नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र थुप्रै सुधारको आवश्यकता रहेको बताएका छन् । पार्टी र समग्र लोकतान्त्रिक प्रणालीमा नै सुधार गर्न नसकिए जनतालाई सन्तुष्ट बनाउन नसकिने उनको भनाइ छ ।
बुधबार हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानको आयोजनामा लमजुङको सुन्दरबजार नगरपालिका–४ स्थित दुराडाँडामा आयोजित कार्यक्रममा बोल्दै पौडेलले अबको लोकतन्त्र आर्थिक विकाससहितको हुनुपर्नेमा जोड दिए ।
‘कांग्रेसभित्र पनि थुप्रै सुधारको आवश्यकता छ । सुधार गर्न सकिएन भने यो व्यवस्थाले पनि जनतालाई सन्तुष्ट नबनाउन सक्छ’, उनले भने, ‘अबको लोकतन्त्र भनेको शासकीय स्वरुपमा मात्रै देखिने, आवधिक निर्वाचन हुने र निर्वाचन जित्नेले सरकार चलाउने सन्दर्भ मात्रै होइन । अबको लोकतन्त्र विकाससँग जोडिनुपर्छ ।’
उनले कांग्रेस नेपालको राजनीतिमा अब्बल समन्वयकारी क्षमता भएको पार्टी भएको पनि बताए । ‘हामीले कसैलाई पनि निषेध गर्दैनौँ । समग्रमा अतिवादमा विश्वास नगरीकन उदार समाजको निर्माण गर्ने पक्षमा कांग्रेस छ’, उनले भने ।
बहुदलीय व्यवस्थालाई सुदृढ गर्ने व्यवस्थाको नेतृत्व कांग्रेसले गर्दै आएको उल्लेख गर्दै पौडेलले जनतालाई खुसी बनाउने काम गर्न पनि कांग्रेस नै अग्रसर हुनुपर्नेमा जोड दिए । त्यसका लागि जनताको जीवन पद्धति सरल बनाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
उनले हलो क्रान्तिका नायक तोयनाथ अधिकारीको तत्कालीन अवस्थाको योगदानको उच्च प्रशंशा समेत सो क्रममा गरेका थिए । पर्चा तथा जुलुस नगरिकन र हतियार नउठाइकन तरंग ल्याउने काम उनले तत्कालीन अवस्थामा गरेको उनको भनाइ थियो ।
२००६ साल साउन ११ गते अर्चलपानीमा पण्डित तोयनाथ अधिकारीलगायत २७ जना ब्राह्मणहरूले सामूहिक रूपमा हलो जोतेको दिनलाई हलोक्रान्तिको रुपमा उल्लेख गरिँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।