ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाल भ्रमणमा आएका बंगलदेशका जलस्रोत सचिव कविर बिन अन्वरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
ऊर्जा मन्त्रालयमा बुधबार भएको भेटमा ऊर्जामन्त्री भुसालले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि बंगलादेशले देखाएको चासोप्रति आभार व्यक्त गर्दै शीघ्र कार्यान्वयनको तहमा लैजाने गरी काम गर्नुपर्नेमा जोड दिइन् ।
नेपाल सहकार्यका लागि तयार र इच्छुक रहेको जानकारी दिँदै मन्त्री भुसालले आवश्यक वातावरण बनाउन सचिव कविरमार्फत त्यहाँको सरकारलाई समेत आग्रह गरिन् । मन्त्री भुसालले बिहीबारदेखि सुरु हुन लागेको जलस्रोत सचिवस्तरीय बैठकको सफलताको कामनासमेत गरिन् ।
सो अवसरमा बंगलादेशका जलस्रोत सचिव कविरले ऊर्जा क्षेत्रमा सहकार्य गर्न आफूहरु तयार रहेको बताए । उनले भारतीय प्रसारण संयन्त्रको प्रयोग गरेर मात्रै बिजुली लैजानुपर्ने भएकाले त्यसका लागि पनि पहल भइरहेको बताए ।
बिहीबार र शुक्रबार आयोजना हुने नेपाल र बंगलादेश सचिवस्तरीय जलस्रोत समितिको बैठकमा दुई देशबीचको आपसी सम्बन्ध र ऊर्जा जलस्रोत क्षेत्रको सहकार्यमा विभिन्न आयामका बारेमा छलफल हुने कार्यक्रम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।