काभ्रेस्थली हत्या प्रकरण : स्थानीय र जनप्रतिनिधि भन्छन् - बूढाबूढीबीच झगडा भइरहन्थ्यो

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसालमा भएको विभत्स हत्या प्रकरणको प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो । घटनास्थलमा स्थानीय तहका जनप्रतिनिधिहरु पनि पुगेका छन् ।  

घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको बताए । उनीहरूको शव विभत्स अवस्थामा फेला परेको उनले बताए । 

प्रहरीका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे  रहेका छन् । दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् । 

मेयर महर्जनका अनुसार आशिका छाउनीस्थित सैनिक स्कुलमा पढ्थिन् । सोमबार बिहान स्कुल बस लिन आउँदा पनि उनी स्कुल बसमा चढ्न आइनन् । घरनजिकै बस्ने दिनेशका दाइले हेर्न जाँदा उनीहरू मृत फेला परेको मेयर महर्जनले बताए ।

एक तलाको उक्त घरमा कुनै घटना भएको हुन सक्ने आशंकापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए  । प्रहरीले ढोका खोलेर हेर्दा भित्र चार जनाको शव बीभत्स अवस्थामा भेटिएको थियो । तारकेश्वर नगरपालिका—२ का वडाध्यक्ष राधाकृष्ण खड्गीका अनुसार अहिले घटनास्थलमा मुचुल्का भइरहेको छ ।

‘पोस्टमार्टमका लागि शव लैजाने तयारी भइरहेको छ,’ वडाध्यक्ष खड्गीले भने । गोरखाको आश्राङ स्थायी घर भएका पाण्डेको परिवार पदमचालमा चार वर्षअघि नयाँ घर बनाएर बसिरहेको थियो । ‘केही समय अघिसम्म दिनेश जीको इलेक्ट्रिक पसल रहेछ। अहिले त्यो बेचिएको भन्ने जानकारीमा आएको छ’, खड्गीले भने ।



उनका अनुसार सुनिता सिजनल भिसामा यूके जाने तयारीमा थिइन् ।  ‘बूढाबूढीबीच सामान्य झगडा हुन्थ्यो भन्ने स्थानीयले भन्नु भएको छ’, खड्गीले भने ।

घटनास्थलमा त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक डा.गोपाल चौधरी र डा.आयुष उपाध्याय सहितको टोली खटिई अनुसन्धानमा कार्यमा संलग्न भएको छ । उक्त अनुसन्धान टोलीद्वारा कानुनी प्रक्रिया प्रारम्भ गरिएको जानकारी प्रहरीले दिएको छ ।  तर, घटनाको कारणबारे प्रहरीले केही तथ्य बाहिर ल्याएको छैन । 



  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १५:३८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया