सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर पहिरोको रूप लिएपछि रुकुम पश्चिमका ३९ घरपरिवार आफन्तको घरमा शरण लिन बाध्य भएका छन् ।
जिल्लाको आठबीसकोट नगरपालिकाभित्रका दुई वटा वडाका ३९ घरपरिवार पहिरोको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ।
नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अमृत बुढाका अनुसार मङ्गलबार दिनभर पहिरोलाई हटाउन र थप क्षति हुन नदिन प्रयास गरेर जोखिममा परेका ३९ वटै घर खाली गरिएको थियो। जोखिममा परेका सबै घरपरिवारका पशु चौपाया र अन्नपात जोगाएर आफन्तको घरमा बस्ने व्यवस्था मिलाइएको वडाध्यक्ष बुढाले जानकारी दिए ।
राडिज्युला–दाँजे–खदी–बारिङे सडक खण्डबाट निस्केको माटो र ढुङ्गाका कारण राडिज्युला, गारा, सिम्तारा बस्तीको सिँचाइ नहर भत्किएकाले गाउँमाथिबाट पहिरो झरेको हो । पहिरोका कारण सोही वडामा रहेका चार वटा पानी घट्ट र बाटोमा रहेका घुम्ती पसलसमेत पुरिएका छन् ।
गाउँमा पसेको पहिरोका कारण कतिपय कच्ची घर भत्किएका छन् भने कतिपय भत्किने अवस्थामा रहेको स्थानीयवासीले बताएका छन्। भत्किएका घरको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन। पहिरोले वडा नम्बर ७ का धान, मकै खेती बाली सबै बगाइदिएको छ भने वडा नम्बर ८ को स्यालाका मकैबारी पहिरोले ढाकेको छ ।
नगरप्रमुख रवि केसीका अनुसार स्थानीय खड्क बुढा, महेन्द्रकुमार बोहरा, भीमबहादुर बुढा र प्रबिर बुढाको मकै बारीमा पूर्ण रूपले क्षति भएको छ। त्यसै गरी चार जना स्थानीय वासीका घरको छेवैमा पहिरो बग्दा घर कति बेला पुर्ने हो भन्ने डर भइरहेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।