डाभाेसमा प्रधानमन्त्री ओली: नेपालले विकासका लागि धेरै प्रतीक्षा गर्नसक्ने अवस्था छैन

डाभाेस- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सामाजिक आर्थिक रुपान्तरणका निम्ति वर्तमान सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको बताएका छन् ।

विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत यहाँ जारी ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा उहाँले नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको तथा यसले वातावरण संरक्षण, दिगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका प्रयास गरिरहेको बताउँदै राजनीतिक स्थायित्व एवं नीतिगत स्पष्टतासहित वैदेशिक लगानी भित्र्याउन तल्लीन रहेको उल्लेख पनि गरे ।

नेपालले सामाजिक र आर्थिक रुपमा द्रुत गतिमा परिवर्तन र विकास गरिरहेको जानकारी दिँदै छिमेकीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँग सुमधुर सम्बन्ध कायम गर्दै विकास–निर्माणको मार्गमा अग्रसर भएको बताए ।

उनले भने, ‘नेपालले अब विकासका लागि धेरै प्रतीक्षा गर्नसक्ने अवस्था छैन ।’

‘समृद्ध नेपाल तथा सुखी नेपाली’को लक्ष्य साकार पार्न वर्तमान सरकारले आफ्ना प्रयास आर्थिक विकास तथा सुशासनमा केन्द्रित गरेको जानकारी दिँदै प्रधानमन्त्रीले नेपाली जनताका विकासका आकाङ्क्षा कार्यान्वयन गर्न ध्यान केन्द्रित गरेको पनि बताए ।

महिला सशक्तीकरण, न्याय तथा समानता, सामाजिक न्यायको प्रवद्र्धनसँगसँगै समाजका सबै क्षेत्रमा सुधार गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले मानव सूचकाङ्कका दृष्टिले पछिपरेका समाजको उन्नयनलाई महत्वका साथ अघि बढाएको बताउनुभयो ।  



दक्षिण एशिया महान् सभ्यता र विद्वत्वर्ग रहेको क्षेत्र हो भन्दै प्रधानमन्त्री ओलीले सगरमाथादेखि हिन्द महासागरसम्म बहुभौगोलिक एवं जैविक विविधता रहेको उल्लेख गरे । उनले अति उर्वर भूमि र उत्पादनशील जनसङ्ख्या भएको नेपालले आफ्ना नागरिकको जीवनस्तर उकास्न आफ्नो सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेको जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीले नेपालले भारत तथा चीनसँग जलमार्ग तथा रेल सञ्जाल स्थापना गर्न प्रयास गरिरहेको उल्लेख गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का अध्यक्षका हैसियतले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरेको बताए ।

नेपालले दक्षिण तथा दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको सङ्गठन (आसियान)सँग व्यापार तथा अन्य सम्बन्ध कायम गरेर क्षेत्रीय व्यापार प्रवद्र्धनलाई उच्च महत्वका साथ कार्यान्वयन गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले हालै नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेको पनि स्मरण गरे । 



देशको आर्थिक विकासमा सार्वजनिक–निजी साझेदारी महत्वपूर्ण हुने वास्तविकतालाई दृष्टिगत गरी सरकारले दुवै क्षेत्रलाई उच्च महत्व दिएको प्रधानमन्त्रीले बताए । पारदर्शिताको सुनिश्चितता, विधिको शासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण आफ्नो सरकारको मुख्य प्राथमिकता भएको ओलीले सम्बाेधनमा बताए ।

  • प्रकाशित मिति : माघ ९, २०७५ बुधबार ७:४३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया