितिको कार्यालयमा वनको गस्ती टोली बस्दै आएको छ भने टोलीले हरेक दिन हात्ती गाउँ पस्ने भएकाले साँझ पर्नासाथ स्थानीयवासीलाई घरबाट ननिस्कन माइकिङसमेत गर्दै आएको छ । 

वनरक्षक टोलीलाई इलाका प्रहरी कार्यालय बुधबारेको टोली र स्थानीय युवाले हात्ती धपाउन मद्दत गर्दै आएका छन् । सो क्षेत्रमा एक महिनामा तीन दर्जनभन्दा बढी घर हात्तीले भत्काइसकेको छ भने स्थानीयवासी रातभर ढुक्कले निदाउन सकेका छैनन् ।
 





  • प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार ११:१७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया