वाम गठबन्धन भए मात्र  मुलुकले निकास पाउँछ : उपाध्यक्ष शाक्य

नेकपा एमाले केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान गठबन्धन सरकारलाई ढालेर वामपन्थी सरकार निर्माण गर्नुपर्ने बताएकी छिन् । नेकपा एमाले लमजुङले सदरमुकाम बेसीसहरमा शनिबार आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले वर्तमान गठबन्धन तोडेर वाम गठबन्धन भए मात्र मुलुकले निकास पाउने बताइन् ।

उनले अब कम्युनिस्ट पार्टीको नाममा स–सना पसल थापिरहँदा वामपन्थी सरकार नबन्ने र मुलुकले गति पनि लिन नसक्ने बताइन् । ‘यो सरकार रहँदासम्म देशमा भ्रष्टाचार रोकिन्न, महँगी घट्दैन, न त समृद्धि नै आउँछ,’ शाक्यले भनिन्, ‘हेर्नुहोस् त एमसिसी पास गरेर अमेरिकी सेना भित्र्याउँदै छन् । यो सीधै चाइनामाथि धावा बोल्न हो ।’

मुलुकमा संघीयता सही ढंगले सञ्चालन गर्न नसक्दा व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘हिजो सबैले देशलाई संघीयतामा लैजाऊँ भनेर संविधानमै सात प्रदेशको व्यवस्था गरियो। तर, अहिले व्यवस्थापन गतिलो नगरेर व्यवस्थाप्रति नै नकारात्मक टिप्पणी भइरहेको छ, यो कार्य गलत छ ।’ 

यस्तै, नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आगामी चुनावमा वामपन्थी शक्ति एक हुन नसके पनि गठबन्धनविरुद्ध एमाले एक्लै लड्न उच्च मनोबलका साथ तयार हुनुपर्ने बताए । 

उनले गण्डकी प्रदेशमा अहिले पनि एमाले पहिलो शक्तिको रूपमा रहेको बताउँदै आगामी चुनावमा अझ बलियो बनेर आउनुपर्ने बताए । नेता गुरुङले स्थानीय चुनावमा पार्टीभित्र केही अन्तर्घात भएको बताउँदै उनीहरूलाई आगामी चुनावपछि कारबाही गरिने बताए ।





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार २१:३०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया