काठमाडौं– बुधबार विहान सप्तरीमा प्रहरी इन्काउन्टरमा तराईको सशस्त्र गोइत समूहका पूर्वकार्यकर्ता दीपेन्द्र जयसवल भन्ने दीपेन्द्र चाैधरीकाे मृत्यु भएको छ ।
एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनकाे संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएकाे मुडभेडमा चौधरी मारिएका हुन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख हरिबहादुर पालका अनुसार प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीतर्फबाट पनि फायरिङ भएको थियो । सो क्रममा उनको घटनास्थलमै मृत्यु भएको पालले जानकारी दिए । चौधरीमाथि २ गोली लागेको छ ।
मोटरसाइकलमा आएका समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए । सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका उनीमाथि गोली प्रहार भएको थियो ।
उनी २०७२ सालमा प्रहरी असई रमेश सुब्बाको हत्यामा संलग्न समेत भएका अपराधी भएको बताइएको छ । त्यतिबेला उनले प्रहरीको भ्यानमाथि एम्बुस थापेर सो घटना घटाएको प्रहरीको दाबी छ ।
उनले अहिले आफ्नै समूह बनाएर चन्दा असुली, हप्ता असुली गरी भूमिगत गतिविधि सञ्चालन गर्दै आएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।