स्थानीय तहको सरकार परिवर्तन भएको दुई महिना बित्दा–नबित्दै देशभरका अधिकांश स्थानीय निकायले पुराना करार सेवाका कर्मचारी हटाउने कामलाई पहिलो प्राथमिकतामा राखेका छन् । धमाधम विज्ञप्ति जारी गर्दै करार सेवाका कर्मचारीलाई पदबाट गलहत्याइँदै छ । अहिले स्थानीय तहका जनप्रतिनिधिले विज्ञप्तिमार्फत काममा नआउन उर्दी जारी गरिरहेका छन् । यसको प्रभाव मकवानपुरका स्थानीय तहहरुमा पनि परिरहेको छ ।
अहिले कुनै आधार नखुलाई र कार्यसम्पादन मूल्यांकन समेत नगरी वर्षौंदेखि काम गर्दै आएका करारका कर्मचारीलाई हचुवाका भरमा बिदा गरिँदै छ । अघिल्लो कार्यकालमा सत्ता चलाएको राजनितिक दल सत्ताबाट बाहिरिएपछि उनीहरूले राखेका कर्मचारीलाई विनाकारण गलहत्याउनु कानुनअनुसार र न्यायपूर्ण हुँदैन । आफूनिकट कार्यकर्ता भर्ना गर्न अघिल्लो कार्यकालदेखि काम गर्दै गरेका कर्मचारी हटाउने गरेको आरोप नयाँ जनप्रतिनिधिलाई लाग्ने गरेको छ ।
हालसम्म मकवानपुरको तीनवटा गाउँपालिकाले करार सेवामा रहेका कर्मचारीलाई हटाएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा कर्मचारीको संख्या धेरै रहेको भन्दै गत असार ३२ गते एक सूचना जारी गर्दै विभिन्न करार पदमा कार्यरत कर्मचारीको म्याद थप नगरे जनाएके थियो । गाउँपालिकाले सो सूचना जारी भएको १५ दिन पनि पुग्न नपाउँदै पुनः कर्मचारीको माग गरेको छ ।
बुधबार सूचना जारी गर्दै विभिन्न पदको लागि पुनः करारका कर्मचारीहरु माग गरेको हो। गाउँपालिकाले बुधबार एक सूचनामार्फत करार कर्मचारीका लागि आवेदन आह्वान गरेको हो । सोमबार बसेको गाउँपालिकाको बैठकको निर्णयअनुसार विभिन्न पदका लागि कर्मचारी माग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बताए ।
गाउँपालिकाले इन्जिनियर (छैठौँ तह) पदका लागि १ जना , सब–इन्जिनियर ४ जना, अनमी ३ जना, प्रशासक सेवा अनमी १ जना ल्याब असिस्टेण्ट २ जना र कार्यालय सहयोगी ११ जना गरी २२ जना कर्मचारी मागेको छ । तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र दरखास्त दिन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।