इंग्ल्याण्डविरुद्धको दोस्रो टी-२० मा दक्षिण अफ्रिकाको शानदार जित

घरेलु टोली इंल्याण्डविरुद्धको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा दक्षिण अफ्रिकाले जित हात पारेको छ । उसले गएरातिको खेलमा ५८ रनको सहज जित हात पारेको हो । दक्षिण अफ्रिकाको यो जितसँगै सिरिज १–१ को बराबरीमा पुगेको छ ।

दोस्रो खेलमा २०८ रनको लक्ष्य पछ्याएको इंल्याण्डले १६.४ ओभरमा सबै विकेट गुमाउँदै १४९ रन मात्र बनाउन सक्यो । उसका लागि जोनी बेयरिस्टोले सर्वाधिक ३० रनको योगदान दिए । कप्तान जोस बटलरले २९, जेसन रोयले २० र लियाम लिभिङ्गस्टोनले १८ रन जोडे । 

दक्षिण अफ्रिकाका लागि एन्डिले फेहलुक्वायो, ताबरेज शम्सीले तीन/तीन, लुङ्गी एनगिडीले दुई, केशव महाराज र कागिसो रवाडाले एक/एक विकेट लिए । त्यसअघि कार्डिफस्थित सोफिया गार्डेन्समा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०७ रन बनायो ।  

उसका लागि राइली रुसोले अविजित ९६ रनको उत्कृष्ट पारी खेले । ५५ बलको सामना गरेका उनले १० चौका र पाँच छक्का प्रहार गरे । रिजा हेन्ड्रिक्सले ३२ बलमा तीन चौका र दुई छक्कासहित ५३, हेनरिक क्लासेनले १९, ट्रिस्टन स्टब्स (अविजित) र क्विनटन डि ककले १५/१५ रन जोडे ।

इंग्ल्याण्डका लागि मोइन अली, क्रिस जोर्डन र रिचर्ड ग्लेसनले एक/एक विकेट हात पारे । पहिलो खेलमा इंग्ल्याण्ड ४१ रनले विजयी भएको थियो । यी दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार ६:५०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया