विद्यार्थीका कलाकारी पाइलाहरू
आक्रोश, अपनत्व र जीवनको लडाइँमा नारी

‘आफ्नै बाबुबाट पाँच वर्षीया छोरी बलात्कृत...’

‘नाति उमेरका किशोरद्वारा वृद्धा करणी...’

‘किशोरीको सामूहिक बलात्कारपछि हत्या...’

‘प्रेम–प्रस्ताव अस्वीकार गरेको निहुँमा कलेज पढ्ने छात्रामाथि एसिड प्रहार, अवस्था गम्भीर...’

अखबारमा बारम्बार आइरहने समाचार–शीर्षक हुन् यी । यस्ता समाचारले महिलाले भोगिरहेको यथार्थ प्रतिबिम्बित गर्छन् । हरेक दशकजसो राजनीतिक व्यवस्था परिवर्तन भए पनि महिलाको वास्तविक अवस्थामा परिवर्तन आइसकेको छैन भन्ने तथ्य पुष्टि भइरहेको छ । विभिन्न आन्दोलनपछि पनि बलात्कार, एसिड आक्रमण र दाइजो नल्याएको निहुँमा मारिनुपर्ने कहरबाट महिला गुज्रिरहेकै छन् ।

पत्रपत्रिका, रेडियो, टेलिभिजनमा आउने यस्तै प्रकृतिका दर्दनाक समाचारले चित्रकार आदित्य पौडेलको चैन खोसिरहेको थियो । त्यसअघि पनि उनी चित्र अवश्य कोर्थे, रङहरूमा अर्थ भर्ने कोसिस पक्कै गर्थे । तर अक्सर विषय हुन्थ्यो– प्राकृतिक सौन्दर्य । निर्मला पन्त प्रकरणले नेपालको सत्ता र समाजलाई नै झक्झोर गरेपछि भने उनको मन, मगजमा बिजुली दगुर्न थाल्यो ।



‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएपछि एक किसिमको छटपीट भयो,’ उनले सुनाए, ‘त्यसअघि पनि बलात्कारका घटना त सुन्थें–पढ्थें, तर दिमागले चित्र कोरेर प्रतिवाद गर्ने हिम्मत गर्दैनथ्यो ।’ 

निर्मला प्रकरण झन्झन् रहस्यमय बन्दै गएपछि र राज्य नै अपराधी पत्ता लगाउनभन्दा लुकाउनतिर लागेको देखिएपछि उनी चुप बस्न सकेनन् । कञ्चनपुरवासी सडकमा उत्रिए, गोली खान तयार भए । निर्मलाको आँसुमा देश नै शोकमा डुब्यो । यो शोक र आक्रोशलाई उनले आफ्नो कलामा किन अभिव्यक्त नगर्ने ?



कलाकार आदित्यको मनमा एउटा बिम्ब पैदा भयो– गर्भ र भ्रुण । हिंसा र बलात्कारको चपेटामा परेका महिला पलपलमा असुरक्षित छन् । कैयौंले अभिभावकबाटै यौन दुव्र्यवहार झेलेका छन् । कैयौं पुरुषका यौनहिंसाको सिकार भएका छन् । 

त्यति मात्र होइन, जन्मँदै लिंग पहिचान गरेर भ्रुणहत्या गर्ने क्रम बढ्दो छ । कथित शिक्षित परिवारमै भ्रुणहत्या संस्कृति बन्दै छ । छोरीलाई जन्मनै नदिने प्रपञ्च जारी छ । आदित्यको मनमा एउटा प्रश्न उठ्यो– छोरीले गर्भबाटै नजन्मिने निर्णय लिई भने के हुन्छ ?

ललितकला क्याम्पसमा स्नातक तेस्रो वर्ष अध्ययन गरिरहेका आदित्यले निर्मलालगायतको त्यो पीडालाई रङमा घोले र क्यानभासमा उतारे । अनि त्यो चित्र बन्यो निर्मला मात्र होइन, समग्र नारी आक्रोशको ऐना ।

एउटी नारीभ्रुणले यो भयावह समयमा जन्मने हिम्मत कसरी जुटाउली ? यही प्रश्नको जवाफ उनले क्यानभासमा रङहरूमार्फत खोजे । अनि एउटा यस्तो चित्र बन्यो जहाँ एउटी नारीभ्रुण जीवनमार्गको पहिलो सिँढी चढ्नुपूर्व नै पासोमा जीवन बिसाउन उद्यत छे । ऊ बताउन खोजिरहेकी छे– कसैको हातबाट मर्नुभन्दा पहिले म यो जीवनको निर्णय आफ्नै हातमा लिन चाहन्छु । 

‘हाम्रो पहिलो पाइला’ नाम दिइएको प्रदर्शनीमा आदित्यसँगै स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीका विविध कला प्रदर्शित छन् । प्रदर्शित सयभन्दा बढी कलाकृतिमा विशेषगरी महिलाको सामाजिक अवस्था र व्यवस्थाको चित्रण गरिएको छ ।

मनीषा शाहको ‘शुभलक्ष्मी’ शीर्षकको चित्र प्रदर्शितमध्ये अर्को एउटा कलाकृति हो । चित्रको बीचमा गोलाकारभित्र दुई नारी कुरा गरिरहेझैं देखिन्छन् । मिथिला चित्रको प्रयोगमार्फत ती नारीलाई शुभको प्रतीकका रूपमा प्रस्तुत गरिएको चित्रकार शाहको भनाइ छ । ‘एकातिर नारीलाई ईश्वरीय शक्तिका रूपमा हेरिन्छ,’ उनले प्रस्ट्याइन्, ‘अर्कोतिर भेदभाव छँदै छ । नारीलाई घेराभित्र राख्ने गरिन्छ ।’

त्यसबाहेक चित्रमा गोलो दुई घेराचाहिँ ससाना ऐनाका टुक्रालाई क्रमबद्ध टाँसेर खिचिएको छ । खासगरी मधेसी महिलाको स्थिति चित्रण गर्न मिथिला चित्रकलाको विधि प्रयोग गरिएको चित्रकार शाह बताउँछिन् । भन्छिन्, ‘आज देवी मानेर पुज्ने र उही महिलालाई भोलिपल्ट दानव सावित गर्ने क्रूर अभ्यास हुन्छ ।’ त्यसैले गोलो घेराबाहिर रक्तरञ्जित हत्केलाको छाप छ ।

पुरुषप्रधान समाजले बनाएको नारीप्रतिको दृष्टिदोष दूर गर्न यस्ता कला कति चाहिएला ? ‘यही कुरा प्रस्ट्याउन ऐना प्रयोग गरिएको हो,’ शाह भन्छिन्, ‘महिलामाथि कुदृष्टि पार्नुअघि हरेक मानिसले ऐनामा आफूलाई हेर ।’

प्रदर्शनी हलको एक कुनामा प्रफर्मेन्स आर्टको झलक देख्न सकिन्छ । सम्पूर्ण टिमलाई नेतृत्व दिइरहेका सुजनवीर बज्रचार्य स्वयं कला प्रस्तुत गर्न व्यस्त छन् । उनका सामु केही थान धागाका लट्टा छन् । केही तयारी बत्ती । लाख बत्ती बाल्ने हिन्दू संस्कृतिको एक अंग मात्र होइन । वास्तवमा बत्ती कात्ने काम र प्रक्रियामा आममहिलाको सुखदुःख र दैनिकीसँग जोडिएको छ । 

‘यो प्रक्रिया बत्ती कात्नुसँग मात्र सम्बन्धित छैन । पारिवारिक, सामुदायिक मेलमिलाप र अपनत्वसँग पनि जोडिएको छ,’ सुजन भन्छन्, ‘म त्यो सांगठनिक संरचना र त्यसभित्रको समाज बुझ्ने प्रयत्न गर्दै छु ।’

नेपाल आर्ट काउन्सिलमा प्रदर्शित ती कलाकृतिले विद्यार्थीको समाज बुझाइतिरको पाइलो पनि देखाउँछन् । यो प्रदर्शनी कलासँगै नारी दुनियाँ हेर्ने ऐना पनि हो भन्न सकिन्छ ।
 

  • प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार १३:४०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया