पश्चिमी वायुका कारण देशभर झरी, काठमाडौंमा बढी वर्षा

काठमाडौं– पश्चिमी वायुुको प्रभावका कारण सोमबार रातीदेखि काठमाडौं उपत्यकालगायत देशभर बर्षा भइरहेको छ । राति ११ बजेदेखि पानी पर्न थालेपछि उपत्यकाबासीले झरीको अनुभव गरेका छन् । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर मौसम बदली रहनेछ । दिउँसो केही सुधारको संकेत देखिए पनि रातिदेखि पूनः वर्षा हुने र यो क्रम बिहीबारसम्म जारी रहनेछ । त्यस्तै शुक्रबार रातीबाट सामान्य बदली भई मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

त्यस्तै बुधबार विहान काठमाडौँ आसपासका उच्च स्थानमा हिमवृष्टि समेत भएको छ । उपत्यकाका फुलचोकी, चन्द्रागिरी, शिवपुरीलगायतका डाँडामा हिमपात भइरहेको छ । हिमरेखाभन्दा माथिका क्षेत्रमा तीन फिटसम्म हिउँ बाक्लिँदा जनजीवन कष्टकर बनेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार मौसम बदली शुक्रबार दिउँसोसम्म जारी रहने छ । देशभर तथा पश्चिमी क्षेत्रका अधिकांश स्थानमा बदली रहनेछ । पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

देशभरको तुलनामा उपत्यकामा ज्यादा वर्षा भएको महाशाखाको तथ्यांकले देखाएको छ ।  गए रातिदेखि परेको वर्षाका कारण काठमाडौं आसपासका नदीमा पानीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा १० मिलिमिटर वर्षा भएको छ । काठमाडौं उपत्यकापछि दिपायल र डडेलधुरामा धेरै वर्षा भएको छ । त्यस्तै मौसममा सुधार आउनासाथ उपत्यकाको चिसो बढ्न सक्ने महाशाखाको अनुमान छ ।

उपल्लो मुस्ताङमा यातायात ठप्प, किसानहरु खुशी



मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ लगायत क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा सञ्चालन बन्द भएको छ । सडकमा एक फिटसम्म हिउँ जमेको छ । बेनी–जोमसोम सडकको यातायात सेवामा भने हिमपातले असर गरेको छैन । यातायातका साधन निर्वाध चलिरहेका छन् । 



वर्षा र हिमपातले कृषक खुशी भएका छन् । यो वर्ष मुस्ताङमा तेस्रोपटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपुर्ति हुने थासाङ गाउँपालिका–२ कोवाङका कृषक चन्द्रबहादुर शेरचनले बताए । 

हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोटबिरुवा फस्टाउने, कृषिजन्य उत्पादन बढ्ने कृषकहरु बताउँछन् । स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यकता पर्ने त्यस्तै जौँ, गहुँ, फापर बाली सप्रने जनाइएको छ ।

कालीगण्डकी थुनियो

वर्षापछि मुस्ताङ जिल्ला घरापजोङ गाउँपालिका १ मा खसेको पहिरोले कालिगण्डकी नदी केही मात्रामा थुनिएको छ । उच्च जोखिम हुने सम्भावना नभएपछि नदी खोलिने क्रममा तल्लो तटिय वेनी बजारसम्मको क्षेत्रमा बहाबमा सामान्य बदली आउन सक्ने हुँदा सर्तकता अपनाउन अनुरोध गरिएको छ । 

  • प्रकाशित मिति : माघ ९, २०७५ बुधबार १३:३३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया