उद्योगको संख्या बढ्दा किन घट्यो लगानी ?

काठमाडौं– अघिल्लो वर्षको तुलनामा चालू आवको पहिलो ६ महिनामा उद्योगमा भएको लगानी घटेको छ । यस अवधिमा ५१ अर्ब १४ करोड १ लाख लगानी कम भएको हो । तर, यस अवधिमा उद्योगको दर्ता भने बढेको छ । 

गत वर्ष १ खर्ब ६३ अर्ब ८६ करोड ३२ लाख स्वदेशी लगानी र १६ अर्ब ६८ करोड ४७ लाखको विदेशी लगानी गरी १ खर्ब ८० अर्ब ५४ करोड ८० लाखको नयाँ लागनी नेपाली उद्योगमा भित्रिएको थियो । 

तर, चालू आवको पहिलो ६ महिनामा १ खर्ब १५ अर्ब २५ करोड ४७ लखको स्वदेशी तथा १४ अर्ब १५ करोड ३१ लाखको विदेशी लगानी गरी जम्मा १ खर्ब २९ अर्ब ४० करोड ७८ लाखको विदेशी लगानी भित्रिएको छ ।

तर, यसबीचमा उद्योगको दर्ता संख्या भने बढेका छन् । अघिल्लो वर्ष ४ सय ३ नयाँ उद्योग दर्ता भएका थिए जसमा २ सय ३५ स्वदेशी तथा १ सय ६८ विदेशी लगानीका थिए । चालू आवमा भने २ सय ६८ स्वदेशी तथा १ सय ९५ विदेशी गरी ४ सय ६३ नयाँ उद्योग दर्ता भएको छ । 

उद्योग विभागका प्रवक्ता जीवन सेढाईं अघिल्लो वर्षको भन्दा उद्योगको दर्ता संख्या उल्लेख्य रूपमा नबढेको बताउँछन् । ‘सरकारले ठूलो उद्योग भन्दा साना उद्योगमा लगानी बढाउने नीतिले गर्दा यसपटक संख्या बढेको छ, तर यो संख्या उल्लेख्य भने होइन,’ सेढाईंले भने, ‘अघिल्लो वर्ष जलविद्युत्जस्ता ठूला उद्योगमा लगानी आएकाले पनि लगानी धेरै देखिएको थियो ।’

उनले राज्यले एकल बिन्दुबाट लगानी भिœयाउने भन्दै नीतिगत सुधार गर्ने बताए पनि त्यसको कार्यान्वयनमा नआएकाले लगानी नबढेको बताउँछन् । ‘समयसापेक्ष रूपमा सुधार गर्नुपर्ने नीति छन्, तर ऐन नीतिनियमबमोजिमका नियम तथा निर्देशिका समयमै नबनेका कारण पनि लगानी भिœयाउन केही अप्ठेरो भएको छ,’ सेढाईंले भने ।



गत वर्ष ऊर्जामा मात्र २० उद्योगमा ९९ अर्ब ९७ करोड लगानी आएको थियो भने चालू आवमा १५ उद्योगमा ७० अर्ब ७८ करोड लगानी भित्रिएको छ । 

सेवामूलक क्षेत्रमा आकर्षण बढी 



पछिल्लो वर्षमा नेपालको सेवा तथा पर्यटन क्षेत्रमा लगानी बढेको छ । चालू आवको पहिलो ६ महिनामा स्वदेशी लगानीका ७९ पर्यटन तथा ७७ सेवामूलक क्षेत्रसँग सम्बन्धित उद्योग दर्ता भएका छन् । यस्तै, उत्पादनमूलक क्षेत्रका ७१ तथा ऊर्जा क्षेत्रका १५ उद्योग दर्ता भएका छन् । 

यसबीचमा कृषि तथा वन्यजन्तुसँग सम्बन्धित १२, सूचना प्रविधिका ११ तथा निर्माणसँग सम्बन्धित ३ नयाँ उद्योग स्वदेशी लगानीमा खुलेका छन् । 

विदेशी लगानीकर्ता पनि सेवा तथा पर्यटन क्षेत्रमा नै आकर्षित भएका छन् । चालु आवमा विदेशी लगानीका ६८ उद्योग पर्यटन र ६६ उद्योग सेवा क्षेत्रमा दर्ता भएका छन् । यस्तै, ३७ उद्योग उत्पादनमूलक र सूचना प्रविधिको क्षेत्रमा १३ उद्योग विदेशी लगानीमा दर्ता भएको उद्योग विभागले जानकारी दिएको छ ।

२१ हजार जनालाई नयाँ रोजगारी 

चालू आवमा खोलिएका नयाँ उद्योगमा २० हजार ९ सय ४९ नयाँ रोजगारीका अवसर सिर्जना भएको छ । जसमा स्वदेशी लगानीका उद्योगमा १३ हजार ५ सय ९ तथा विदेशी लगानीका उद्योगमा भने ७ हजार ४ सय ४० जनाले रोजागारी पाएका छन् । 
अघिल्लो वर्षको सोही अवधिमा भने स्वदेशी उद्योगमा १३ हजार ८ सय ८३ तथा विदेशी लगानीमा ६ हजार ७ सय ५६ गरी २० हजार ६ सय ३९ जनाले रोजगारी पाएको विभाग बताउँछ । 
 

  • प्रकाशित मिति : माघ ९, २०७५ बुधबार १४:४७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया