लाइसेन्स लिएर विद्युत् उत्पादन नगर्ने कम्पनीको पीपीए खोरज गरिन्छ : ऊर्जामन्त्री भुसाल

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् उत्पादन गर्ने लाइसेन्स लिएर विद्युत् उत्पादन नगर्ने कम्पनीको पीपीए खोरज गर्ने चेतावनी दिएकी छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस बोर्डर विद्युत व्यापारमा खुला पहुँच र प्रसारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशाला कार्यक्रममा बोल्दै मन्त्री भुसालले सरकार विद्युत् उत्पादन गर्नका लागि अनुमतिपत्र (लाइसेन्स) लिएर पीपीए गर्ने तर विद्युत् उत्पादन नगर्ने कम्पनीको पीपीए खोरज गर्ने तयारीमा रहेको बताएकी हुन् ।

उनले पछिल्लो समय सरकारसँग करिव १६ सय मेगावाट जलविद्युत् आयोजना टेक एण्ड पे प्रावधानमा पीपीए भएर पनि निर्माण कार्य नभएको भन्दै पीपीए खोरज गर्ने बताइन् ।

मन्त्री भुसालले जलविद्युत् आयोजनाको निर्माण कार्य नगर्ने तर खोला नदी ओगटेर बस्ने प्रविधिको अन्त्य गरिने पनि बताइन् । उनले वास्तविक विद्युत् उत्पादन कम्पनीलाई प्रोत्साहन गर्ने र पीपीए गरेर काम नगर्नेलाई पीपीए खोरज गर्ने पक्षमा मन्त्रालयले छलफल गरिरहेको बताइन् ।

मन्त्री भुसालले टेक एण्ड पेमा आधारित विद्युत् खरिद सम्झौता भएकाले उत्पादन भएको विद्युत् बिक्री गर्न नसके ठूलो मात्रामा वित्तीय जोखिम बढ्ने बताइन् । उनले नेपालको विद्युत् प्रशारण लाइन र बजार जोखिम दुवैको मूल्याङ्कन र विश्लेषण गर्नु आवश्यक भएको उल्लेख गरिन् ।

मन्त्री भुसालले नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता गरेका करिब ३ हजार २ सय मेगावाटका जलविद्युत् आयोजना निर्माणाधिन अवस्थामा रहेको जानकारी दिइन् । उनले अन्तरदशीय विद्युत् व्यापार विभिन्न चुनौतीबीच सकारात्मक दिशामा अगाडि बढेको बताइन् ।



मन्त्री भुसालले भारतसँग थप विद्युत् व्यापार गर्नका लागि आवश्यक कूटनीतिक र राजनीतिक छलफल जारी रहेको बताइन् ।

मन्त्री भुसालले यही प्रतिनिधि सभाको अधिवेशनबाट नयाँ विद्युत ऐन पेस गरेर पास गर्ने तयारी गरेको बताइन् । उनले नयाँ विद्युत् ऐन व्यापक छलफल भएर राष्ट्रियसभामा रहेका जनाइन् ।



मन्त्री भुसालले प्रतिनिधिसभाबाट विद्युत् ऐन पास हुने ग्यारेन्टी भए मात्रै पेस गर्ने सोचमा रहेको पनि बताइन् । उनले प्रतिनिधिसभाबाट पास गर्न सकिने भने पनि उक्त ऐन २०४९ को ऐनमा भएको उत्पादन र वितरणमा बिक्री भन्ने शब्द थपेर भए पनि विद्युत् ऐन ल्याउने पक्षमा रहेको सुनाइन् ।

  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार १५:२८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया