देउवालाई आराम दिन चुनाव लड्न डडेल्धुरा आएको हुँ : सागर ढकाल

प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौँ ?’ भन्दै पाँच वर्षअघि प्रश्न गरेका सागर ढकालले आगामी निर्वाचनमा देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । 

पाँच वर्षअघि बिबिसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका गुल्मीका सागर ढकालले बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गरेका हुन् । 

पत्रकार सम्मेलनमा बोल्दै उनले मुलुक हाँक्न ४० वर्षमुनिका युवा आवश्यक रहेको बताए । उनले आगामी संसदीय निर्वाचनमा ‘थोरै नयाँ होइन, पूरै नयाँ’ अभियानसहित तीनवटा मुद्दा लिएर अगाडि बढेको बताए । 

जसमा वातावरण विकाससँगै संस्कार संस्कृति, युवाहरूको प्रत्यक्ष नेतृत्व बुवाआमाबाट सल्लाह, हजुरबुबा हजुरआमाहरूलाई स–सम्मान आराम र विकास र संविधानमा उल्लेख गरिएका बुँदाहरू कार्यान्वयन छन् । 

शेरबहादुर देउवालाई आराम दिन डडेलधुरा आएको उनी बताउँछन् । केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डलगायतलाई आराम दिन देशभरि युवा उठाउने अभियान सुरु गरेको उनको भनाइ छ । 

‘शेरबहादुरहरूलाई स–सम्मान आराम दिने हो । उहाँहरूले धेरै मिहिनेत गर्नुभयो । हाम्रो लागि बोल्ने वातावरण बनाइदिनुभयो,’ उनले भने, ‘बुवा पुस्ता गगन थापा, योगेश भट्टराई, घनश्याम भुसालहरू ढुंगा–मुढा गरेर आउनुभएको हो । उहाँहरूले लोकतन्त्रका लागि लड्दिनुभयो । अब सल्लाह दिने काम गर्नुहुन्छ ।’



व्यवस्था पाइसकेकोले अवस्था परिवर्तन गर्ने समय आएको उनको भनाइ छ । डडेल्धुराबाट देशभरि सन्देश दिन आफूले उम्मेदवारी दिएको उनले बताए । सांसद बन्नको लागि मात्रै हो भने शिक्षित सहरबाट चुनाव लड्न सक्ने उनको तर्क छ । डडेल्धुरामा मात्रै आगो बाल्न सके देशभरि फैलिन सक्ने उनको दाबी छ । 

उनी भन्छन्, ‘१६५ क्षेत्रबाटै युवा उठे । तर, म डडेल्धुराबाट हारेँ भने अन्य ठाउँबाट त जित्छन्, म हार्नु ठूलो कुरा होइन, देशले जित्नुपर्छ । म देउवालाई हराउन आएको होइन । ४०–५० वर्ष देशलाई कसरी हाँक्नु पर्दछ भन्ने भिजन ल्याएर आएको हुँ ।’



पाहुनालाई माया गर्ने नेपालीको संस्कार भएकोले त्यो माया पाउने उनको अपेक्षा छ । उनले डडेल्धुराको युवालाई गुल्मीबाट उठ्नसमेत आग्रह गरे । देशको मुद्दा लिएर जसले जहाँबाट उठे पनि हुने उनको तर्क छ ।

डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी क्षेत्र हो । बुधबार बस चढेर उनी डडेल्धुरा पुगेका हुन् । ढकाल पेसाले इन्जिनियर हुन् । उनी आफैँले पनि बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको बताएका छन् ।

  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १७:५८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया