इन्धन खरिद–बिक्रीको यस्तो छ वर्तमान अवस्था

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानीले इन्धन आपूर्तिको हालको अवस्थाबारे प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई जानकारी दिएका छन् । 

उनका अनुसार खरिद लागत (इण्डियन आयल कर्पोरेसनबाट आएको मूल्य र नेपाल सरकारको करसहित) पेट्रोल १९५ रुपैयाँ १९ पैसा र डिजेल १९३ रुपैयाँ ९२ पैसा छ । आजको दिनसम्म पेट्रोल प्रतिलिटर रु १८१ र डिजेल रु १७२ मा बिक्री भइरहेको छ । 

हालको बिक्री मूल्यलाई हेर्दा पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ १९ पैसा र डिजेलमा २१ रुपैयाँ ९३ पैसा तथा ग्यासमा ५८२ रुपैयाँ ४२ पैसा घाटाको व्यापार भइरहेको छ । कार्यकारी निर्देशक थानीले अहिले पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ ३६ पैसा र डिजेलमा ४७ रुपैयाँ ३ पैसा र ग्यासमा रु ३११ रुपैयाँ ७४ पैसा सरकारको कर रहेको रहेको जानकारी दिए ।  

हालको बिक्री मूल्य हिसाब गर्दा निगमलाई मासिक चार अर्ब ३२ करोड घाटा भइरहेको उनले जानकारी दिए । निगमले आव २०७८–०७९ को असार मसान्तसम्म नेपाल सरकारलाई रु एक खर्ब २० अर्ब छ करोड कर बुझाएको छ । पेट्रोलियम पदार्थको आयात पनि बढ्दो क्रममा रहेको उनले जानकारी दिए । आव २०७७–०७८ मा एक खर्ब ५८ अर्बको इन्धन ल्याइएकोमा आव २०७८–०७९ मा तीन खर्ब १० अर्बको आयात भएको जनाइएको छ । 

नेपाल सरकारबाट मूल्य अभिवृद्धिकर (भ्याट)बापत सात अर्ब ३५ करोड फिर्ता पाउनुपर्नेमा दुई अर्ब ७५ करोड मात्रै फिर्ता भएको पनि उनले जानकारी दिए । आव २०७८–०७९ को असार मसान्तसम्ममा निगमलाई करिब–करिब ५० अर्ब घाटा हुने देखिएको उनले समितिलाई जानकारी दिएका छन् । 

निगमले हाल इण्डियन आयल कर्पोरेसनलाई २२ अर्ब ४० करोड तिर्न बाँकी छ । ३१ अर्ब रहेकोमा ऋण लिएर अरू रकम घटाएको हो । निगमले नेपाल सरकारबाट गत असार ३१ गते पाँच प्रतिशत ब्याजदरमा रु सात अर्ब ऋण लिएको छ । उक्त ऋण पाँच वर्षका लागि लिइएको हो । 



निगमको टेकुमा रहेको जग्गा धितो राखेर राष्ट्रिय वाणिज्य बैंकबाट नौ प्रतिशत ब्याज तिर्ने गरी तीन अर्ब रुपैयाँ ऋण लिइएको समितिमा जानकारी गराइएको थियो । उक्त ऋण तीन महिनाका लागि हो ।  

अन्तर्राष्ट्रिय बजारमा १७ जुलाईमा प्राप्त मूल्य सूचीअनुसार पेट्रोलमा साढे १५ रुपैयाँ र डिजेलमा साढे १६ रुपैयाँ घटेर आएको थियो । त्यसबेला पेट्रोलमा ३० रुपैयाँ र डिजेलमा ३८ रुपैयाँ घाटा रहेकोमा अहिले घटेर आउँदा पनि पेट्रोलमा प्रतिलिटर रु १४ रुपैयाँ १९ पैसा र डिजेलमा रु २१ रुपैयाँ ९३ पैसा घाटा रहेकाले  मूल्य समायोजन गर्न नसकिएको पनि उनले जानकारी दिए ।  



  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार २०:५६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया