मुस्ताङ- मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडकमा हिउँ जमेपछि जोमसोम-मुक्तिनाथ र जोमसोम-लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । सडकमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ । बेनी-जोमसोम सडकको यातायात सेवामा भने हिमपातले असर गरेको छैन । यातायातका साधन चलिरहेका छन् ।
चिसो बढेकाले सर्वसाधारण घरबाहिर निस्कन नसकेको ठिनीका बासिन्दा सुवास थकालीले बताए । घरभित्रै आगो तापेर बसेका छन् । गाई, भेँडा, चौरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुक्खा घाँसपात खुवाएर राखिएको छ । चरनका लागि छाडिएको छैन । वर्षासँगै हुरी पनि चलेको छ ।
पर्यटकीयस्थल पनि सुनसान छन् । जोमसोम-पोखरा हवाई उडान पनि हिमपात, हुरी र खराब मौसमका कारण अवरुद्ध भएको छ । मंगलबारदेखि हवाई उडान नभएको तारा एयरका कर्मचारी दुर्गा पुनले बताए । तारा एयरले पोखरा-जोमसोम हवाई मार्गमा दैनिक दुई उडान भर्ने गरेको थियो ।
सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ । उपल्लो मुस्ताङका बासिन्दा कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए ।
वर्षा र हिमपातले कृषकमा भने खुसियाली छाएको छ । यो वर्ष मुस्ताङमा तेस्रोपटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने थासाङ गाउँपालिका-२ कोवाङका कृषक चन्द्रबहादुर शेरचनले बताए ।
हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोटबिरुवा फस्टाउने, उत्पादन बढ्ने कृषक बताउँछन् । स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यकता पर्ने शितोष्ण बागबानी फार्म मार्फाका प्रमुख बालकृष्ण अधिकारीले बताए । स्याउ, जौँ, गहुँ, उवा, फापर बाली सप्रने जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।