मुम्बई– भारतीय नायिका कंगना राणावतले फिल्म सेटमा आफूले कैयौँपल्ट उत्पीडनको सामना गर्नुपरेको बताएकी छिन् । तर, ती उत्पीडन शारीरिक नभएकाले आफूले ‘मिटु’ अभियानमा आवाज नउठाएको उनी भन्छिन् ।
शारीरिक नभए पनि ती उत्पीडन डराउने र अपमानजनक थिए । उत्पीडन जुनसुकै स्तरको र प्रकारको पनि हुन सक्ने र आफ्नो करियरमा धेरैले नराम्रो व्यवहारको सामना गर्नुपरेको उनको भनाइ छ ।
भारतीय मिडियासँग कुरा गर्दै कंगनाले भनिन्, ‘उत्पीडन धेरै तबरको हुने गर्छ । सेटमा धेरैचोटि त्यस्तो भयो, तर ती उत्पीडन शारीरिक तबरमा भने भएका होइनन्, केही मान्छेको दम्भसँग जोडिएका मुद्दा थिए । मलाई धेरै ठाँउमा प्रताडित गरियो । ‘मिटु’ अभियानअन्तर्गत नपरे पनि यो उत्पीडन नै हो ।
‘मलाई सेटमा ६ घण्टासम्म पर्खाइन्थ्यो, जानेबुझेर पनि गलत समय दिइन्थ्यो ता कि मैले कुर्नु परोस्, सधैँ गलत समयमा बताइन्थ्यो ता कि मेरो हातबाट मौका निक्लियोस् । कहिलेकाहीँ त एक्टरहरु अन्तिम समयमा आएर सुटिङ रद्द गर्थे,’ कंगनाले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘मेरा विरुद्ध गुटबाजी गर्नु र मलाई फिल्मसँग सम्बन्धित कार्यक्रममा नबोलाउनु, मविना फिल्मको ट्रेलर सार्वजनिक गर्नु र मलाई नभनिकनै मेरो आवाज अरु कसैबाट डब गराउनु कलाकारका रुपमा मेरो मूलभूत अधिकारको उल्लंघन हो ।’
कंगनाका अनुसार गत वर्ष चलेको विश्वव्यापी अभियान ‘मिटु’का कारण फिल्म जगत्का पुरुषहरु डराएका छन् । उनले भनिन्, ‘मान्छेहरु डराएका छन् र उनीहरु डराउनु पनि पर्छ । फिल्म जगत्मा पुरुषहरु डराएका छन् । र, यो क्रम रोकिनु पनि हुँदैन ।’
कंगनाका बुझाइमा यो पितृसत्तात्मक समाज हो, जुन धेरै नै अराजक छ । ‘हामीले त्यहाँ चोट पुर्याउन सक्नुपर्छ, जहाँ उनीहरु डराइरहेका छन् । महिलाले काम पाएनन् भने के होला ? जस्ता प्रश्न बन्द हुनुपर्छ,’ उनी भन्छिन्, ‘मलाई लाग्छ कि गरिमा र सम्मानविहीन जीवन जीवन होइन । तपाईले आवाज उठाउन हिचकिचाउनुहुँदैन ।’
कंगना रणावतले फिल्म ‘क्विन’का निर्देशकविरुद्ध यौन उत्पीडनको आरोप लगाउने कथित पीडितको समर्थन गरेकी थिइन् । उनको भनाइमा महिलाका लागि फिल्म सेट सुरक्षित बनाउन कडा र तत्कालै कारबाही हुने कानुन आवश्यक छ । कंगनाको आउँदै गरेको फिल्म ‘मणिकर्णिका : द क्विन अफ झाँसी’ २५ जनवरीमा रिलिज हुँदै छ । फिल्मको निर्देशन कृष र कंगना दुवैले गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।