जनार्दन शर्मामाथि छानबिन समितिको प्रतिवेदन तयार, एमालेको फरक मत

बजेटमा अनाधिकृत व्यक्तिलाई सामेल गराइएको आशंकामा  पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदन तयार भएको छ । 

बिहीबार साँझ समितिको अन्तिम बैठक बसेर  छानबिन प्रतिवेदन टुंगो लगाइएको हो । समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले समितिको बैठकपछि सञ्चारकर्मीसँगकाे संक्षिप्त कुराकानीमा भने, ‘संसदीय विशेष छानबिन समितिको अन्तिम बैठक आज बसेको छ। दिनभर छलफल गरेर प्रतिवेदन तयार भएको छ।’

सामान्य प्राविधिक कुराबाहेक सबै विषय टुंगिएको उनको भनाइ छ । प्राविधिक विषय छानबिन समितिको सचिवालयले मिलाउने उनले बताए । 

चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले छानबिनको माग गरेको थियो । प्रतिनिधि सभाले असार २८ गते विशेष छानबिन समिति गठन गरेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

समितिलाई छानबिनका लागि सुरुमा १० दिनको समय दिइएको थियो। निर्धारित समयमा छानबिन सम्पन्न नभएपछि समितिको म्याद सात दिन थपिएको थियो। सो म्याद आज सकिएको छ।

समितिले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने भएको छ। समितिले तयार गरेको प्रतिवेदनमा समितिमा रहेका नेकपा एमालेका सांसद सहमत नरहेको बुझिएको छ ।



समितिले बहुमतका आधारमा प्रतिवेदन तयार गरेको हो । प्रतिनिधिसभा नियमावली २०७५ को नियम १८१ मा बहुमतको निर्णय समितिको आधिकारिक हुने व्यवस्था छ । 

समितिमा एमालेका प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विक सदस्य छन् । कांग्रेसको तर्फबाट मानबहादुर विक र सीताराम मेहता, माओवादीको तर्फबाट देव गुरुङ र शक्ति बस्नेत सदस्य छन् ।



नेकपा एसबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन् । ज्येष्ठ सदस्य समेत रहेका कर्णले समिति सभापतिको रूपमा काम गरेका छन् । समितिमा सत्तापक्षको बहुमत छ ।

  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार २०:३२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया