एसपीपीबारे अमेरिकालाई पत्र नपठाउँदा सांसदको शंका : अँध्यारो कुनामा खिचडी पाक्दै त छैन ?

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले एसपीपीको विषयमा सुनेको भरमा संसदीय समितिमा छलफल गर्नु नहुने बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद सिंहले अनाधिकृत कागजातको विषयलाई लिएर एसपीपीको सम्बन्धमा समितिमा छलफल गर्नु नहुने धारणा राखेका हुन् । 

उनले प्रधानसेनापति र परराष्ट्र मन्त्रीले नेपाल कुनै सैन्य गठबन्धनमा सहभागि नहुने स्पष्ट पारिसकेको भन्दै सुनेको कुराको आधारमा सो विषयमा छलफल आवश्यक नरहेको बताए । आधिकारिक कागजात अध्ययन गरेर मात्रै समितिले एसपीपीमा सरकारको भूमिकाको बारेमा धारणा बनाउनु उपयुक्त हुने उनको भनाइ छ । 

उनले भने, ‘प्रधानसेनापति यहीँ समितिमै आएर बोलेर जानुभएको हाम्रो मस्तिष्कमा ताजै छ । कुनै पनि सैन्य गठबन्धनमा सहभागि हुने कुरा छैन भनेर उहाँले भन्नुभएको हो । परराष्ट्रमन्त्रीले पनि समितिमा आएर आफ्नो कुराहरु राख्नुभएको छ । आधिकारिक डकुमेन्ट फेरि मागौँ । हेरौँ । सत्य, तथ्य जे छ डकुमेण्टको आधारमा समग्र समितिको एसपीपीको बारेमा र अन्य उठेको मुद्दाका बारेमा हाम्रो धारणा बनाउनु राम्रो हुन्छ भन्ने लागेको छ ।’  

उनले सबै दलले राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर संविधानको मर्मलाई अक्षरश पालना गर्नेगरी गतिविधि अगाडि बढाउनुपर्ने बताए ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले एसपीपीमा नेपाल सामेल नहुने पत्र अमेरिकालाई नपठाउनुले अँध्यारो कुनामा खिचडी पाक्दै छ कि भन्ने शंका उत्पन्न भएको बताए । उनले सरकारले आफ्नो परराष्ट्र नीतिलाई दह्रोगरी पक्रिन नसकेको टिप्पणी गरे । 



‘ढिलो गर्नुको कारण कतै कुनै अँध्यारो कुनामा फेरि खिचडी पाक्दै छ कि ? भन्ने शंका त नेपाली जनतालाई सधैँ भइ नै रहन्छ । छिटोभन्दा छिटो हामीले मागेको डकुमेण्ट आउनुपर्छ । सेनापतिको भ्रमण सार्वभौम संसदलाई जानकारी हुनुपर्छ । परराष्ट्र नीति सम्बन्धी नेपाल सरकारले दह्रोसँग आफ्नो नीति नपक्रेको अहिले पनि अनुभव हामीलाई सधैँ भइराखेको छ’ उनले भने ।

जनता समाजवादी पार्टी नेपालकि सांसद रेनुका गुरुङले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव पुनः अगाडी बढाउनुपर्ने बताइन् । उनले विश्व द्वन्द्वमा फसिसकेको भन्दै नेपाललाई शान्ति क्षेत्र बनाउनु अपरिहार्य भइसकेको बताइन् । 



उनले भनिन् – ‘हामी नेपाललाई शान्ति क्षेत्र प्रस्ताव अगाडि बढाउन चाहन्छौँ । इण्डियाले अहिलेसम्म नेपाल शान्ति क्षेत्रको प्रस्तावलाई हस्ताक्षर गरेको छैन । त्यही भएर पनि हामीलाई शंका त लाग्छ नि । हामीले नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव अगाडी बढाउनुपर्छ । अपरिहार्य भएको छ । विश्व द्वन्द्वमा फसिसक्यो । फेरी प्रस्ताव अगाडी बढाऔँ । नेपालले कुनैपनि सैन्य गठबन्धनबाट अलग रहन र आफ्नो देशको परराष्ट्र नीति बमोजिम असंलग्न नीतिलाई पनि जोड दिनुपर्छ ।’

उनले नेपाल सैन्य गठबन्धन बाट अलग हुनुपर्ने र असंलग्न परराष्ट्र नीतिलाई जोड दिनुपर्ने बताइन् ।

  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १९:१८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया