तारकेश्वर घटना सुसाइड नोट- खाडीमा पसिना बगाएर कमाएको सम्पत्ति ससुरालीले हडप्न खोजे, बच्चाको मायाले सँगै लैजाने निर्णय लिएँ
सिजनल भिसामा बेलायत जान सुनीताको लागेको थियो भिसा

काठमाडौंको तारकेश्वर नगरपालिका–२ मा सोमबार भएको बीभत्स घटना हत्यापछिको आत्महत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरुले दिनेश पाण्डेले आफ्ना सन्तान र पत्नीको हत्यापछि आत्महत्या गरेको निष्कर्ष निकालेका हुन् ।

घटनास्थलबाट प्रहरीले १० पेज लामो सुसाइड नोट पनि बरामद गरेको छ । सुसाइड नोटमा दिनेशले पत्नी सुनिताका दाजुभाइले आफ्नो परिवार सखाप बनाएको आरोप लगाएका छन् । ११ वर्ष कुवेतमा बसेर ४ वर्षअघि उनी स्वदेश फर्केका थिए । खाडी मुलुकमा चर्को घाममा पसिना बगाएर फर्केको, तर श्रीमती र ससुराली पक्षले सम्पत्ति हडप्न विभिन्न आरोप लगाउने गरेको उनले सुसाइड नोटमा लेखेका छन् । 

सुसाइड नोटमा दिनेशले पत्नीलाई ‘प्रिय सुनिता’ सम्बोधन गरेका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार माइती पक्षका दाजु–भाइको आडमा आफूलाई हेपेको भनेर दिनेशले ‘बदला’को भावना साँचेको सुसाइड नोटमा देखिन्छ । 

सुनिताले आफ्नो मोबाइल पतिलाई छुन नदिने र शौचालय जाँदा पनि सँगै लैजाने गरेको सुसाइड नोटमा उल्लेख छ । पत्नीको मोबाइलमा तेस्रो मान्छेको मेसेज आएको भनेर उनीहरुको बीचमा झगडा हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । 

०७७ माघमा सुनिताले दिनेशविरुद्ध प्रहरी वृत्त बालाजुमा उजुरी गरेकी थिइन् । दिनेशले आफूलाई तरकारी काट्ने चक्कुले हिर्काएर हत्या प्रयास गरेको भनेर  ‘सुनिताले उजुरी गरेकी थिइन् । ‘मलाई चौकीमा लगेर थुनाउने काम गरियो,’ सुसाइड नोटमा दिनेशले लेखेका छन्, ‘मलाई झुटो मुद्दा लगाएर सुनिताका दाजु र भाइले मेरो सम्पत्ति हडप्न खोजेको मैले बुझेको छु ।’

प्रहरीक अनुसार दिनेशले आफ्ना कलिला दुई सन्तानको हत्याबारे लेखेका छन्, ‘बच्चाको मायाले यिनीहरुलाई पनि सँगै लैजाने निर्णय लिएँ ।’ पारिवारिक कलहकै कारण दिनेशले हत्या र आत्महत्याको बाटो रोजेको प्रहरीको निष्कर्ष छ । 



सुनीताको लागेको थियो बेलायतको सिजनल भिसा

दिनेशले तारकेश्वरमा रहेको घर बेच्न खोजेका थिए । तर, तारकेश्वरको घर सुनिताको नाममा थियो । घर बेच्ने कुरामा सुनिता सहमत भइनन् । दिनेश एक्लैले १० लाख बैना रकम लिए । सुनिता र माइती पक्षले बैना फिर्ता गर्न दबाब दिएपछि त्यही घर धितो राखेर उनीहरुले १८ लाख ऋण लिएको प्रहरी अनुसन्धानमा देखिएको छ । 



सोहीबीचमा सुनीताको बेलायत जान ‘सिजनल भिसा’ लागिसकेको थियो । सोमबारको बीभत्स घटनापछि उनको बेलायत उड्ने सपना अपुरो भएको छ । ३ जनाको हत्यापछि दिनेशले आफैलाई चक्कुप्रहार गरेको र फर्केर झुण्डिने प्रयास गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । 

  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार २०:५२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया