बेइजिङ– पछिल्लो २८ वर्षमा गएको वर्ष चीनको आर्थिक वृद्धि सबैभन्दा कम भयो । तथ्यांकअनुसार, गत वर्ष चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) ६.६ प्रतिशत रह्यो । तथ्यांक हेर्दा सामान्य देखिए पनि यसले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने विश्लेषकहरु बताउँछन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले यो मन्दीको असर विश्व अर्थतन्त्रमा देखिने बताएको छ । अर्काेतर्फ, बेलायत युरोपियन युनियनबाट छुट्टिने संकेत नदेखिएकाले पनि चिनियाँ अर्थतन्त्रको असर विश्व बजारमा थप गम्भीर रुपमा पर्न सक्ने अर्थविद्हरुको आकलन छ ।
तर, चीनले भने यो आर्थिक वृद्धि पूर्वघोषित रहेको बताएको छ । चिनियाँ सञ्चार माध्यमहरु आर्थिक मन्दीको तथ्यांकलाई सकारात्मक प्रभाव पर्नेगरी प्रस्तुत गरिरहेका छन् ।
गत आर्थिक वर्षको अन्तिम त्रैमासिक रिपोर्टले चीनको आर्थिक वृद्धि ६.४ प्रतिशत देखाएको थियो । यो सन् २००९ को विश्व आर्थिक मन्दीपछिको सबैभन्दा कम हो ।
यसलाई चिनियाँ सञ्चार माध्यमले अमेरिकासँगको व्यापार युद्धको असरका रुपमा व्याख्या गरेका छन् । तर, चीनले अमेरिकासँगको व्यापार युद्धअघिदेखि नै आर्थिक वृद्धिको विषयमा कदम चलाएको थियो । त्यसलाई व्यापार युद्धपछि अझै तीव्र बनाएको थियो ।
यद्यपि, चिनियाँ सञ्चार माध्यमले आर्थिक अवस्थाको विषयमा नकारात्क सन्देश नजाने गरी समाचार प्रस्तुत गरिरहेका छन् । उनीहरु आर्थिक विकासको दरभन्दा पनि गुणस्तरमा भएको वृद्धिलाई महत्वका साथ प्रस्तुत गरिरहेका छन् ।
चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘विदेशी मिडियाले चीनले २८ वर्षमा सबैभन्दा मन्द आर्थिक वृद्धि गरेको लेखेका छन् । यो सत्य पनि हो, तर खालि आर्थिक मन्दीको रुपमा लिँदा यसको व्याख्या गतल पनि हुन सक्छ ।’
पर्यावरणमा असर हुने उद्योगमाथि कारबाही गरिएको र उनीहरुलाई प्रविधिक रुपमा सुधार केन्द्रित गरिएकाले पनि आर्थिक मन्दी देखिएको सम्पादकीयमा उल्लेख छ ।
चीनको आर्थिक विकास उच्च हुँदै थियो, सँगै वातावरणमा पार्ने असरको पनि सामना गर्नुपरेको थियो, त्यसले जीवनस्तरको सुधार भने भएको थिएन ।
चीन सरकारले भने यसअघि नै ६.६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । तथ्यांक ब्युरोलाई उद्धृत गर्दै एक चिनियाँ पत्रिकाले २१ जनवरीमा भनेको थियो, ‘चीनको जिडिपी सन् २०१८ मा ६.६ प्रतिशतसम्म पुग्न सक्छ ।’ उक्त पत्रिकाले सरकारले लिएको ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गरेको लेखेको थियो । आर्थिक मन्दी भए पनि लक्ष्यअनुरुप रहेको उसले उल्लेख गरेको थियो ।
तर, चिनियाँ शीर्ष नेतृत्व भने यो नतिजाबाट झस्किएको देखिन्छ । २१ जनवरीमा चिनियाँ प्रधानमन्त्री ली खच्याङले दबाब सिर्जना भएकाले बजार बलियो बनाउनुपर्ने बताएका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र डेली ब्युरोले भने अर्कौ तथ्य प्रस्तुत गरेको छ । ब्युरोका अनुसार पहिलोपटक चीनको जिडिपी ९ सय अर्ब युआन (करिब १३२ अर्ब डलर) ले वृद्धि भएको छ । चिनियाँ सञ्चार माध्यमले यो समाचारलाई राष्ट्रिपति सी जिनपिङको भाषणभन्दा माथि राखेका थिए ।
उक्त समाचारमा विश्व अर्थतन्त्रको वृद्धिमा चीनले ३० प्रतिशतको योगदान गरेको पनि उल्लेख थियो । योसँगै चीन विश्व अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने देश बनेको थियो ।
पिपुल्स डेली पत्रिकाले यसबारे लामो रिपोर्ट प्रकाशन गरेको थियो । उक्त रिपोर्टमा चीनले सुरु गरेको बेल्ट एन्ड रोड इनिसियटिभसँग जोडिएका देशको आयात–निर्यातमा १३ प्रतिशतले वृद्धि भएको जनाइएको थियो ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले यो नतिजा अन्तर्राष्ट्रिय संरक्षणवादको कठिन अवस्थामा प्रप्त गरेको बताएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।